काठमाडौं । राप्ती नगरपालिकाका मेयर शमसेर लामाले कर तिर्नका लागि एप्स बनाएको बताउँदै चाँडै कार्यान्वयनमा ल्याउन लागिएको बताए ।
जनप्रतिनिधि टोलटोलमा पुगेर गुनासो सुन्ने व्यवस्था मिलाइएको बताउँदै उनले आफैँ पनि जनताका गुनासा सुन्न टोलटोल पुग्ने गरेको जानकारी दिए ।
विगतमा आफू प्रश्न गर्ने ठाउँमा रहेको स्मरण गर्दै उत्तर दिने ठाउँमा पुगेको बताउँदै प्रश्न नआउने गरी काम गरिरहेको बताए ।
यद्यपि राजनीतिक नेतृत्वबाट केही असन्तुष्टि हुने गरेको उनको भनाइ छ ।
‘विगतमा अरूले काम गर्दा म आफैँ प्रश्न उठाउथेँ । आज म उत्तर दिने ठाउँमा छु । तसर्थ म प्रश्न खडा नहुने गरी काम गर्ने कोसिस गरिरहेको छु । जनता जनार्दन हुन् । जनताको नजिकमा रहेर उहाँहरूको हितका लागि काम गरिरहेको छु । जनताबाट साथ पनि पाइरहेको छ । राजनीतिक दलबाट केही असन्तुष्टि भने आउँछन् । तर, मैले त्यसले मलाई ऊर्जा थप्ने काम गरेको छ । तीव्र रूपमा काम र इमानदार रहनु मेरो प्राथमिकतामा छ ।’
नगरको कार्यपालिका बैठकले विपन्न वर्गका राप्तीबासीलाई डेढ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ ।
साथै, संविधानले नै सुनिश्चित गरेका आधारभूत आवश्यकता गाँस, वास र कपास राप्तीका जनतामाझ पुर्याउने निर्णय गरेको उनले बताए ।
यस्तै, उनले घर नभएकालाई आवासको व्यवस्था, जाडोमा कपडा नभएकालाई लत्ताकपडा र खानेकुरामा सबैको पहुँच पुर्याउने व्यवस्थापन गरेको जानकारी दिए ।
कृषि प्रवर्द्धनका लागि साना किसानलाई वास्तविक सहयोग हुने व्यवस्था मिलाएको बताउँदै उनले आन्तरिक र बाह्य पर्यटक बढाउने योजना अघि सारेका बताए ।
पशुपक्षीको चिरफार गरी उपचार गर्ने व्यवस्था मिलाएको बताउँदै उनले नश्ल सुधारका लागि ९३ प्रतिशत उन्नत जातका बाख्रा, टोलटोलमा पशु शिविर पुर्याएको उनको भनाइ छ ।