close

गाउँपालिकाको स्टाटसमा उपाध्यक्षले थुकेपछि...

गाउँपालिकाको स्टाटसमा उपाध्यक्षले थुकेपछि...

Trulli
ADVERTISEMENT

सर्लाही-  बसबरिया गाउँपालिकामा चालु आर्थिक वर्षमा विकास निर्माणको कार्य ठप्प छन् । निर्माण कार्य नहुँदा स्थानीय बासिन्दा निराश छन् भने, जनप्रतिनिधिबीचकाे विवाद अदालतदेखि फेसबुकसम्म छताछुल्ल छन् । जनप्रतिनिधिले नै मर्यादा नाघेर कमेन्ट गर्न थालेका छन् । 

गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सुरु भयो । उद्घाटन सत्रको तस्बिरहरू गाउँपालिकाको आधिकारिक फेसबुक पेजमा राखिएको छ । सोही पोस्टमा गाउँपालिका उपाध्यक्ष सरिता कुमारीले मर्यादा बिर्सेर असभ्य कमेन्ट गरेकी हुन् । उनले लेखेकी छन्, 'थुक बसबरिया गाउँपालिकाको शाखाहरू किर्ते सहिबाट पास गरिएको गाउँसभा र त्यसको बजेटबाट काम गर्न कसरी तपाईहरुको मनले माने होला अनि यसबाट के बुझौँ विद्यार्थीहरूलाई तपाईले कुन शिक्षा दिइरहनु भएको छ झुट र चोरी को शिक्षा ।'

सार्वजनिक ओहदामा बसेर 'थुक' जस्तो असभ्य भाषाको प्रयोग गर्नु जनप्रतिनिधिको मर्यादाभन्दा बाहिरको कुरो हो । यसै विषयमा पालिकाखबरले सभ्य भाषामा बहस गर्न सकिँदैन ?  भन्ने प्रश्नको जवाफमा उनले भनेकी छिन्, ‘जस्तालाई त्यस्तै कमेन्ट गरेको हुँ। सभ्य भाषा सुन्नै छोडे । त्यसैले त्यस्तै मैले लेखेको हुँ ।’

स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीको बहुमत छ । तर पनि निर्वाचित  जनप्रतिनिधिमा  ‘अध्यक्ष गुट’ र ‘उपाध्यक्ष गुट’का कारण पछिल्लो समय विकास निर्माणका काम ठप्पजस्तै छ । गाउँपालिकाका  जनप्रतिनिधिहरू दुई गुटमा विभाजित हुँदा अदालतमा मुद्दा चलिरहेको छ । 

गाउँपालिकामा विकासका काम शून्यजस्तै छ । बसबरिया गाउँपालिकामा जसपाको बहुमत भए पनि उपाध्यक्ष सरिता कुमारीले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिइन् । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले गत भदौ १९ गते सो रिट निवेदन खारेज गरी कात्तिक १९ गते फैसलाको पूर्णपाठ आइसकेको छ ।

उच्च अदालतले रिट खारेज गरे पनि जिल्ला अदालत सर्लाहीमा किर्तेसम्बन्धी मुद्दा विचाराधीन छन् ।  नेपाली कांग्रेसबाट वडा नम्बर २ का महिला सदस्यमा निर्वाचित सुनैना देवी सहनीको किर्ते हस्ताक्षर गरी गाउँसभामा बहुमत पुर्‍याइएको उपाध्यक्ष सरिता कुमारीको आरोप छ । सोही आधारमा सुनैना देवीले जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । 

बसबरिया गाउँपालिका दुई निर्वाचन क्षेत्रमा रहेको छ । गाउँपालिका अध्यक्ष रामसिंहासन राय सर्लाही निर्वाचन क्षेत्र-४ बाट निर्वाचित भएका हुन् भने गाउँपालिका उपाध्यक्ष सरिता कुमारी सर्लाही निर्वाचन क्षेत्र-३ बाट निर्वाचित जनप्रतिनिधि हुन् । दुवै जसपाबाट निर्वाचित भए पनि मुद्दा मामिलामा व्यस्त हुँदा विकास निर्माणका काम ठप्प भएको हो ।