close

समाजवादी सपना बुन्दै अर्जुनबाबु

समाजवादी सपना बुन्दै अर्जुनबाबु

Trulli
ADVERTISEMENT

महेन्द्र क्याम्पस धरानका स्थायी जागिरे थिए, अर्जुनबाबु माबोहाङ । मुन्धुम, लिम्बू साहित्य र इतिहासका अध्येता उनी जागिर छोडेर तेह्रथुमको लालीगुराँस नगरपालिकाको प्रमुखका लागि निर्वाचनमा होमिए र चुनाव जिते । 


नगरको समुन्नतिका लागि उनले केही योजना अघि सारेका थिए । ‘ती सबै योजना पूरा भइरहेका छन्,’ उनी सुनाउँछन् । फजुल खर्च कटाएर बजेटको अधितम सदुपयोग गर्न आफूले काम गरिरहेको उनी बताउँछन् । ‘समाजवादी सोचका साथ काम अघि बढाएको छु,’ माबोहाङ भन्छन् ।


सबैभन्दा ठूलो समस्या सडकको भएको उनी बताउँछन् । ‘बाटो बर्सेनि खन्ने तर गाडी चलाउन नसकिने अवस्था थियो,’ उनी भन्छन्, ‘तर, अब आधुनिक प्रविधिको सहायताले करिब–करिब ट्र्याक खोलिसक्यौँ ।’ 


स्वास्थ्य क्षेत्रका समस्या हटाउन माबोहाङले प्रमुख भएपछि स्वास्थ्यकर्मी ल्याउने, आवश्यक सामग्री खरिद गर्ने काम गरे ।  महँगो गाडी नकिनेर उनले नगरबस किने । ‘समाजवादी सपना  थियो, सोहीअनुसार समाजवादी पालिका बनाउने अभ्यास गरेको छु,’ उनी भन्छन्, ‘जनता चढ्ने नगरबस सरकारको, एम्बुलेन्स सरकारको, डोजर, ट्र्याक्टर सरकारको । अब दूध बोग्ने गाडी ल्याउने तयारीमा छु ।’


सडक, स्वास्थ्य, खानेपानीमा घोषणापत्रअनुरूप काम भए पनि शिक्षा क्षेत्रमा सुधार ल्याउन नसकेको उनी बताउँछन् । ‘शिक्षामा सुधार ल्याउन सकिनँ,’ उनी भन्छन्, ‘स्थानीय तहमा शिक्षाको अधिकार दिनु नहुने रहेछ भन्ने बुझेँ । शिक्षकले जनप्रतिनिधिलाई रेसपोन्स नै गर्दैनन् । स्थानीय तहको मातहतभन्दा समन्वय समितिमार्फत वा अन्य हिसाबले शिक्षा क्षेत्र सञ्चालन गर्नुपर्छ ।’


लालीगुराँस नगरपालिका पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गुराँसको राजधानी भनेर प्रसिद्ध तेहथुम, ताप्लेजुङ र संखुवासभामा पर्ने टीएमजे क्षेत्रको महत्वपूर्ण हिस्सा लालीगुराँस नगरपालिकामा छ । गाँउपालिकाको केन्द्र रहेको वसन्तपुर बजारको मुख्य भागमा गुराँसको स्तम्भ नै राखिएको छ । हरेक वर्ष गुराँस फुल्ने सिजनमा यहाँ घुम्न आउनेको लर्को लाग्छ । तराईबाट सहजै पुग्न सकिने भएकाले पनि यो क्षेत्रमा घुम्न जानेको संख्या उलेख्य हुने गर्छ  ।


गुराँस संरक्षण, पूर्वाधारको विकासलगायत कार्यक्रम अघि सारिएको छ । यसका साथै पर्यटनमा मौलिकता देखाउन चोलुङ पार्क र युमा संग्रहालय बनाइएको छ । पार्क वसन्तपुर बजारनजिकै छ । लिम्बू जातिको परम्परागत मौलिकता झल्किने किसिमको पार्क बनाइएको छ । चोत्लुङ्को अर्थ सिद्धिस्थल हुने भएकाले सोहीअनुसार निर्माण गरिएको माबोहाङ बताउँछन् । ‘पर्यटनका लागि केन्द्रबाट पनि काम भइरहेको थियो,’ उनी सुनाउँछन्, ‘हामीले पनि गरिहेको छौँ ।’ 


अध्ययन–अनुसन्धानमा पनि प्रमुख माबोहाङ लागिरहेका छन् । ‘अध्ययन–अनुसन्धान गर्दा एक किसिमको सन्तुष्टि प्राप्त हुन्छ,’ उनी भन्छन् ।  विद्युत प्रसारण लाइन कोशी कोरिडोरका कारण गुराँसका रूख काटिने भएपछि उनले विरोध जनाएका थिए । ‘१५÷१६ हजार गुराँसका रूख काटिने भएकाले विरोध गरेको थिएँ,’ उनी भन्छन् ।