बैतडी - ‘बाउली समाई छ, जूज की धनिबालि जोली घुगुता दियो मारी, ढोग धोइयो, राजा सेवाइदियो लाई ।’
यो भडाहाको एक टुक्का हो । राजा त्रिमल चन्दले आफ्नो तर्फबाट लडाइँका लागि लडाकु(पाइक) कार्की सक्रामलाई युद्धमा पठाउँदाको क्षण यो टुक्का सुनाइएको थियो ।
यसैगरी धेरै पाइकहरूको वीरगाथामा आधारित विषय समेटेर हुड्को बजाउँदै भडाहा गाउने गरिन्छ । भडाहा सुदूरपश्चिमको मौलिक लोक–सस्ंकृति मध्येको महत्वपूर्ण विधा हो । हरेकविवाह, व्रतबन्ध, न्वारान लगायत कुनै पनि शुभकार्य गर्दा अनिवार्य भडाहा गाउने गरिन्थ्यो । तर, पछिल्लो समय हुड्क्यौली परम्परा लोप हुँदै गएको छ ।
हुड्क्यौली काकलाकार मनोहर परियार भन्छन्, ‘हुड्क्यौली अर्थात् भडाहा अहिले पूर्ण रुपमा लोप भइसकेको छ । पहिला–पहिला रातभरी हुड्क्यौलीमा रमाइन्थ्यो । अहिले कसैले पनि शुभकार्यका लागि भडाहाकार (भडैया) लाई बोलाउँदैनन् ।’ हुड्क्यौली पुस्तान्तरण हुन नसकेको उनको बुझाइ छ । हुड्क्यौली गाउने व्यक्तिका छोरा नाति कसैले नसिकेका र केही हुड्केहरूसँग साइते, भासारा (साइडमा गाउने) का काम गर्दै आएको उनले बताए ।
बैतडीका चर्चित भडाहा हाल्नेहरू जन्तरी हुड्के, तिखुरे दमाई, परमल दमाई, नेफरे दमाई लगायतसँग साइतेको काम गरी हुड्केउली सिकेको उनले जानकारी दिए। हुड्के अहिले केही संग्रहालयमा देख्न पाइए पनिप छिल्लो समय हुड्क्यौली गाएको निकै कम मात्रै देख्न पाइने उनको अनुभव छ । मनोहर भन्छन्, ‘हुड्क्यौली भारतको चम्पावतका राजा त्रिमल चन्दका मुख्य लडाकु सक्राम कार्कीको वीर गाथामा आधारित छ । उतिबेलाका वीरहरू रनि राउत, सोझा साउत,लाली साउन, भिङे कठायत, नरसा धौनी, मंगला राउत, कालो भण्डारी लगायत व्यक्तिका वीरगाथा समेत रहेको छ ।’
चम्पावतका राजा त्रिमल चन्द र गडमलासका राजा सुर्तान शाही, मनोर शाहीबीच लडाइँ भयो । पहिला एकमात्रै राजा त्रिमल चन्द रहेकामा पछि गडमलासमा सुर्तान शाही र मनोर शाहीले आफूहरूलाई राजा घोषित गर्दै सिर्तो माग्न थालेपछि लडाइँ सुरु भएको बताइन्छ ।
सिर्तोमा नयाँ अन्न, घ्यू, मह राजाहरूलाई चढाउने गरिन्थ्यो । राजालाई नौलो कुरा चडाएर त्यसपछि मात्रै आफूले प्रयोग गर्ने चलन थियो । उक्त सिर्तो पहिला राजा त्रिमल लाई चढाउने गरेकामा पछि शाहीहरूलाई समेत चढाउन थालेपछि चन्द र शाही राजाबीच लडाइँ सुरु भएको बताइन्छ । विशेष गरी १६ वीरहरूको गाथामा भडाहा गाइने गरेको हुड्क्यौली कलाकार मोहन औजी बताउँछन् । राजा त्रिमल चन्दका मुख्य पाइक संक्राम कार्की थिए भने सुर्तान शाही र मनोर शाहीका पाइक ढेपरे गडवाल रहेको बताइन्छ ।
संक्राम कार्कीलाई राजा त्रिमल चन्दले लडाइँमा पठाउने बेला एकै वाँणमा एकजोडी ढुकुर मार्न आदेश दिए । पछि त्यसलाई मारेपछि उनलाई मुख्य पाइकको उपाधि दिई लडाइँमा पठाएको भडाहामा गाउने गरिएको छ ।
हुड्क्यौली सस्ंकृति लोप हुँदै गएको अवस्थामा देउडा गायकहरूले भने आफ्ना देउडा गीत तथा भिडियोहरूमा हुड्केको प्रयोग गर्न थालेको देउडा गायक महेशकुमार औजी बताउँछन् । उनले भने, ‘विगतमा धेरै व्यक्तिहरू हुड्क्यौलीमा पोख्त थिए । अहिल प्रसिद्ध भडैयाहरू बिरुवा दमाई, गोविन्द औजी, माता औजी, मोहन औजीलगायतले अझै भडाहा गाउँछन् । तर, अहिले जीवित भडैयाहरू पहिलाका जस्ता पोख्त छैनन् ।’
मौलिक सस्ंकृतिका रुपमा रहेको हुड्क्यौली लोप हुँदै गएकामा चिन्ता लाग्ने गरेको उनी सुनाउँछन् । उनले भने, ‘अहिले विवाह, व्रतबन्ध जस्ता शुभकार्यमा परम्परागत मानोरञ्जनका साधनभन्दा डिजेहरू बजाएको देख्दा दुःख लाग्छ ।’
यस्तै,
केही पश्चिमी राजाहरूका वीर गाथामा समेत हुड्क्यौली रचिएको डा. केदार चन्द्र भट्टको तर्क छ । उनले भने,‘बैतडीको दशरथचन्द नगरपालिका र आसपास क्षेत्रमा हलराया राजाको चर्चा गर्दै कलाकार झुसे दमाईले बैतडीको प्रशिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा हुड्केउली गाउँथे । साउन महिनाभर हुड्क्यौली चल्थ्यो । रातभर कोही पनि निदाउँदैनथे ।’
पछिल्लो समयको पुस्ताले हुड्क्यौलीलाई निरन्तरता नदिँदा मौलिक सस्ंकृति लोप भइरहेको उनको ठम्याइ छ । हुड्क्यौली विधामा विधावारिधि गरेका डा.बद्रीशर्मा विनाडी भन्छन्, ‘यो सुदूरपश्चिमेली सस्ंकृतिभित्रको एक उपविधाहो । यसले तत्कालीन राजाहरू र वीर पुरुषका गाथालाई समेटेको छ ।’
पुरानो पुस्ताले सबैजसो शुभकार्यमा अनिवार्य समावेश गर्ने भडाहा, सुदूरपश्चिमका साथै भारतको कुमाउ गडवालदेखि जम्मु कश्मीर सम्मको संस्कृतिलाई हेर्दा हुड्क्यौलीको परम्परा पुरानो देखिएको उनको अनुमान छ ।