close

करिब १९ अर्बको परियोजना सञ्चालन गर्ने भन्ने वर्ल्ड बैंकको यस्तो लापरवाही !

माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशकद्वारा हस्ताक्षरित पत्र नै त्रुटिपूर्ण

करिब १९ अर्बको परियोजना सञ्चालन गर्ने भन्ने वर्ल्ड बैंकको यस्तो लापरवाही !

माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशकद्वारा हस्ताक्षरित पत्र नै त्रुटिपूर्ण

Trulli
ADVERTISEMENT

कुरा बुधबार बिहान ७ः४० तिरको हो । जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपि घर्तीले एउटा चिठ्ठी आफ्नो फेसबुक वालमा पोष्ट गरे । 

‘भेरी नगरपालिकाको विकास सहकार्यको लागि The World Bank Group लाई धेरै धेरै धन्यवाद !!! Thank you.’ उनले फेसबुक वालमा लेखेका छन् । एक घण्टा नबित्दै उनको वालमा बधाई दिनेको ओइरो लाग्यो । ७० जनाले बधाई दिइसकेका छन् । 

पेसबुक वालमा एउटा पत्र पनि पोष्ट गरिएको छ । विश्व बैंकको पत्रमा मेयर धर्तीलाई बधाई दिइएको छ । नेपाल शहरी शासन तथा पूर्वाधार परियोजना सञ्चालनका लागि शहरी विकास तथा भवन निर्माण विभागमा परियोजना हेर्ने गरी परियोजना समन्वय कार्यालय स्थापना गरिएको पत्रमा जनाइएको छ । सो परियोजनाको निर्देशकमा रविन्द्र बोहोरा रहेको पनि उल्लेख गरिएको छ ।  

१५० मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ १८ अर्ब ७३ करोड बढीको आयोजना ३३ वटा पालिकाहरुमा लागू हुँदा भेरी नगरपालिकाले ५० करोड भन्दा बढी रकम पाउने छ । 

तर, पत्र आफैंमा संसय जन्माउने खालको छ । पत्र भेरी नगरपालिकालाई लेखिएको छ, तर फिदिम नगरपालिकाको मेयरमा निर्वाचित भएकोमा बधाई दिइएको छ । पत्र भेरीको हो कि फिदिम नगरपालिकाको हो भन्ने द्विवीधा छ । 

यो द्विविधाले अमेरिकी डलर १५० मिलियन हो कि १५ मिलियन हो वा त्यति पनि होइन भन्ने संशय थपिदिएको छ । बजेट पनि गल्ति भएको हुनसक्छ कि त भन्ने लाग्न सक्छ । 

नेपाल, माल्दिभ्स र श्रीलंका गरी तीन वटै देश हेर्ने राष्ट्रिय निर्देशकले हस्ताक्षर गरेको पत्रमा यस्तो गल्ति भेटिएको हो । पत्र भेरी नगरपालिकासँगै शहरी मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक लगायतलाई बोधार्थ दिईएको छ । 

पत्रमा निकट भविष्यमै नगरपालिकामै भेट गर्न आउने उल्लेख छ । वल्र्ड बैंकको टोली भेरी नगरपालिका पुगेर फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेलाई भेट्ने हुन् कि सीपि घर्तीलाई ?  या पत्र नै परिवर्तन गर्ने हुन् ? त्यो भने हेर्न बाँकी नै छ ।