close

प्रश्न संस्कारको:  फालिएको नेमप्लेट खोजेर तत्काल संरक्षण गर्न मेयर राउतको निर्देशन

प्रश्न संस्कारको:  फालिएको नेमप्लेट खोजेर तत्काल संरक्षण गर्न मेयर राउतको निर्देशन

Trulli
ADVERTISEMENT

कैलाली । भनिन्छ, एउटा फोटोले हजारौं शब्दले भन्दा बढी सन्देश दिन्छ । कैलालीको घोडाघोडी नगरपालिका प्रांगण बाहिर फालिएका केही सामानहरुसँगै आँखा नेमप्लेटमाथी पर्छ । सामान्य फ्रेममा ‘ममता प्रसाद चौधरी नगर प्रमुख बाहिर’ भन्ने लेखिएको छ । चौधरी घोडाघोडी नगरपालिकाका संस्थापक मेयर हुन् । २०७४ मा निर्वाचित चौधरीको कार्यकाल सकिएपछि २०७९ मा खड्क बहादुर राउत मेयरमा चुनिएर आएका छन् । 

नगर प्रमुख कुनै व्यक्ति मात्रै होइनन्, उनी संस्था हुन् । किनकी संविधानले नै स्थानीय सरकारलाई अविच्छिन्न उत्तराधिकारीवाला संस्थाका रुपमा लिएको छ । अहिले निर्वाचित भएर आएका मेयर राउतले पनि उनै संस्थापक मेयर चौधरीले गरेका प्रयत्नलाई अपनत्व नलिई धरै छैन । तर, जननिर्वाचित संस्थापक मेयरको नेमप्लेटको व्यवस्थापनमा देखिएको गैरजिम्मेवारीपनलाई स्थानीयले ‘संस्कारहीन जनप्रतिनिधि’को संज्ञा दिएका छन् । 

‘दिशा पुछेर फालेको काठ पनि काम लाग्छ भन्छन्, ...कमनसेन्स लाउन नसक्ने जनप्रतिनिधि, कर्मचारी हुनुहोला भन्ने लागेको थिएन, यो बेवारिसे नेमप्लेटले घोडाघोडी नगरका वर्तमान जनप्रतिनिधिको संस्कारमा प्रश्न चिन्ह खडा भएको छ’ सामाजिक सञ्जालमा लक्ष्मी भट्टराईले लेखेका छन्, ‘रवाफ फरक, भवन फरक, हाईफाई फरक होला, उहाँ अलि बढी भोटको अन्तरले पनि जित्नुभएको हुँदा उहाँकै नाम लेख्नुपर्छ त किन भनौंला तर पुनः प्रयोग गर्दै कुनै शाखा प्रमुखको नेमप्लेट बनाएको भएनि हुनी ।’

संस्थापक मेयरजस्तो गरिमामय पद लेखिएको नेमप्लेट यसरी फाल्नुभन्दा बरु जलाएको वा पुनः प्रयोग गरिएको भए हुने भन्ने आशय सहितका प्रतिक्रियाहरु घोडाघोडीबासीले दिइरहेका छन् । 

‘नो कमेण्ट’:  संस्थापक मेयर चौधरी

२०७४ मा निर्वाचित संस्थापक मेयर ममता प्रसाद चौधरीले आफुले पनि सामाजिक सञ्जालमा फोटो देखेको बताए । उनले वर्तमान जनप्रतिनिधिको संस्कारगत कुरा छर्लंगै भइसकेको हुँदा यसप्रति कुनै प्रतिक्रिया दिइरहनु आवश्यक नरहेको बताए । बरु उनले वर्तमान मेयर राउतले संस्थापक जनप्रतिनिधिको पुरै कार्यपालिकालाई नै बैठकमा निम्त्याएर सल्लाह, सुझाव लिंदै अगाडि बढ्ने बताए पनि आजसम्म कुनै भेटघाट, छलफलमा नबोलाएको बताए । 

‘सबैको उद्देश्य नगरपालिका बनाउने हो, त्यसैले विगतमा भएका प्रयास, चुनौती, अवसर सबै विषय वर्तमान जनप्रतिनिधिका लागि पनि चासो हुनुपथ्र्याे, यहाँ मात्र होइन, कुनै पनि पालिकामा संस्थापक जनप्रतिनिधिसँग समन्वय भएको देखिंदैन’ संस्थापक मेयर चौधरीले पालिका खबरसँग भने, ‘हामीले सुझाव दिएपनि उहाँले कार्यान्वयन नगर्न पनि सक्नुहुन्छ, गर्नैपर्छ भन्ने त छैन । तर, पालिका बनाउने हो भने संस्कारसहितको संवाद सबैसँग गर्नुपर्छ ।’

नेमप्लेट समेत यसरी फ्याँक्नेले विगतका कागजात, योजना, प्रयासलाई कसरी संरक्षण गरेहोलान् भन्ने प्रश्न उब्जिएको स्थानीयले बताएका छन् । 

काण्डैकाण्डको घोडाघोडी
उनै संस्थापक मेयर चौधरीले एउटा भवन उद्घाटन गर्दैगर्दा शिलालेखमा आफ्नो नाम नराखिएको भन्दै उपमेयरले शिलालेखलाई ढुंगाले हानेर फुटाउन लागेको तश्विर भाइरल भएको थियो । त्यतिबेला पालिका खबरले त्यो दृष्यसहितको भिडियो प्रशारण गरेको थियो । 

खोजेर सुरक्षित राख्छौं:  मेयर राउत
घोडाघोडी नगरपालिकाका मेयर खड्क बहादुर राउतले भाडामा रहेको नगरपालिका भवन नयाँ आफ्नै भवनमा सार्ने क्रममा नेमप्लेट कतै खसेको हुनसक्ने बताए । उनले आफुहरुको जथाभावी फाल्ने मनसाय नरहेको बुझिदिन आग्रह समेत गरे । 

‘खबर पाएँ, यो गम्भिर विषय हो, त्यो नेमप्लेट फाल्ने हाम्रो मनसाय  कदापी होइन’ मेयर राउतले पालिका खबरसँग भने, ‘झरेको ठाउँबाट उठाएर सुरक्षित राख्न म अब तत्कालै निर्देशन दिन्छु ।’