सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सधैं चर्चामा रहने मेयर हुन् । मेयरमा निर्वाचित भएपछि एक्लै भोट मागेकोदेखि ग्रिन टि खाएसम्मका भिडियो भाइरल छन् ।
उनले गरेका कामले धेरैको मन जिते । बीचमा एक सहकारीको विवाद र काठमाडौंका मेयर बालेन लक्षित स्टाटसले विवादित बनाए पनि मेयर साम्पाङलाई प्रभाव नै पारेन । उनी निरन्तर त्यसरी नै काम र सामाजिक सञ्जालमा सक्रिय छन् ।
पछिल्लो समय तिहारलाई लक्षित गरेर ट्राफिक प्रहरीले ‘सडक सुरक्षा हाम्रो प्राथमिकता’ कार्यक्रम तीव्र बनाएको छ । उक्त कार्यक्रमअन्तर्गत धरानमा ट्राफिक प्रहरीले सवारी चालकलाई बाटोमै रोकेर दिएको प्रशिक्षणमा मेयरको सहभागिताले उनी फेरि चर्चामा छन् । उक्त भिडियोमा धेरैजनाको बाइक रोकेर ट्राफिक प्रहरीले सडक सुरक्षा र मद्यपानबारे जनचेतनामूलक छोटो सन्देश दिन्छन् । त्यही समूहमा मेयर हर्क साम्पाङ पनि छन् । तर मेयरले मास्क र हेल्मेट लगाएको हुँदा कसैले चिन्दैनन् । मेयर साम्पाङले प्रहरीको कुरा सुनेर बस्छन् ।
ट्राफिक प्रहरीको उक्त छोटो सन्देशमूलक कार्य सुनेर सबैजना आफ्नो बाटो लाग्छन् भने येयर साम्पाङले उक्त प्रहरीको नजिक गएर खुशी व्यक्त गर्छन् र हौसला दिन्छन् । ती प्रहरी अधिकृतलाई ‘सप्राइज’ भएको देखिन्छ भने नमस्कार गर्छन् ।
यसरी सधैं चर्चामा रहने मेयरका पछिल्लो स्टाटस प्रेरक छन् । उनले आज बिहानै प्रेरणात्मक स्टाटस् पोस्ट गर्दै हाँस्नका लागि पैसा र वैंश नचाहिने बताएका हुन् ।
उनले आज बिहानै लेखेका छन्,‘हाँस्नलाई न पैसा चाहिन्छ न वैश नै ! यो त मनको अवस्था हो, जुन सकारात्मक सोचबाट बन्ने गर्दछ ! दिनमा धेरै चोटि मन खोलेर हाँसौँ ! डिप्रेशन हुन बाट बचौँ ! नहाँस्ने मान्छे मनोरोगी हुन्छ ! सबैलाई तिहारको शुभकामना ! जय हँसाइ !’