close

कोरोना नियन्त्रणमा दुवै सरकार रमिते बने 

कोरोना नियन्त्रणमा दुवै सरकार रमिते बने 

Trulli
ADVERTISEMENT

वीरबहादुर सुनार
नगरप्रमुख, महाकाली  नगरपालिका, कञ्चनपुर 


कोरोनाको पहिलो लहरमा निकै सकस भयो । भारतको सीमामा आएर नेपाली रोकिएका थिए । कामको सिलसिलामा भारत पुगेका उनीहरू त्यहाँ संक्रमण बढेसँगै नेपाल फर्किए । तर, नेपालले त्यसबेला सीमाबाट नेपाल प्रवेश गर्न रोक लगायो । नेपाल छिर्न खोज्ने मानिस महाकालीका मात्रै थिएनन्, देशका सबै ७७ जिल्लाकै थिए । आफ्ना नागरिकलाई भित्र छिर्न दिन सिडिओसँग धेरै पटक छलफल गर्‍यौँ । यस क्षेत्रका पूर्वमन्त्रीलगायतसँग परामर्श गरियो । ‘सीमामा अलपत्र परेका नागरिकलाई ल्याउन पहल गरेँ । हाम्रा नागरिक हुन्, कसरी सीमामा छाड्न सकिन्छ भनेर सिडिओदेखि पूर्वमन्त्रीसम्मलाई राखेर बैठक गरेँ,’ सुनार सुनाउँछन् ।

 

त्यसपछि ७७ जिल्लाका मानिसलाई क्याम्प बनाएर राख्ने सल्लाह भयो । क्याम्प बनाएर राखियो तर त्यति धेरै मानिसलाई क्वारेन्टाइनमा राखेर खुवाउन सम्भव भएन । नगरले बाहिरका मान्छे सबैलाई राख्न नसक्ने भएपछि सम्बन्धित गाउँ पठाइयो । आफ्ना नगरका मात्रै मान्छेलाई क्वारेन्टाइनमा राख्ने, परीक्षण र आइसोलेसन राख्ने काम गरियो । पहिलो लहरमा एकदमै दुःख भयो । ‘हामीले एकदमै दुःख पायौँ,’ उनले भने, ‘अलपत्र सबैलाई धान्न सक्ने अवस्था थिएन । सम्बन्धित गाउँपालिका/नगरपालिका पठाएपछि अलि सहज भयो ।’ 


दोस्रो लहर सुरु हुनुअगावै पहिलो लहरमा आएका नेपाली पुनः रोजीरोटीका लागि फर्किए । दोस्रो लहरमा लकडाउन भएपछि केही फर्किए । तर, पहिलो लहरमा जस्तो समस्या भने भएन । कोरोना नियन्त्रणमा नगरले २ करोड रुपैयाँ खर्च गर्‍यौँ । विभिन्न संघसंस्थाले पनि सहयोग गरे । मेरी आप्mनै छोरीले पनि विदेशबाट नगरका लागि १० लाख रुपैयाँ सहयोग गरिन् । संघ र प्रदेशले भने यसमा कुनै सहयोग गरेनन् । ‘कोरोनामा यत्रो खर्च भयो,’ उनले भने, ‘हामीलाई अन्य संघ–संस्थाले सहयोग गरे । तर, संघले सहयोग गरेन ।’ 

 

संक्रमितको उपचार र हेरचाहका लागि जनशक्ति अभाव भएकाले डाक्टर र नर्सलाई राखेर उपचार गराइयो । संघले पठाउने वार्षिक बजेट एकदमै कम छ । संघ मातहतका परियोजना समन्वय नगरी सञ्चालन गरेकाले चित्त बुझेको छैन । ‘राष्ट्रपति चुरे संरक्षणलगायत काम हामीसँग समन्वय नगरी सञ्चालन गरिएको छ,’ उनले भने, ‘नगरपालिकामा परिपत्र आउँदैन । जथाभावी काम गरिएको छ । यसमा असन्तुष्टि छ ।’

 

चार वर्षको अवधिमा नगरमा थुप्रै काम भएका छन् । विद्युत्मा सुधार गरेका छौँ  । निर्वाचित भएर आउँदा नगरमा भोल्टेज नभएर पंखा नचल्ने अवस्था थियो । अहिले हरेक क्षेत्रमा ट्रान्सफर्मर राखेर विद्युत्लाई भोल्टेजयुक्त बनाएका छौँ । यस्तै, पूर्वाधार क्षेत्रमा डेढ करोड रुपैयाँको लागतमा कालोपत्रे गरेका छौँ । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम भएका छन् । 


अन्तिम वर्षको बजेटमा स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । वडाको समस्या समाधान गर्न वडा स्तरमा बजेट पठाएका छौँ । यो वर्षको मुख्य कार्यक्रम ‘नगरप्रमुख निवास’ रहेको छ । यसअन्तर्गत विपन्नका फुसको छानो भएका घरलाई हटाएर टिनको छानो बनाइदिने कार्यक्रम राखेका छौँ । अहिले ११ वटा घर निर्माण भइसकेका छन् । बाँकी २० घर निर्माणका क्रममा छन् ।