close

मनकारी वडाध्यक्ष : जन्मदिनकाे अवसरमा एकल महिलाकाे घरमा बिजुली

मनकारी वडाध्यक्ष : जन्मदिनकाे अवसरमा एकल महिलाकाे घरमा बिजुली

Trulli
ADVERTISEMENT

रामेछाप - नेपाली समाजमा पछिल्लो समय केक काटेर पार्टी आयोजना गरी जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । जन्मदिन मनाउने नाममा फजुल खर्च बढ्दो छ । नेपाली संस्कार हराउँदै छ, विदेशीकल्चर नेपाली समाजमा भित्रिँदै छ । 

रामेछापको लिखु तामाकोशी गाउँपालिका– २ सैपुका वडाध्यक्ष सन्तोष पौडेलको भने आफ्नो जन्मदिन मनाउने तरिका फरक छ । उनले आफ्नो जन्मदिन समाजका विपन्नको सेवा र सहयोग गरेर मनाउने गरेका छन् । 

यस वर्ष उनको जन्मदिनको दिन गाउँकी एक विपन्न एकल महिलाको घरमा बिजुलीबत्ती बलेको छ । पौडेलले जन्मदिनको दिन सहयोगी समेत साथमा लिएर दिनभरि वायरिङ गरी गाउँकी करिब ६० वर्षीय एकल महिला सोममाया तामाङको घरमा बिजुलीबत्ती बालिदिएका छन् । 

आर्थिक रूपमा विपन्न भएको कारण सोममायाले घरमा बिजुलीबत्ती जोड्न सकेकी थिइनन् । पौडेलले आफ्नै व्यक्तिगत खर्चमा जन्मदिनको दिन सोममायाको घर उज्यालो पारिदिएका छन् । 

गएकोवर्षको जन्मदिन पनि उनले व्यक्तिगत खर्चमा आफैँ दिनभरि खटेर स्थानीय एक विपन्न महिलाको घरमा बिजुलीबत्ती बालेर मनाएका थिए । ‘जन्मदिनको नाममा अनावश्यक पार्टीमा खर्च गर्नुभन्दा यस्तो काममा गरेको खर्च पछि उहाँहरूको अनुहारमा देखिने चमकले छुट्टै आनन्द आउँछ’, पौडेलले भने ।

श्रीमानको मृत्यु भएको, छोरी विवाह गरेर गएकी र छोरा समेत काठमाडौं बस्न लागेपछि सोममाया घरमा एक्लै बस्दै आएकी थिइन् । गाउँभरि सबैका घरमा बिजुली बल्दा पनि सोममायाको घर भने अन्धकार थियो । उनले आर्थिक अभावको कारण बिजुलीबत्ती जोड्न सकेकी थिइनन् । 

वडाध्यक्षले आफ्नै व्यक्तिगतखर्चमा बिजुली बत्ती बालेर घर उज्यालो बनाइ दिएपछि सोममायाको खुसीको सीमा छैन। ‘अब मेरो घरमा पनि साँझमा उज्यालो बत्तीबल्ने भयो’, सोममायाले भनिन् । 

लिखु तामाकोसी गाउँपालिका–२ ले स्थानीय विपन्न नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखी वडा भरिका नागरिकको न्यूनतम विद्युत महसुल वडा कार्यालयले नै तिरिदिने गरेको छ । वडाध्यक्षको व्यक्तिगत खर्चले विद्युत् जडान र वडाले बिजुलीको पैसा तिरिदिने भएपछि अब सोममायाले निःशुल्क बिजुली बत्ती बाल्न पाउने भएकी छिन् ।