close

के भन्छन् दोहोरिएका स्थानीय सरकार प्रमुख ?

के भन्छन् दोहोरिएका स्थानीय सरकार प्रमुख ?

Trulli
ADVERTISEMENT

काठमाडौं । २०७२ सालमा जारी भएको संविधानले परिकल्पना गरेबमोजिम हाल नेपालमा ७५३ स्थानीय सरकार र तिनमा मतहत रहने गरी ६ हजार ७ सात सय ४३ वडा छन् ।

एकपटक स्थानीय तहको निर्वाचन हुँदा ७५३ स्थानीय तहमा प्रमुख, वडाध्यक्ष तथा वडासदस्य गरी एकैचोटि ३५ हजार ९७ जनप्रतिनिधि निर्वाचित हुन्छन् । 

संघीयता कार्यान्वयनपछि स्थानीय तहको पहिलो कार्यकाल औपचारिक रुपमा समापन भएर दोस्रो कार्यकाल सुरु भएको छ । 

स्थानीय तहमा नगरप्रमुख वा पालिका अध्यक्षले एक्लैले सरकार प्रमुख, व्यवस्थापिका प्रमुखको भूमिका र अप्रत्यक्ष रुपमा प्रधानन्यायाधीशको भूमिका निर्वाह गर्न पाउने भएकाले पनि पछिल्लो समय स्थानीय तहमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

जसका कारण स्थानीय तहमा जनप्रतिनिधिका रुपमा चुनिन एकपटक नै टिकट पाउन गाह्रो छ । त्यसैगरी एकपटक पाएकाहरूले विभिन्न कारण दोस्रो पटक टिकट पाउन झन् गाह्रो छ । यदि पाइहाले पनि जनमतै नआउने घटना दोहोरिएका छन् । 

तर, केही यस्ता नेतृत्व पनि छन् । जो दोस्रोपटक स्थानीय तहको निर्वाचनमा टिकट पाएर दोहोरिएका पनि छन् । यसरी दोहोरिने जनप्रतिनिधि सीमित छन् । यसरी दोहोरिएका जनप्रतिनिधि पहिलो कार्यकालमा गरेका कामका कारण मतदाताको विश्वास जितेर पुनः दोहोरिएको बताउँछन् ।

यस्तै, जनताले दोस्रो कार्यकालका लागि पत्याएका जनप्रतिनिधिमध्ये एक हुन हतुवागढी गाउँपालिका अध्यक्ष प्रदीपकुमार राईं । आफूले अघिल्लो पटक संस्थागत, जनशक्ति, भौतिक संरचनाका बीच गरेका कामकै आधारमा आफू पुनः निर्वाचित भएको बताउँछन् उनी । 

‘पहिलोपटक निर्वाचित हुँदा स्थानीय तह नै संरचना थियो । कर्मचारीको अभाव थियो । काम कसरी गर्ने भन्ने अन्योल थियो । तर, अहिले त्यो अवस्था छैन ।’ 

अघिल्लो अनुभवका कारण अहिले काम गर्न सहज भइरहेको उनको भनाइ छ ।

‘पहिलो कार्यकालमा ऐन कानुन आफैँले बनाउनुपर्‍यो । कतिपय ऐन कानुन प्रदेश र संघले बनाइसकेको छैन त्यसैले समस्या बनेको छन् पनि । तुलनात्मक रुपमा विकास निर्माणको काममा लाग्न सकिएको छ । उनी भन्छन्, ‘मैले गाउँपालिकाको समस्या पहिचान गरी केही काम गरेको थिएँ । जसको तिनै काम पूरा गर्नका लागि पनि मलाई मतदाताले जिताउनुभएको होला । ती कामलाई निरन्तरता दिएर मैले पूरा गर्छु ।’ 

गाउँपालिकाका गाउँ टोलटोलमा सडक पुर्‍याएको बताउँदै त्यसालाई १२ महिना नै सञ्चालनका लागि योजना बनाएको बताउँछन् । गाउँपालिकाको मुख्य सडकमा केही ढलान भएको बताउँदै बाँकी सडक पिचका लागि बजेट जुटाइरहेको बताए । 

भौतिक पूर्वाधारको कुरा गर्दा १५ शैयाको अस्पताल बनाएको बताउँदै गाउँपालिकाको ६० प्रतिशत घरमा बत्ती पुगेको, र बाँकी बाम भइरहेको उनले बताए । 

यस्तै, पर्यटन क्षेत्रको विकासका लागि हतुवागढी दरबार क्षेत्रलाई पर्यटन हबको रुपमा विकास गर्ने कार्य भइरहेको उनको भनाइ छ । 

त्यसैगरी दोस्रो कार्यकालका लागि दोहोरिनेमध्येका अर्का हुन् सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल । उनको अनुभव पनि अन्य दोहोरिएका नगर तथा पालिका प्रमुखको जस्तै छ । 

‘पहिलोपटक निर्वाचित हुँदा धेरै नियम कानुन ऐनहरू जानकारी थिएन । आफैँले नियम कानुन बनायौँ,’ उनी भन्छिन्, ‘दोस्रो कार्यकालमा बनेका नियम कानुनका आधारमा काम गर्न सहज भएको छ ।’

