close

जनप्रतिनिधिसँग लैङ्गिक समावेशीकरणसम्बन्धी छलफल

जनप्रतिनिधिसँग लैङ्गिक समावेशीकरणसम्बन्धी छलफल

Trulli
ADVERTISEMENT

खोटाङ - स्थानीय तहका जनप्रतिनिधिसँग लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरणसम्बन्धी छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार दिक्तेलमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी स्थानीय तहका विषयगत समितिका संयोजक, सदस्यसचिव, पालिका उपप्रमुख, विषयगत समितिका सदस्यसचिव, निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यलाई सहभागी गराएर छलफल गरिएको हो । 

‘सी लिड्स–महिला नेतृत्व’ कार्यक्रम सञ्चालन भएका आठ स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका र जन्तेढुङ्गा गाउँपालिकाबाहेक अन्य स्थानीय तहका ३१ प्रतिनिधिलाई सहभागी गराएर कार्यक्रम गरिएको आयोजकले जनाएको छ । स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी नीति बनाउने, बजेट विनियोजन गर्ने र लागू गर्ने वातावरण निर्माणका लागि जनप्रतिनिधिलाई सहभागी गराएर अन्तक्र्रिया गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक इन्दुकला राईले जानकारी दिए । 

'राज्यको मूल नीतिमा लैङ्गिक समानता र समावेशीकरणसम्बन्धी नीति, योजना र बजेट बनाउनुपर्छ भन्ने भए पनि कार्यान्वयन नभएकाले आगामी दिनमा लागू गराउने उद्देश्यले कार्यक्रम राखिएको हो', उनले भने । संयोजक राईका अनुसार निर्वाचित दलित तथा सीमान्तकृत महिलाको अधिकार संरक्षण, प्रवर्द्धन, आर्थिक सवलीकरण तथा आत्मसम्मानको क्षेत्रमा परियोजनाले काम गर्दै आएको छ । सामाजिक तथा आर्थिक विकास, वातावरण तथा विपद् व्यवस्थापन समितिलाई सहभागी गराएर छलफल गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपाध्यक्ष अरुणा थापामगर, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्षलगायतको सहभागिता थियो । जिल्लाका साकेला, रावाबेँसी, ऐसेलुखर्क, खोटेहाङ, दिप्रुङ चुइचुम्मा र जन्तेढुङ्गा गाउँपालिका तथा हलेसी तुवाचुङ, दिक्तेल रुपाकोट मकुवागढी नगरपालिकामा ‘सी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन भइरहेको छ ।