close

हिजो वडाध्यक्षमा राम्रो काम गरेकोले आज मेयरमा जितेँ

हिजो वडाध्यक्षमा राम्रो काम गरेकोले आज मेयरमा जितेँ

Trulli
ADVERTISEMENT

चितवन । शमसेर लामा राप्ती नगरपालिकाका मेयर हुन् । राप्ती नगरपालिका–४ का पूर्ववडाध्यक्षसमेत रहेका उनी दोस्रो पटकको स्थानीय तहको निर्वाचनमार्फत् नगरप्रमुख हुन सफल भएका हुन् । 

जनतामा भएको परिवर्तनको चाहना र गठबन्धनका कारण नगरप्रमुख पदमा निर्वाचित भएको उनले बताए । वडाको जनप्रतिनिधिको रूपमा काम गरिरहेको उनी नगरपालिकाकै अभिभावकको जिम्मेवारी पाएपछि फरक महसुस गरेका छन् । 

सुरुवाती दिनमा एक किसिमले उनी नगरपालिकामा कसरी संयोजन र सम्बोधन गर्ने भनी अन्योलमा परे । 

त्यसैगरी, जनतको मागको सम्बोधन गर्न नसक्ने हुँ कि भनी उनलाई चिन्तासमेत लाग्ने गरेको थियो । तर, जनताबाट प्राप्त विश्वासका कारण काम गर्न थप ऊर्जा मिलेको उनले महसुस गरे । 

संविधानले बालबालिकालाई माध्यमिक तहसम्म निशुल्क अध्ययनको व्यवस्था गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । अभिभावकबाट विभिन्न शीर्षकमा अभिभावकबाट शुल्क असुल भइरहेको थियो । 

नगरप्रमुखको रूपमा आएपछि उनले ४९ सामुदायिक विद्यालयमा नि:शुल्क पठनपाठनको निर्णय गरे । जसका लागि उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन गरएको छ । शिक्षा शाखा, सामुदायिक विद्यालयका व्यवस्थापन समिति, शिक्षाविद उक्त कार्यदलमा छन् । उनीहरूले विद्यालयमा भएका गतिविधिबारे अध्ययन गर्ने उनले बताए ।

‘राप्तीका विद्यालयलाई निःशुल्क बनाउनका लागि अध्ययन भइरहेको छ,’उनले भने,‘ राप्तीको पहिलो प्राथमिकता नि:शुल्क शिक्षा हो ।’

अघिल्लो कार्यकालमा आफू प्रश्न गर्ने ठाउँमा रहे पनि आज आफू जवाफ दिने ठाउँमा पुगेको उनले बताए । 
‘क्याबिनेटमा बसेर पहिले पनि काम गरेकाले पहिलो कार्यपालिकाको बैठक खासै नौलो लागेन । बसेको कुर्सीमात्र फरक थियो । हिजो मैले धेरै प्रश्न गर्न पाउँथे । आज मैले धेरै प्रश्नको जवाफ दिनुपर्छ । सबैलाई समेटेर काम गरेर राप्ती नगरपालिकाका सबै जनप्रतिनिधिको कार्यकाल सफल बनाउनुपर्ने जिम्मेवारीको बोध भएको छ,’ उनले भने । 

जनप्रतिनीधिले राम्रो काम गर्न आफ्नो भिजनमा स्पष्ट हुनुपर्ने र त्यसकै आधारमा नीति बनाएर काम गर्न सक्नुपर्ने उनको भनाइ छ । 

जनताको गुनासो सुन्नका लागि योजना बनाएको बताउँदै उनले आर्थिक वर्षको क्लोजिङमा भएका झमेलालाई सुल्झ्याइ छिटो र छरितो पार्नका वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिएर खटाइएको बताए ।