काठमाडौं- जनप्रतिनिधि घरमुलीमात्र होइनन् । जनप्रतिधिले घरमुलीको जिम्मेवारीसँगै समाजको जिम्मेवारी पनि उत्तिकै लिएका छन् । लिनु पनि पर्छ । जनताको अभिभावक जनप्रतिनिधि हुन् । समस्या तथा आपत्विपतमा जनताले खोज्ने उनीहरूलाई नै हुन् ।
जनप्रतिनिधिको पनि निजी जीवन हुन्छ । दशैंमा उनीहरूका घरमा आफन्त आउँछन् । त्यसैले दशैँमा कसरी समस्या व्यवस्थापन गर्नुहुन्छ भनेर केही महिला पालिका प्रमुखलाई सोधेका छौं । देशभर ७५३ मध्ये २५ पालिकाले प्रमुखमा महिला पाए । २५ जनामध्ये प्रतिनिधिमूलक केहीको दशैँ योजना पेश गरेका छौं ।
सुनकोसी गाउँपालिका सिन्धुलीकी अध्यक्ष दीपा बोहोरा दाहालले घरपरिवारसँग भेटघाट गरी दशैँ मनाउने योजना बनाएकी छिन् । दशैंमा परिवारको सबै सदस्य भेट हुने उनले बताइन् । ‘घर बाहिर बसेर पढिरहेका छोरीहरू दशैमा घर आउँछन् । सबैजना एकै ठाउँमा बसेर रमाइलो गर्नुपर्छ ।’
उनी दशैंमा परिवारका सदस्यसँगै छिमेकी र आफन्तलाई भेट्ने योजना रहेको बताउँछिन् । ‘गाउँघरमा हाम्रो टोल विकास संघ संस्थाहरू छन् । बालबालिकाको संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यममा उपस्थित हुने छु,’ उनले भनिन् । आफू पालिकाको अध्यक्षसँगै परिवारको सदस्यसमेत रहेकोले पाारिवारिक जिम्मेवारी रहेको उनले बताइन् ।
खोटाङका जन्तेढुङ्गा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राई दशैंमा परिवारसँगै खेतबारीमा बिताउने योजनामा छिन् । शुक्रबारदेखि कर्मचारीलाई दशैंको शुभकामना दिएर बिदाइ गरिसकिएको उनले बताइन् ।
पालिकाखबरसँग टेलिफोनमार्फत सम्पर्कमा आएकी पालिका अध्यक्ष राईले दशैँमा माटोसँग खेल्ने योजना रहेको बताइन् । आफू किराँत धर्मालम्बी भएकोले दशैं सामान्य रुपमा मनाउने उनले सुनाइन् । ‘हामी सामान्य रुपमा दशैं मनाउँछौँ । त्यसैले आफन्तसँग भेटघाट र घुमघामको योजना छैन,’ उनले भनिन्, ‘दसैँमा माछामासु र दूध दही खानेछु ।’
अधिकांश समय पालिका र स्थानीय जनतासँग बित्ने भएकोले घरबारीको काम लथालिंग रहेको उनले सुनाइन् ।
उनले पालिकालाई तोरीमा आत्मनिर्भर बनाउनका लागि स्थानीयलाई ६०० किलो तोरी वितरण गरेको सुनाइन् ।
त्यस्तै, पर्वतको मोदी गाउँपालिकाकी अध्यक्ष हीरादेवी शर्माले टीकाको दिनमात्रै परिवारसँग बिताउने र अरु दिन जनतासँग बिताउने योजना सुनाइन् । टेलिफोनमार्फत पालिकाखबरसँग सम्पर्कमा आएकी अध्यक्ष शर्माले परिवारको लागि एक दिन छुट्टाएको र बाँकी दिन कार्यक्रममा व्यस्त हुने बताइन् । ‘हामीसँग परिवारभन्दा पनि समाज र जनताको दायित्व छ,’ उनले भनिन्, ‘त्यसैले जनताको नजिक हुने काममा म व्यस्त हुनेछु ।’
परिवारले पनि आफूलाई र जिम्मेवारीलाई बुझेको कारणले गर्दा सहज भएको उनले बताइन् । ‘मसँग परिवारको पनि जिम्मेवारी छ । तर मलाई परिवारले बुझ्नु भएको छ,’ उनले भनिन् ।