पहिलो कार्यकालको सुरुमा गाउँपालिकामा समस्याको जंजालमा फसेको बताउँदै उनले खानेपानी बाटोघाटो तथा विद्युत् विकासका पूर्वाधार केही नभएको बताउँदै उनले ५ वर्षमा ७४ प्रतिशत विद्युत् ल्याएको, आधारभूत खानेपानीको समस्या समाधान, सामुदायिक स्वास्थ्य इकाइको निर्माण गरेको बताइन् । 

यसैका आधारमा जनताको बहुमूल्य मत पाएर दोस्रो कार्यकालका लागि निर्वाचित भएको उनको भनाइ छ । 

महिलाको जीविकोपार्जनको स्तरोन्नतिका लागि विभिन्न कृषि क्षेत्रमा तालिम तथा अनुदान दिइरहेकी छन् । नेपालमा नै आधारभूत रोजगारी दिलाएर रोजगारीकै लागि विदेसिनुपर्ने बाध्यता रोक्ने प्रयास गरिरहेको उनको भनाइ छ । 

त्यसैगरी, दोस्रो कार्यकालका लागि निर्वाचित मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डल आफू पहिलो कार्यकालमै परिपक्व भएको बताउँछन् । 

‘पाँच वर्षको कामबाट केही सिकियो पनि । धेरै कामको अनुभव छ । अहिले दोस्रो पटक निर्वाचित हुँदा काम गर्न सहज भएको छ,’ उनी भन्छन्, २२ भन्दा बढी कानुन बनाइयो । अघिल्लो कार्यकालमा गरेका कामको मूल्याङ्कन गरेर जनताले पुनः आफूलाई जिताएको उनको भनाइ छ । 

यसपालि कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेका छन् । उनी भन्छन्, ‘पहिले तत्कालीन आवश्यकता पूरा गर्न अल्पकालीन विकासमा केन्द्रित भयौँ । यो कार्यकालमा दीर्घकालीन विकास कार्यलाई प्राथमिकतामा राखेका छु ।’ 

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठ भने दोस्रो कार्यकालमा धेरै फरक अनुभव नरहेको बताउँछन् । 

‘नगरपालिकाले बनाएको योजना कार्यक्रम जनताले दिएको प्रतिबद्धता र हामीले घोषणा गरेको घोषणापत्रको आधारमा रहेर काम गरिरहेका छौँ । त्यसैले त्यति धेरै फरक छैन,’ उनी भन्छन्, ‘धुलिखेल नगरपालिकामा ८६ वटा कानुन बनेका छन् । खुला दिशामुक्त, बालमैत्री नगरपालिका घोषणा भयो । ८६ प्रतिशत जनताका घर–घरमा खानेपानी पुगेको छ । ३२० किलोमिटर ग्राबेल, ४१ किलोमिटर पिच बाटो बनेको छ । प्रत्येक आर्थिक वर्षमा बजेट खर्च बढाएर बजेटको ९७ प्रतिशत खर्च भएको छ । ’

शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारण गरेर धुलिखेल नगरपालिका दिगो विकासको चार लक्ष्य पूरा गरेको दक्षिण एसियाकै पहिलो शहर बनेको बताउँदै उनले धुलिखेल विश्वमा जिरो कार्बन उत्पादन गर्ने १५ वटा शहरको सूचीमा परेको बताए । 

‘नगरपालिकाले गरेको एघार सय कार्यक्रममध्ये २३ वटा कार्यक्रम मात्र ठेक्कामा दिइएको छ । बाँकी सबै जनसहभागितामा आधारित रहेर गरिएको छ,’ उनी थप्छन् । 

यस्तै, काभ्रे जिल्लामा सबैभन्दा कम बेरुजु भएको स्थानीय तहमा धुलिखेल पटकपटक पर्दै आएको उनले बताए । पहिला सिकेर अहिले काम गरेको भन्दा पनि आफूले सँधै राम्रो काम गरेको उनले बताए । 

यो कार्यकालमा खानेपानीको योजना, ड्रिमल्याण्ड प्रोजेक्ट र स्वस्थ शहर बनाउनका आवश्यक काम भइरहेको उनको भनाइ छ । 

उनले धुलिखेललाई पर्यटकीय शहर बनाएको, र धुलिखेलमा ६० वटा पार्क रहेको बताउँदै उनले धुलिखेल नेपालको सबैभन्दा बढी पार्क रहेको नगरपालिका बनेको जानकारी दिए । 

उनी भन्छन्, ‘२०५४ सालमा पनि नगरपालिकाको उपमेयर बनेको थिएँ । २०७४ सालमा दोस्रोपटक नगरपालिकामा निर्वाचित भएँ । फेरि पनि जनताले विश्वास गर्नुभएको छ । पहिलेदेखि नगरपालिकाको हितको लागि काम गरेको थिएँ । अहिले पनि गरिरहेको छु ।’