close

निर्विरोध स्वतन्त्र वडाध्यक्ष भन्छन् :  ओलाङचुङगेलीलाई विकास र प्रविधिमार्फत् राजधानीसँग जोड्नुछ

निर्विरोध स्वतन्त्र वडाध्यक्ष भन्छन् :  ओलाङचुङगेलीलाई विकास र प्रविधिमार्फत् राजधानीसँग जोड्नुछ

Trulli
ADVERTISEMENT

काठमाडौं । वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जसमार्फत् ३५ हजार ९७ स्थानीय जनप्रतिनिधि निर्वाचित भएका छन् । 

७५३ स्थानीय तहमा प्रमुख, उपप्रमुखलगायत पदका लागि ८० राजनीतिक दलले भाग लिएका थिए । तर, केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । केही स्थानीय तहका जनप्रतिनिधि स्वतन्त्रबाटै निर्विरोध निर्वाचित भए । यसैमध्येको एक उदाहरण हो ताप्लेजुङको फत्तालुङ गाउँपालिकाको वडा नम्बर–७ । 

विगतमा नेपाली काङ्ग्रेस, एमाले र राप्रपाबीच प्रतिस्पर्धा हुने यस वडामा वडाध्यक्ष छेतेन लामा शेर्पासहित वडासदस्य निर्विरोध निर्वाचित भएका छन् ।  यसपटक भने वडाले गाउँको विकास गर्नसक्ने क्षमता भएकालाई मतदाताले निर्विरोध निर्वाचित गराएको पालिका खबरलाई उनले बताए । वडाका सबैजना भेला भएर कसलाई वडाको जनप्रतिनिधि बनाउने निर्णयबमोजिम आफू वडाध्यक्ष भएको उनको भनाइ छ। 

‘प्रतिस्पर्धा गरेर फाइदा छैन । सबै दललाई कि तपाईंहरूले गर्नूस् नत्र मलाई वडा छाडिदिनूस् भनेँ । मभन्दा वडाका लागि योग्य अरू कोही भए उनलाई मौका दिनुपर्छ भन्ने मेरो धारणा थियो,’ उनले भने, ‘ भेलामा सबैजनाको छलफलबाट मलाई नै गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय भयो ।’ 

उनका अनुसार स्थानीय तह निर्वाचन–२०७९मा यस वडाका मतदाताले अध्यक्ष र उपाध्यक्षलाई मात्र भोट हाले ।  पार्टीगत स्वार्थभन्दा पनि गाउँको हितका लागि सर्वसम्मत निर्णय गरिएको उनले बताए । 

ओलाङचुङगोलामा बौद्ध धर्ममा आस्था राख्ने मानिस रहेको बताउँदै गुम्बालाई साँची राखेर अहितमा काम नगर्ने, र गरेमा राजीनामा दिने बाचा गरेको उनले बताए ।शेर्पा स्थानीय तहको पहिलो कार्यकालमा कार्यपालिकाको सदस्य थिए । यसअघि अल्पसंख्यक समुदायको तर्फबाट गाउँसभाको सदस्य बनेका उनले पाँच वर्ष गाउँपालिकाको प्रवक्ताको भूमिका निर्वाह गरेका थिए । तत्कालीन समयमा उनी नेकपा एमालेप्रति आस्था राख्थे । 

७ नम्बर वडामा पार्टीभन्दा पनि व्यक्तिप्रति ज्यादा झुकाव रहेको बताउँदै शेर्पाले प्रतिस्पर्धा भएको भए पनि आफैँले चुनाव जित्ने बताए । जनताको विश्वास जित्न स्वतन्त्र भएको उनको भनाइ छ । फत्तालुङ गाउँपालिकाको वडा नं ७ मा जम्मा ६३ घरधुरी छन् । हिमाली भेग र राज्यको पहुँच कम रहेको बताउँदै उनले वडा नम्बर ७ ताप्लेजुङ जिल्लाको अत्यन्त दुर्गम वडामध्ये एक रहेको बताए । 

वडा नम्बर–७ यातायात तथा अन्य सुविधाबाट टाढा रहेको र चीनको सीमानाका ओलाङचुङगोला सीमा जोडिएको वडा भएको जानकारी दिए । उनका अनुसार यस वडाका बासिन्दाको मुख्य पेसा पशुपालन, जडिबुटी सङ्कलन तथा व्यापार भएको बताए । तर, कोभिडका कारण ओलाङचुङगोला नाका बन्द हुँदा स्थानीय व्यापारी मारमा परेको उनले बताए । 

