close

जनप्रतिनिधिले सडकबाटै कार्यालय चलाएपछि...

जनप्रतिनिधिले सडकबाटै कार्यालय चलाएपछि...

Trulli
ADVERTISEMENT

भक्तपुर । मध्यान्हको चर्को घाममा चाँगुनारायण नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षले सडकमै बसेर सेवा दिँदैछन् ।

ग्राभेल बिछ्याइएको सडक छेवैमा छ कुर्सी अनि टेबल । कुर्सीमा बसेका छन् वडाध्यक्ष धनबहादुर लामा । भक्तपुर नगरकोट सडक तत्काल निर्माण गर लखिएको ब्यानर पनि सँगै छ ।

वडाध्यक्ष लामासँगै वडा सदस्यहरू हरिप्रसाद लामिछाने, आरती लामा, सोनु विश्वकर्मा, वीरमान तामाङ पनि छन् ।

यो दृश्य भक्तपुरस्थित नगरकोट सडक खण्डको हो । लामो समयसम्म ठेकेदार कम्पनीले सडक निर्माण नगरेपछि विरोध स्वरूप वडाध्यक्ष लामाले सडकबाटै सेवा दिएका हुन् ।

सोमबार कार्यालय समय सुरु भएदेखि लामाले सडकबाटै सेवा दिएको बताए । 

‘सेवाग्राहीलाई घर बाटो सिफारिस, नाता प्रमाणित, जन्म दर्तालगायत सेवा सडकबाटै दियौं,’ वडाध्यक्ष लामाले भने, ‘सेवाग्राहीको काम रोकेनौं । राज्य र ठेकेदारलाई दबाब दिन सडकमा उत्रिन बाध्य भयौं ।’

निर्माण कम्पनी र सम्बन्धित सरोकारवाला निकायलाई दबाब दिनको लागि सडकबाटै सेवा दिएको लामाले जानकारी दिए । उनको साङ्केतिक दबाब कार्यमा स्थानीयले पनि सहयोग गरेका छन् ।

सङ्घीय सरकारबाट ९ वर्ष पहिले १५.६ किलोमिटर सडक निर्माणको लागि बजेट विनियोजन गरिएको थियो । शारदा प्रसाद अधिकारीको शैलुङ्ग कन्स्ट्रक्सन र भारतीय ठेकेदार कम्पनीसँग सडक निर्माणको लागि सम्झौता भएको थियो ।

२०७१ असार २ मा भएको सम्झौता अनुसार ०७३ साउनमा सम्पन्न भइसक्नु पर्ने थियो । तर सडक निर्माणमा ढिलाइ भएपछि वडाध्यक्ष लामाले सडकबाट सेवा दिन बाध्य भएको बताए । 

हालसम्म सडक निर्माणको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । उनले सडक निर्माणमा भएको ढिलाइका कारण वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने बताए ।

निर्माण कम्पनीका अधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका निकट भएका कारण कारबाहीमा पर्न नसकेको उनले बताए ।

सडक निर्माणको लागि स्थानीय, स्थानीय सरकार, सडक निर्माण सङ्घर्ष समितिले पटक पटक ध्यानाकर्षण सहित विरोध गर्दै आएका छन् ।