close

संस्थापक मेयरकाे बयान : ... नत्र नमोबुद्ध गाउँपालिका बन्थ्यो

संस्थापक मेयरकाे बयान : ... नत्र नमोबुद्ध गाउँपालिका बन्थ्यो

Trulli
ADVERTISEMENT

नेपालको संविधान २०७२ ले संघीय शासन प्रणालीको व्यवस्था गरेसँगै मूलुकको शासन प्रणाली संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको छ । संविधानको व्यवस्था अनुरुप नै हाल तीन तहको सरकारले आफ्नो जिम्मेवारी र परिधिमा रहेर जनताको सेवा गर्दै आएका छन् । 

नेपालको संविधान कार्यान्वयनमा आएसँगै मुलुकका तत्कालीन गाउँ विकास समिति गाभिएर पालिकाहरू बने । जनसंख्या, भूगोल, क्षेत्रफल, पूर्वाधारको आधारमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा गाँभिए, त्यसमध्ये एक हो- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका । 

तत्कालीन ८ वटा गाउँ विकास समितिको विभिन्न वडालाई गाँभेर नमोबुद्ध नगरपालिका बनेकाे हो । सुरुवातमा भकुण्डे नगरपालिका ‘कोड’ राखिएपनि पछि काशिखण्ड, दाप्चाकाशिखण्डहुँदै नमोबुद्ध नामाकरण गरियो। 

प्राकृतिक र धार्मिक महत्व बोकेको नगरपालिका निर्माणको लागि सहज थिएन । विभिन्न समस्या र अभावको सामना गरी नगरपालिका घोषणा भएको बताउँछन्, संस्थापक नगरप्रमुख टंक प्रसाद शर्मा (टिपि) तिमल्सिना । उनका अनुसार तत्कालीन गाविसका अध्यक्षसँगको पटकपटक छलफलपछि मात्रै संगठित पालिका निर्माण गर्ने वातावरण निर्माण बनेकाे हो । 

 '२०६९ मा नगरपालिकाको लागि आवश्यक परिधिसम्बन्धि सूचना प्रकाशित भएको थियो,' उनले भने, 'सो सूचना थाहा पाएपछि म स्थानीय विकास मन्त्रालयमा गएर बुझेँ । र, आवश्यक छलफल र बैठक गर्न थालेँ ।'

छलफलमा केही गाविस सकरात्मक रहे पनि अधिकांशले असन्तुष्टि जनाएको उनी बताउँछन् ।  ‘उपत्यकासँगैको जिल्ला भएकोले नगरपालिका भए विकास गर्न थप  सहज हुने मेरो बुझाई थियो,’ उनले भने ।

मन्त्रालयबाट भकुण्डेबेशीमा निरिक्षण गर्न आउँदा तीन वटा गाविस मात्रै नगरपालिका बनाउन तयार रहेको उनको अनुभव छ । उनका अनुसार सहमति जनाएका खनालथोक, मेथीकोट र फुलबारीले समर्थन गरेपनि डराउनेपोखरीसँगै दाप्चा भेगले समर्थन गरेन । ‘सोही बमोजिम नगरपालिकाको फाइल समेत पेश गरियो तर त्यो सफल हुन सकेन ,’ उनले भने ।  

नगरपालिका भएमा जनताले कर तिर्नुपर्ने, नक्सा पासलगायतको झन्झटिलो हुने बझाइ रहेको उनी बताउँछन् । तर सबै पक्षलाई मिलाएर नगरपालिका बनाउने अडान उनले छाडेनन् । 

नगरपालिका बनाउनका लागि स्थानीय राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि मिलेर डेलिगेशन र भेटघाटलाई निरन्तरता दिएको उनी सुनाउँछन् । 

'भौगोलिक र जनसंख्याको आधारमा विकट पाँचखाल पनि नगरपालिका बनेकोले हामी पनि भकुण्डेलाई नगरपालिका बनाउन लागि परेका हौँ, ' उनले भने, 'तर विभिन्न व्यक्तित्वको सहयोगमा हामी पनि सफल भयौँ ।'

  २०७१ साल बैशाख २५ गते प्राध्यापक चन्द्र पौडेल, प्राध्यापक केशवनन्दन गिरीको संयोजकत्वमा रहेको नगर क्षेत्र निर्धारण र सिफारिस समितिको सिफारिसमा २ सय ८३ वटा गाउँ बिकास समितिलाई मिलाएर ७२ वटा नयाँ नगरपालिकाको घोषणा भएको थियो । 

घोषणा गर्ने सवालमा प्राध्यापक कृष्ण गिरीको संयोजकत्वमा गठित समितिको सिफारिसमा नेपाल सरकारले २०७१ साल मंसिर १६ गते थप ६१ नगरपालिका घोषणा गरेकाे थियो । जसमा दप्चा क्षेत्रका खनालथोक, स्यामपाटी, फुलबारी, मेथिनकोट, पूरानागाउँ, छत्रेबाँझ, डराउनेपोखरीलाइ समेटि नगरपालिकालाई १५ वडामा विभाजन गरियो । 