नेपाल सरकारको ससर्त अनुदान कार्यक्रमअन्तर्गत छुर्पी तथा चौरी प्रबर्धनजस्ता कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । वडामा मानिसभन्दा पशुको जनसंख्या बढी भएकाले यसको प्रवर्धनमा विशेष जोड दिएको उनको भनाइ छ ।  ‘गत वर्ष चौरी प्रवर्द्धनका लागि १९ लाख ८० हजारबराबर अनुदान प्राप्त भएको बताउँदै यस वर्ष पनि चौरी प्रवर्धन कार्यक्रमका लागि १९ लाख ८० हजार बजेट विनियोजन भएको उनले जानकारी दिए । 

वडामा कम जनसंख्या रहेकाले बजेट पनि कम आउने, र विकासका पूर्वाधार निर्माण कार्य उल्लेखनीय हुन नसकेको उनको गुनासो छ । वडाको विकासका लागि कार्यक्रम र बजेट ल्याउनका लागि गाउँपालिका, प्रदेश र संघसम्म समन्वय गर्ने गरेको उनले बताए । 

‘शिक्षा, स्वास्थ्य क्षेत्रको विकासको लागि गाउँपालिका र प्रदेशसँग बजेटको माग गर्छ,’ उनले भने, गाउँपालिकाको अन्य वडामा भन्दा जनसंख्या कम भएकाले पूर्वाधार विकासका लागि बजेट कम आउँछ ।’

निर्विरोध भएकाले काम गर्न सहज वातावरण रहेको बताउँदै जनताको सेवामा तल्लीन रहेको उनले बताए । ‘सामाजिक सुरक्षा भत्ता पनि घरघरमा लगेर  वितरण गरेको छु,’ उनले भने । 

सामाजिक सुरक्षा भत्ता वितरण बैंकमार्फत् वितरण गरे पनि सो पैसा आफ्नो खातामा सारेर सबैको घरघरमा पुर्‍याउने गरेको बताउँछन् । विकास निर्माणमा सिमेन्टको सट्टा स्थानीय कच्चापदार्थ र सीप र प्रविधिको प्रयोग गरी रोजगारी सिर्जना गर्नुपर्ने उनको भनाइ छ । 

घर तथा भौतिक संरचना बनाउँदा आफूले स्थानीय काठको बढी प्रयोगमा जोड दिएको बताए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिधिमा रही वडाध्यक्षको हैसियतले भ्याउने काममा कुनै कमीकमजोरी हुन नदिने उनले  प्रतिबद्धता गरेका छन् । उनी थप्छन्, ‘म सक्नेभन्दा धेरै विकास गर्छु त भन्दिनँ । तर, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्छु ।’ 

राजधानी काठमाडौं र ओलाङचुङगोलाका नागरिकको समान हैसियत भएकाले ओलाङचुंगेलीले कम्तीमा आधारभूत सुविधा पाउनुपर्ने बताए । उनले भने, ‘म यस कुरामा सचेत छु ।’

वडामा थोरै जनसंख्या रहेको बताउँदै उनले एक व्यक्ति एक अवसरको अवधारणा अघि सारेको बताए ।  यसका लागि गाडी चलाउन तालिम, वडाभित्र होमस्टे चलाउन चाहनेलाई होमस्टे सञ्चालन र कृषिमा अनुदानजस्ता कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ । 

अन्य वडा तथा स्थानीय तहले आफ्नो काम अनुशरण गर्ने गरी काम गर्ने उनको धोको छ । ‘अरूका लागि हाम्रो काम नमुना बनोस्, राम्रो सन्देश दिन सकियोस्,’ यसैका लागि मलाई वडावासीले निर्विरोध गराएका हुन्,’ उनले भने । 

ओलाङचुङगोला भौगोलिक दृष्टिले दूर रहे पनि विकासमार्फत् राजधानीसँग जोड्ने प्रयत्न रहने उनले बताए । ‘हामी दूरदराजमा छौँ । भूगोलको दुष्टिकोणले हामी अत्यन्त दुर्गम स्थानमा छौँ । नागरिकका आवश्यकता पूरा गर्न लागिपरेका छौँ,’ उनले भने, ‘विकासमार्फत् यहाँका नागरिकलाई राजधानीसँग जोड्ने प्रयत्न गर्छौँ । भौगोलिक दृष्टिले दूर रहे पनि विकासमार्फत् राजधानीसँग जोड्ने प्रयत्नमा छौँ  ।’