close

‘बिहान बुनेका दैनिक योजना बेलुकी नसकिंदा पीडाबोध हुन्छ’

जनप्रतिनिधिको आज : ध्रुवराज राया, मेयर, महालक्ष्मी नगरपालिका, धनकुटा

‘बिहान बुनेका दैनिक योजना बेलुकी नसकिंदा पीडाबोध हुन्छ’

जनप्रतिनिधिको आज : ध्रुवराज राया, मेयर, महालक्ष्मी नगरपालिका, धनकुटा

Trulli
ADVERTISEMENT

आज जेठ २७ गते शुक्रबार । प्रदेश नं. १ को पहाडी जिल्ला धनकुटाको ग्रामिण नगरपालिका महालक्ष्मीका मेयर ध्रुवराज रायाले गत जेठ ९ गते कार्यभार सम्हालेदेखि उनको दैनिकी फेरिएको छ । 

विहान ५ः३० बजे उठ्ने मेयर राया ६ बजेदेखि नै नगरवासीसँगै हुन्छन् । आएका फोन त उठाउँछन् नै, आफु पनि डायल गर्छन् । फोनमा कुरा गर्दै विहान ६ः३० देखि ७ बजेसम्ममा नगरपालिकाको कार्यालय पुगिसक्छन् । 

दैनिक कामको चाङ बढ्दो छ । मेयर राया भन्छन्, ‘भर्खरै निर्वाचित भएर आएकाले मतदातालाई धन्यवाद दिंदै पनि छु, विगतको सरकारले सुरु गरेका कामहरुको अनुगमन, अध्ययन गर्दैछु, आफ्नो दैनिकी काम त छँदैछ ।’

विहान ७ बजे कार्यालय पुगिसकेपछि आज गर्ने कामको ‘लिस्टिङ’ गर्छन्, मेयर राया । ति कामलाई पनि उनी प्राथमिकतामा राख्छन् । नगरवासीसँग प्रत्यक्ष जोडिएका र दीगो प्रभाव पार्ने कामलाई पहिले सक्ने योजना बनाउँछन्, उनी । 

जेठको अन्तिम भइसकेकाले असार १० गते ल्याउने बजेटको तयारीमा मेयर राया लागिसकेका छन् । उनी भन्छन्, ‘आज वडा नं. ८ र २ मा जाँदैछु, योजनाको अनुगमनसँगै टोलटोलमा बनिरहेका योजनाबारे जानकारी पनि लिन्छु, नगरवासीका वास्तविक समस्याको पहिचान र प्राथमिकिकरण सँगसँगै गर्दैजान्छु ।’

मेयर राया दिउँसो १२ बजे वडा नं. ८ मा र ४ बजे वडा नं. २ मा जाँदैछन् । यसबीचमा कार्यालयका दैनिक कामलाई सिध्याउने उनको योजना छ । 

प्रदेश नं. १ का मुख्यमन्त्रीको आयोजनामा भएको प्रदेश समन्वय परिषद्को बैठक सकेर हिजो बिहीबार मात्रै फर्किएका मेयर रायालाई विगत ३ दिनका बाँकी काम सक्ने चटारो पनि आजै छ । तर, उनको विगत ३ दिनको समय भने अत्यन्तै फलदायी भएको अनुभव छ । मेयर राया भन्छन्, ‘सरकार सञ्चालनका विधि, प्रक्रिया, कानूनी अवस्था लगायतका बारेमा समेत प्राप्त जानकारी आगामी दिनका लागि निकै फलदायी र लाभदायी हुने महसुस गरेको छु ।’ 

महालक्ष्मीका मेयर रायालाई भेट्न नगरवासीका लागि उत्ति असजिलो रहेनछ । विहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म १२ घण्टा कार्यालय र कार्यालयकै काममा खटिने भएकाले उनलाई भौतिक रुपमै भेट्न पनि गाह्रो रहेनछ । मेयर राया भन्छन्, ‘कार्यालयमै पनि भेटिहाल्छु नि बिहानैदेखि, नत्र टेलिफोनसँगै भइहाल्छ, सबै फोन उठाउँछु ।’

ग्रामिण नगरपालिका भएकाले किसान, न्यून आय भएका नगरवासीलाई स्वरोजगार बनाउने, आयस्तर बढाउने, चेतनास्तर कसरी बढाउने भन्ने विषयले मेयर रायालाई सँधै घोचिरहन्छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार लगायतमा लगानी बढाउँदै दीगो र समुन्नत विकासतर्फ महालक्ष्मीलाई डोर्याउने मेयर रायाको योजना छ । 

नगरवासीले सेवा सहज रुपमा प्राप्त गरुन्, दुःख नपाउन् भनेर नै मेयर रायाले कम्तिमा हप्तामा एक पटक कर्मचारीहरुसँग बैठक गर्छन् । बैठकमा नगरवासीले उठाएका पीरमर्का र चुनौतिको सामना गर्ने तरिकाबारे गहन छलफल गर्छन् । 

प्रत्येक दिन सकारात्मक सोचका साथ महालक्ष्मी नगरपालिकालाई प्रमुख केन्द्रमा राखेर नगरवासीका समस्या समाधानमा कसरी लाग्ने भन्ने प्रश्नको जवाफ खोज्दै सुरु हुने मेयर रायाको दैनिकी कहिलेकाँही पीडा र छट्पटीमा बित्छ । मेयर राया भन्छन्, ‘विहान बुनेका योजना बेलुकीसम्म नसकिंदा भने पीडाबोध हुन्छ, नगरवासीका जटिल समस्या समाधान गर्न पालिकाको न्यून आर्थिक स्रोतका कारण गर्न नसक्दा पनि कहिलेकाही छट्पटी हुन्छ, तर स्रोतको पहिचान गर्दै अगाडि बढ्न यि कुराले झन् हौसला पनि दिंदोरहेछ ।’

(आजले भोलिको भविष्य निर्धारण गर्छ । आज गरेको कर्मले नै भोलि प्राप्त हुने प्रतिफलको आँकलन गर्छ । त्यसैले प्रत्येक आजलाई उपलब्धिपूर्ण बनाउन जनप्रतिनिधिलाई आजै सहजीकरणसँगै खबरदारी गर्न यो ‘जनप्रतिनिधिको आज’ सुरु गरिएको हो । –सम्पादक)