close

नगरप्रमुख हमालको १०० दिन : कामभन्दा चर्चा धेरै

नगरप्रमुख हमालको १०० दिन : कामभन्दा चर्चा धेरै

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल निर्वाचित भएको भदौ १४ गते एक १०० दिन पूरा भएको छ । 

मेयर हमाल निर्वाचित भएयता सधैं चर्चामा छन् तर उनको काम भने चर्चाभन्दा फरक छ । भाटभाटेनीको सहयोगमा वडा क्लिनिक सञ्चालन गरेकोबाहेक सबैजसो काम विवादमा तानिए । कुनै कामको थालनी गरे पनि विवाद भएपछि मेयर आफै पन्छिएका छन् भने कुनै समस्या समाधानको प्रयास समेत भएको छैन । मेयर भन्छन्,'अध्ययनको काम हुँदैछ ।'

हमालले आफ्नो १०० दिनको कार्यकाललाई उपलब्धिमूलक मानेका छन् । ‘हामी वार्षिक नीति तथा बजेटलाई प्राथमिकता राखेर योजना कार्यान्वयन गर्न इमानदारितापूर्वक लागिरहेका छौं । नगरवासीका अपेक्षा उच्च होलान् तर सबै कुरा अहिले नै पूरा गर्न सकिँदैन । क्रमशः पूरा गर्दै जानेछौं’, हमालले पालिका खबरसँग  भने ।

तर, नगरप्रमुख हमालको कार्यप्रति भने नगरबासीहरु सन्तुष्ट छैनन् । नगरप्रमुख हमालले १०० दिनमा सामाजिक सञ्जालमा जति चर्चा बटुले पनि कार्यप्रगति भने शून्यजस्तै रहेको नगरवासी बताउँछन । नगरवासीका अनुसार नगरप्रमुख हमालले चुनावी घोषणपत्रअनुसार काम गरेका छैनन् । सामाजिक सञ्जालबाट चर्चामात्र बटुलेका छन् ।

१०० दिनको अवधिमा नगरप्रमुख हमालले वडा क्लिनिक सञ्चालनमा ल्याएर स्वास्थ्य सेवा दिएका छन् । यसबाहेक धनगढी नगर क्षेत्रको प्रमुख समस्याका रुपमा रहेको नदीनाला अतिक्रमण र फोहोरमैला व्यवस्थापन भने गर्न नसकेको नगरवासी बताउँछन् । 

नदीनाला अतिक्रमणका कारण हरेक वर्ष डुबानमा पर्दै गएको भए पनि यसको दीर्घकालीन समाधानका लागि उपमहानगरले चासो नदेखाएको नगरवासी बताउँछन । चुनाव जितेलगत्तै नगरप्रमुख हमालले नदीनाला अक्रिमण हटाउन प्रयास गरे पनि विवाद भएपछि उनी पन्छिएका छन । 

फोहोरमैला व्यवस्थापनमा उपमहानगरको ध्यान जान नसक्दा नगर क्षेत्र कुरुप र दुर्घन्धित बन्दै गएको छ । उपमहानगरले नदीनाला अतिक्रमण र फोहरमैला व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाउन नसक्दा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढी नगर क्षेत्र दयनीय बन्दै गएको नगरबासीको भनाइ छ ।

यता नगरप्रमुख हमालले नदीनालाको अतिक्रमण हटाउने, फोहोरमैला व्यवस्थापन र पर्यावरण संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण कामको सुरुवात गरेको बताएका छन् । उपमहानगरपालिकाले गत साउन १ गतेदेखि धनगढीमा वडा स्वास्थ्य क्लिनिक सेवा सुरु गरेको बताउँदै क्लिनिक सेवाअन्तर्गत १९ वटै वडामा प्रत्येक महिनाको एकदिन स्त्री रोग विशेषज्ञ र फिजिसियन डाक्टरले उपचार सेवा प्रदान गर्दै आएको बताए ।

नगरप्रमुख हमालले नगर क्षेत्रमा गरिएको अतिक्रमण हटाउने कामको थालनी गरेको बताए । सुकुटी नाला अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको उपमहानगरपालिकाले अन्य अतिक्रमित क्षेत्रको समेत पहिचान गरेर हटाउने उनको भनाइ छ । 

अतिक्रमण हटाउने अभियानका लागि उपमहानगरपालिकाले नयाँ जेसीबी खरिद गर्न टेन्डर पनि गरिसकेको छ । चुनौतीका रुपमा देखिएको फोहोरमैला व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले कुहिने र नकुहिने फोहोरलाई स्रोतमा विभाजन गर्नेगरी कार्यक्रम ल्याइएको जानकारी दिए  । 

नगर क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन, २० लाखसम्मको कोटेशनमा समेत अनिवार्य सार्वजनिक सूचना जारी गर्दै प्रतिस्पर्धाका आधारमा काम गर्ने नीति अवलम्बन गरेको कुरालाई समेत हमालले उपलब्धिका रुपमा लिएका छन् । 

वार्षिक बजेट तथा योजना पारित गर्ने सवालमा देखिएको विवादको विषय भने अहिले साम्य भइसकेको बताउँदै हमालले बितिसकेका कुरा कोट्याएर बस्नु नहुने बताए । नगरप्रमुख हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बजेटमा एकलौटी गरेको भन्दै नेकपा एमालेले विरोध जनाएको थियो । एमालेको विरोधकाबीच बजेट बहुमतले पारित गरिएको थियो ।