उनका अनुसार ७१ दलमलव ४ बर्ग किलोमिटरको क्षेत्रफल सहित काशीखण्ड नगरपालिका घोषणा भयो । हाल सो बढेर १ सय २ बर्ग किलोमिटर बन्न पुगेको छ । जुनबेला २१ हजार ३२४ जनसंख्या २४ थियो । 

तत्कालिन खनालथोक गाउँ बिकास समितिका सचिव भैरव खनाललाइ कायम सचिवमध्ये वरिष्ठ रहेकाले निमित्त प्रमुख कार्यकारी दिएपनि पछि संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले डा. डिजेन भट्टराईलाई प्रमुख कार्यकारी अधिकृत बनाएर पठायाे । 

सरकारले घोषणा गरेको नगरपालिकाकाे निर्णय खारेजका लागि आन्दोलन  भएको उनी सम्झन्छन् ।  'नाममा विवाद थियाे, आन्दोलनकर्ताले दाप्चालाई समेट्नु पर्ने माग राखेका थिए । सोही बमोजिम दाप्चालाई पनि समेटियो र  दाप्चा काशीखण्ड नगरपालिका बनाइयो,' उनले भने, 'पुनः पालिकाको नामको विरोध भयो । बिवाद अन्त्यकै लागि नमोबुद्ध नामाकरणमा म लागें, यदि तत्कालिन अवस्थामा सो विवाद नटुंगिएको थियो भने दाप्चा क्षेत्र गाउँपालिका बन्थ्यो, फुलबारी, पात्लेखेत धुलिखेलमा मिसिन्थ्यो भने काशिखण्ड छुट्टै गाउँपालिका बन्न सक्थ्यो ।' उनले प्रस्ताव गरेको सोही नामको फाईल सदर भएर नमोबुद्ध नगरपालिका बनेको उनी बताउँछन् ।

‘नगरपालिका निर्माण भएको केही समयमै स्थानीय तहकाे चुनाव भयो र म नेकपा एमालेबाट संस्थापक मेयर बनेँ,’ उनले भने, ‘सायद मैले गरेको योगदानबाट नै जनताले मलाई जिताउनु भएको होला ।’ 

आफू निर्वाचित भएसँगै पालिकामा शिक्षा, स्वास्थ्य, कृषी प्रविधिमा विकासको लागि योजना निर्माणसँगै कार्यान्वयन गर्दै आएको उनले बताए । ‘दिगो खानेपानीका लागि रोशीको खानेपानी ल्याईदैछ,' उनले भने, 'नमोबुद्धको बृहत गूरुयोजना बनाएर अघि बढाईएको छ ।'

विकास निर्माण कार्यलाई अपनत्व कायम गर्नको लागि  वडालाई जिम्मेवारीमा समिति मार्फत नगरपालिकाले आफनो सम्पतीका रुपमा ल्याउन सकेको उनी बताउँछन् ।  सचेतना ,सहकारी, समन्वय र सहकार्यमा मात्रै पालिकाको विकास हुने भएकोले सबै पक्षले आफूलाई सहयोग गरेको उनले बताए । 

'यहाँ रहेका ईट्टा भट्टा हटाएर हरित नगर बनाउने काम निकै सफल भएको छ,' उनले भने, 'बिकासमा राजनीतिकरण नगरौं । बिकासमा सबै हातेमालो गरौं ।'

आफ्नो कार्यकालमा नमोबुद्धको विकासको लागि दीर्घकालीन योजना बनाएको उनले बताए । 'मैले खाँका बनाएकाे छु । मार्गनिर्देशन गरेको छु,' उनले भने, 'वर्तमान् जनप्रतिनिधिले कसरी लिनुहुन्छ, त्यसलाई हेर्न बाँकी छ ।'

पालिकाको विकासको लागि जनप्रतिनिधि र कर्मचारीबिच समन्वय हुनुपर्ने भएपनि अधिकांशमा त्यस्तो नभएको उनी बताउँछन् । उनी नगरपालिकालाई प्राईभेट कम्पनी बनाउनु नहुने तर्क राख्छन् । उनले भने, ‘नगरपालिका सबैको साझा संस्था भएकाले यसलाई साझा संस्थाकै रुपमा अहिलेका जनप्रतिनिधिले अघि बढाउन् भन्ने मेरो चाहना हो । जित्नका लागि राजनीति गरेपनि निर्वाचित भएपछि विकासमा राजनीति गर्नुहुँदैन ।’

(नमोबुद्ध नगरपालिकाका संस्थापक मेयर टिपी शर्मा तिमल्सिनासँग गरिएको कुराकानीमा आधारित)