close

नगरप्रमुख र उपप्रमुख बीचको विवादले ८ दिनदेखि नगरपालिकामा ताला लाग्दा सबै काम ठप्प

नगरप्रमुख र उपप्रमुख बीचको विवादले ८ दिनदेखि नगरपालिकामा ताला लाग्दा सबै काम ठप्प

Trulli
ADVERTISEMENT

अछाम- कमलबजार नगरपालिकामा ‘दाजुभाइ जुधे, गवार लुटे’ भन्ने उखान साबित  भएकाे छ । नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदाकुमारी बिष्टकाे आन्तरिक विवादले विगत ८ दिनदेखि पालिकामा ताला लगाइएकाे छ । जसकाे मारमा पालिकाका सेवाग्राही परेका छन् । 

नगरप्रमुख र उपप्रमुखकाे विवाद भइरहेकै बेला नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिष्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाइएकाे हाे । पालिका भवनमा ताला लगाएकाे एक साता बितिसक्दा पनि साे खोल्ने पहल नहुँदा नगरपालिकाबाट दिइने सबै काम ठप्प भएको नाम सार्वजनिक नगर्ने सर्तमा नगरपालिकाका एक कर्मचारीले पालिकाखबरलाई बताए । 

ती कर्मचारीकाअनुसार उनीहरूले ठूलै माग राखेर नगरपालिकामा ताला लगाएका होइनन् । उनीहरूले नगरप्रमुख र उपप्रमुखबीच करारका कर्मचारी नियुक्तिका विषयमा भएको विवाद समाधानका लागि दबावमूलक ताला लगाएका जानकारी गराएका छन् । 

नगरपालिकाका साे कर्मचारीका अनुसार नगरपालिकामा करारका शिक्षकबाहेक २१ जना कार्यरत छन् । ती कर्मचारीहरूको हरेक आर्थिक वर्षको सुरुमा नवीकरण हुँदै आएकोमा यसवर्ष नवीकरण हुन नसक्दा ती कर्मचारीहरू नियुक्तिबिना काम गरिरहेका छन् । 

नगरपालिकाका नगरप्रमुख  ढकालकाअनुसार आफू चालु आर्थिक वर्षको सुरुवात अर्थात् साउनमै काठमाडौं जाँदा उपप्रमुख बिष्टले १३ जनालाई करारमा स्वत: नियुक्त गरेपछि विवाद सुरु भएको हो । नगरप्रमुख ढकाल काठमाडौंबाट आएर कार्यपालिकाको बैठकमा करारका कर्मचारीको नियुक्ति नवीकरणको निर्णय गर्न खोज्दा बहुमतको दुरुपयोग गरेर यही साउनदेखि उपप्रमुखले नियुक्त गरेका १३ जनाको नयाँ नियुक्ति गर्न दबाव दिएका थिए । 

नगरप्रमुख ढकालले पालिकाखबरसँग भने ‘... अहिले ८ जना नगरपालिकामा कार्यलय सहयोगी छन् । १० थप कार्यलय सहयोगी नियुक्ती सम्भवनै छैन भने हामीले स्वकीय सचिव नियुक्ति गर्न पनि पाउँदैनौं । १३ जनाको नयाँ नियुक्ति प्रकृयागत भएन । प्रकृयागत गरौं भन्दा समस्या भएको हो । समाधानको प्रयास गर्दैछु ।’ 

नगरप्रमुख ढकालले  १३ जनालाई करारमा ल्याउँदा उपप्रमुखले सबै आफन्त ल्याएकाे समेत दाबी गरे । अहिले नगरपालिकामा बिनानियुक्ति र बिनानवीकरण २१ र १३ गरी ३४ जनाले काम भने गर्दै आएका नगरपालिकाले जनाएको छ । नेपाली कांग्रेसबाट निर्वाचित नगरप्रमुख ढकालसहित कार्यपालिकामा ३ जना सदस्य छन् भने नेकपा एमालेबाट निर्वाचित उपमेयरबिष्टसहित एमालेका १६ जना सदस्य छन् ।   

नगरपालिकाको ताला खोल्नका लागि शुक्रबार नगरपालिकास्तरीय सर्वदलीय बैठक बोलाइएको नगरप्रमुख ढकालले पालिकाखबरलाई बताए । यसबारे जानकारी लिन उपमेयरलाई पटक-पटक फोन गर्दा उठेन तर, पछि कलब्याक गरिन् । पालिकाखबरले समाचारका लागि कल गरेको भन्नेबित्तिकै म बिजी छु भनेर फोन काटिन् ।