close

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

Trulli
ADVERTISEMENT

बागलुङ। बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको रकम सामाजिक काममा लगाउन थालेका छन्। जनप्रतिनिधिलाई प्राप्त सेवा सुविधा सामाजिक क्षेत्रमा खर्चने गरी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय निर्वाचनमा होमिएका खड्काले निर्वाचनको आठ महिनापछी घोषणापत्र कार्यान्वयनमा ल्याउन थालेका हुन्।

खड्काले उपप्रमुखको निर्वाचनमा होमिँदा आफूलाई प्राप्त सेवा सुविधा सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए। खड्काले गत दशैँमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए। उनले हालै एक विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापना गरेका छन्। जनप्रतिनिधि भएको आठ महिना पूरा भइसक्दा प्राप्त सेवा सुविधावापतको रकमले खाद्यान्न सहयोग तथा विद्यालयमा अक्षयकोष स्थापना गरिएको खड्काले बताए। 

जनप्रतिनिधिका लागि प्राप्त सेवा सुविधावापतको रकमले बागलुङ बजारको एक सामुदायिक विद्यालयमा रु एक लाखको  अक्षयकोष निर्माण गरिएको नगर उपप्रमुख खड्का बताउँछन्। उनले बागलुङ नगरपालिका–२ स्थित रुद्रेपिपल माध्यामिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीको हितका लागि खर्चने गरी रु एक लाखको कोष स्थापना गरेका हुन्। खड्का एक महिनाभित्रै अर्को सामुदायिक विद्यालयमा समेत रु एक लाख बराबरको कोष स्थापना गर्ने तयारीमा छन्। 

‘जनप्रतिनिधि जनताको सेवक हो, नगर उपप्रमुखको हैसियतमा विभिन्न सेवा सुविधावापतको रकम आउने रहेछ। उक्त रकमलाई सामाजिक काममा लगाउने घोषणा पत्रमै उल्लेख गरिएको थियो। त्यही घोषणापत्र कार्यान्वयनमा लागेको हुँ’, उनले भने, ‘आफूलाई प्राप्त सेवा सुविधा, सहिद परिवार, बेपत्ता, घाइतेको उन्नयनका लागि र शैक्षिक सुधारमा खर्च गर्ने गरी अगाडि बढेको छु। माघ महिनाभित्रै थप रु एक लाखको अक्षयकोषका लागि सामुदायिक विद्यालयको खोजीमा छु ।’

उनले उत्कृष्ट अध्ययन तथा अध्यापन भइरहेको सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने लक्ष्य रहेको बताए। जनप्रतिनिधिको सेवा सुविधा लिएर सामाजिककार्यमा खर्च गर्दा आफूमा जनप्रतिनिधि भएकामा गर्व महसुस हुने भएकाले आफूले यस्तो निर्णय लिएको उनको भनाई छ।