close

सामूहिक प्रयासले कोरोना नियन्त्रणमा सहज 

सामूहिक प्रयासले कोरोना नियन्त्रणमा सहज 

Trulli
ADVERTISEMENT

विपिन राई, नगरप्रमुख

पाँचखपन नगरपालिका, संखुवासभा

 

कोभिड नियन्त्रण गर्न हामीले सामूहिक प्रयास गर्‍यौँ । पहिलो लहरमा चार वटा स्थानीय तहसँगै मिलेर कांग्रेस र एमालेको पार्टी कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन बनायौँ । चार वटै स्थानीय तहले ७२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गर्‍यौँ  । २ सय बेडको संयुक्त आइसोलेसन तयार गरेर संक्रमितलाई उपचार गर्‍यौँ । हामीलाई एकलभन्दा सामूहिक प्रयासले कोरोना नियन्त्रणमा सहजभएको थियो ।


दोस्रो लहरमा हामीले आफ्नै नगरपालिकाभित्र आइसोलेसन निर्माण गर्‍यौँ । एक जना डाक्टर, नर्स र कर्मचारीको व्यवस्था गरियो । संक्रमण धेरै फैलिएका बेला निषेधाज्ञा लगायौँ । पिसिआर परीक्षणलाई निरन्तरा दियौँ ।


संघले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि नदिएकाले हामीले आफ्नै स्रोतबाट दिएर स्वाथ्यकर्मीलाई काममा लगायौँ । आइसोलेसन र कोभिडका लागि खटिने छुट्टै टिम बनाएयौँ । त्यसले राम्रो काम गर्‍यो । कोभिड नियन्त्रणमा भएको खर्च सबै आफैंले आन्तरिक स्रोतबाट बेहोर्‍यौँ । संघले कोरोना नियन्त्रणका लागि बजेट पठाएन । हामी आन्तरिक आम्दानी एकदमै न्यून भएको पालिका भएकाले कोभिडले अझै संकटबाट गुज्रिनुपर्‍यो । विकास निर्माणको बजेटलाई कोभिड नियन्त्रणमा खर्चियौँ । संघले पठाउने बजेटले पनि सबै कुरालाई समेट्न सक्दैन । समानीकरण अनुदान जस्तो आयो त्यस्तै सकिन्छ । अन्य शीर्षकका अनुदान पनि घटाएरै पठाइएको छ । हाम्रो नगरमा सबैभन्दा ठूलो योजना जम्मा डेढ करोड रुपैयाँको छ । यसले कसरी विकास गर्न सकिन्छ ? हाम्रो नगरपालिका पुरानो तीन वटा गाविस मिलेर बनेको हो ।

 

ग्रामीण क्षेत्र भएकाले धेरै ठाउँमा सडक अभाव थियो । निर्वाचितभएर आएपछि बजेट सडक, खानेपानी र शिक्षामा लगानी गर्‍यौँ । ठूलो खानेपानी आयोजनाका लागि ३ करोड रुपैयाँ छुट्याएर काम गर्‍यौँ  । अहिले सबै वडामा खानेपानी पु¥याएका छौँ । सबै वडामा विद्युत् समस्या थियो । विद्युतीकरण गरेर सबै वडामा बिजुली पुर्‍याएका छौँ । करिब १४ किमि सडक ग्राभेल भएको छ । सुरुमा हामीलाई काम गर्न कानुन अभाव थियो । कानुन निर्माण गर्‍यौँ  । अन्तिम वर्षको बजेटमा पनि हामीले शिक्षा, खानेपानी र सडकलाई नै प्राथमिकतामा राखेका छौँ । यो वर्ष नयाँ कार्यक्रम सुरु गरेका छैनौँ । पुराना सक्नुपर्ने कामलाई प्राथमिकता दिएका छौँ ।


यो अवधिमा हामीले चाहेर पनि सबै प्रतिबद्धता पूरा गर्न सकेनौँ । खानेपानी र सडकमा राम्रोसँग काम गर्न सकेनौँ । खानेपानी टोलटोलमा पुर्‍याए पनि भनेको जस्तो एक घर एक धारा बनाउन सकेनौँ । सदरमुकाम आउने सडकलाई कालोपत्रे गर्ने लक्ष्य थियो । त्यसलाई पनि पूरा गर्न सकेनौँ । हामीलाई कोभिडले पनि काममा बाधा पुर्‍यायो ।