close

जनशक्ति व्यवस्थापनमा केन्द्र र प्रदेशबाट कुनै सहयोग भएन 

जनशक्ति व्यवस्थापनमा केन्द्र र प्रदेशबाट कुनै सहयोग भएन 

Trulli
ADVERTISEMENT

मञ्जु मलासी, नगरप्रमुख

दिपायल सिलगढी नगरपालिका, डोटी 


निर्वाचन अगाडि मैले नगरबासीसँग धेरै प्रतिबद्धता गरेकी थिएँ । गरिएका वाचा ९५ प्रतिशत पूरा भइसकेका छन् । बाँकी रहेका केही यो वर्षभित्र पूरा हुनेछन् । पूर्वाधारमा हामीले करिब ५ किलोमिटर सडक कालोपत्रे गरेका छौँ । सडकसँग जोडिएको खोलामा मोटर कुदाउन मिल्ने पक्की पुल निर्माण गरिसकेका छौँ । खानेपानी अभाव थियो । खानेपानी पुर्‍याएका छौँ । कृषि क्षेत्रमा सिँचाइका लागि डिप बोरिङ गरेर पानी पुर्‍याएका छौँ । अतिक्रमण गरिएका सार्वजनि जग्गालाई संरक्षण गरेका छौँ । निर्वाचित भएर आउँदा स्वास्थ्य चौकीका लागि ४ घन्टा हिँड्नुपर्ने बाध्यता थियो । त्यसलाई समाधान गर्दै अहिले स्वास्थ्य चौकी निर्माण गरेका छौँ । महिलालाई प्रसूति सेवा दिन बर्थिङ सेन्टर निर्माण गरिसकेका छौँ ।

 

यो वर्षको बजेटमा मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र कृषिलाई दिएका छौँ । हरेक वडामा छुट्टै उत्पादन गर्न ‘एउटा वडा एउटा नमुना’ कार्यक्रम लागू गरेका छौँ । उत्पादन वृद्धिका लागि पकेट क्षेत्र निर्धारण गरेका छौँ । आलुमा आत्मनिर्भर बनाउन जोड दिएका छौँ । बाख्रापालन, भैँसीपालनका लागि अनुदान दिएका छौँ । सामाजिक क्षेत्रमा यो वर्षको मुख्य लक्ष्य छाउपडी र बालविवाह कार्यक्रम रोक्ने योजना बनाएका छौँ । नगर क्षेत्रमा रहेको मुख्य समस्या बालश्रम हो । यहाँ ऋणीले ऋण तिर्न नसके उनीहरूका बालबच्चालई श्रममा लगाउने चलन छ । हामीले यो वर्षबाट बालश्रम मुक्त गर्ने कार्यक्रम बनाएका छौँ ।


कोरोनाले हामीलाई विकासका कतिपय काममा बाधा पुर्‍यायो । पहिलो लहर आउँदा सबै बन्द गरेर यसको नियन्त्रणमा जुट्यौँ । प्रचार–प्रसार, जनचेतना फैलाउने कामलाई पहिलो प्राथमिकता दियौँ । स्वास्थ्य संस्थासँग छलफल गरेर क्वारेन्टाइन निर्माण ग र्‍यौँ  । भारतबाट आउने मानिसको संख्या धेरै थियो । हामीले सबैलाई क्वारेन्टाइनमा राखेर परीक्षणपछि मात्रै घर पठायौँ । यस बीचमा हामीले क्वारेन्टाइन र आइसोलेसनमा धेरै खर्च गर्नुपर्‍यो  । दोस्रो लहरमा पनि हामीले पहिले बनाएका क्वारेन्टाइनलाई आइसोलेसन सेन्टरको रूपमा बदल्यौँ । होम आइसोलेसनको अवधारणा आएकाले धेरै संक्रमित होम आइसोलेसन बसे । तर, घरमा बस्ने संक्रमितबाट समुदायमा धेरै संक्रमण फैलियो । हाम्रो नगरमा करिब १८ सय संक्रमित भएकामा १५ जनाको मृत्यु भइसकेको छ । 


यसबीचमा हामी मुख्यतः संघको भन्दा पनि प्रदेशको निरन्तर सम्पर्क समन्वयमा थियौँ । प्रदेशको सहायताले हामीलाई काम गर्न सजिलो भयो । यत्रो महामारी नियन्त्रणमा संघले भने केही सहयोग गरेन । हामीले सबै आफ्नो बजेटबाट खर्च गरेका हौँ । हाम्रा आन्तरिक खर्चका स्रोत घटायौँ । तत्काल प्राथमिकतामा नराख्दा हुने बजेट कटौती गर्‍यौँ र त्यसलाई कोभिड नियन्त्रणमा खर्च गर्‍यौँ  । जनशक्ति व्यवस्थापनमा केन्द्र र प्रदेशबाट कुनै सहयोग भएन । हामीले प्रत्येक वडामा भएका स्वास्थ्यकर्मी र सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीलाई प्रयोग गर्‍यौँ । नगरपालिकाभित्र जिल्ला अस्पताल पनि पर्ने भएकाले त्यसलाई आर्थिक सहयोग गरेर त्यहाँको सुविधा लियौँ ।