close

जनकपुरका शक्तिपीठमा झिझिया लोकनृत्यको रौनक

जनकपुरका शक्तिपीठमा झिझिया लोकनृत्यको रौनक

Trulli
ADVERTISEMENT




धनुषा-  ‘तोहरेभरोसे बरह्म बाबा झिझिया बनेलियै हौ, बरह्म बाबा झिझिर पर होइयौ ने सहाय...’।


दसैं अवसर पारेर मैथिलीको यो  लोकनृत्यसहितको प्रस्तुतिले यतिबेला जनकपुरधामका शक्तिपीठहरू गुन्जायमान भएका छन् ।


प्राचीन मिथिलाको राजधानी राजा जनकको कुलदेवीको रुपमा अवस्थित राजदेवी मन्दिरमा बेलुकी हुने झिझिया गीत र त्यसको नृत्य नियाल्न आउनहरूको भीड बाक्लै हुने गर्छ ।


मिथिला संस्कृति झल्काउने रंगीबिरंगी पोसाक लगाएका महिलाहरू मन्दिरको बीच प्रांगणमा टाउकामा माटोको भाँडो र त्यसभित्र बालिएको बत्तीलाई नचाउँदै गर्दाको दृश्य साँच्चिकै मनमोहक लाग्छ ।


विजयादशमी सुरु हुनासाथ जनकपुरधामको शक्तिपीठ र मन्दिरमा बज्ने गीत झिझिया नै हो ।  मन्दिर दर्शनमा आएका श्रद्धालुहरू पनि मिथिलाको यो लोक–संस्कृति झल्काउने नाचबाट मन्धमुग्ध हुने गर्छन् ।


विजयादशमी आगमनसँगै मिथिलाञ्चलको गाउँटोलमा झिझिया नृत्य सुरु हुन्छ । मिथिला कला–संस्कृतिमा यो नाचको छुट्टै मौलिकता छ । झिझिया नृत्य मिथिला कलाको जीवनशैली मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । तर, पछिल्लो समय यसको मौलिकता हराउँदै गएकामा स्थानीयको चिन्ता छ ।


‘झिझिया नृत्यमा पहिलेजस्तो चमकदमक हुन छाड्यो । जनकपुरका मुसहर समुदायले यसलाई जीवन्त बनाइराखे पनि अरु समुदायले बिर्संदै गएका छन्,’ जनकपुर उपमहानगर वडा नम्बर ७ का अध्यक्ष जानकिराम साह बताउँछन् ।


आफ्नै वडाको मुसहरीमा रहेका केही परिवार जनकपुरका सबै शक्तिपीठमा गएर झिझिया नाच गाउने र नाच्ने गरेको जानकारी उनले दिए ।


यो नृत्य सातौंं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतका जानकारहरू बताउँछन् । दसैं आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो । यस नृत्यमा महिलाले टाउकोमा प्वालैप्वाल भएको घैंटोमा दियो बालेर ५ देखि १५ जनाको समूहमा झिझिया नाच्ने गर्छन् ।


झिझिया नृत्यका लागि गाइने गीतको सुर र तालमा झुमी टाउकामा घैंटो राख्ने महिला चारैतिर फन्को मार्छन् । त्यो घैंटोको प्वाल बोक्सीले गन्न सफल भए नाच्ने महिलाको त्यहीँ मृत्यु हुने जनविश्वास रहिआएको छ ।


गीतमा शक्तिदेखिको आराधना र बोक्सीलाई गाली गरिन्छ । परापूर्वकालदेखि नै विशुद्ध तान्त्रिक विधिमा आधारित रहेर झिझिया गीत र नाच नचाइने गरेको छ ।


नृत्य गर्ने महिलाको टाउकामा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भए ती महिलाको तत्काल मृत्यु हुने जनविश्वासका कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाचिरहेका हुन्छन् ।


झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीर्घायुको कामना गरिन्छ ।


लोप हुँदै  झझिया नृत्य

 

मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादूमय तरिकाले नाच्ने नृत्यांगनाको समूह  सहरी क्षेत्रमा देखिन छाडेका छन् । प्राचीन तान्त्रिक नृत्य मिथिलाञ्चलबाट हराउँदै गएको छ ।


असुर प्रवृत्तिविरुद्घ सात्विक प्रवृत्ति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दसैं पर्वमा खासगरी मिथिला क्षेत्रको प्रमुख आकर्षण नै विगतमा झिझिया नृत्य रहने गरेको थियो ।


दसैं लागेपछि देवी दुर्गाबाट पराजित दुष्टात्मा टोलबस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिन सक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राती जाग्राम रही ग्राम देवतालाई पुकार गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिने गरिएको हो ।


दसैं पर्व सुुरु हुनासाथ यो गीत र नृत्य पनि प्रारम्भ हुन्छ, मिथिलामा । असंख्य स–साना प्वाल पारिएका माटोका गाग्रा (घैंटो) भित्र बत्ती बालेर १ जना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउने गर्छन् ।


यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरीबुहारीले नअँगालेपछि नृत्य लोप हुने स्थितिमा पुगेको वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोष कापडि भ्रमर बताउँछन् ।


‘हुन त यो रुढी विश्वासको परम्परा हो,’ कापडी भन्छन्, ‘तर मिथिला संस्कृतिको अंग नै स्थापित भएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ,’ कापडि भन्छन्, ‘तान्त्रिक विधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनिसकेको छ ।’


मिथिला संस्कृतिको अभिन्न अंग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न नयाँ पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिनुपर्ने बुढापाकाको सुझाव छ । अब समयको प्रवाह सँगै यस पौराणिक लोक–नृत्यलाई आधुनिकतासँग जोडेर राख्नुपर्ने अगुवा सरोज मिश्रको तर्क छ ।


यसमा मिथिलाञ्चलका संगीतकारको ठूलो भूमिका हुने जिकिर गर्दै मिश्र थप्छन्, ‘अब ओल्डमा’ डल लोकगीतलाई वर्तमान संगीतसँग भाव नमर्ने गरी प्रस्तुत गर्नुपर्छ ।’


अलग–अलग समूहमा गामघरदेखि हाटबजारसम्म हुने झिझिया नृत्य गाउने र बजाउने गायक–गायिका एवं नृत्यांगनाको कमी सहजै देख्न सकिन्छ । यसलाई जीवन्त राख्न स्थानीय र प्रदेश सरकारले संस्कÞृतिको संरक्षणमा ध्यान दिनुपर्ने मिश्र बताउँछन्  ।


‘लोक–संस्कÞृति र परम्पराका लागि स्थानीय सरकार गम्भीर नरहेको नागरिक समाजका अगुवा अमरचन्द्र अनिल बताउँछन् छ ।


उनी भन्छन्, ‘स्थानीय सरकार गठन भएको ३ वर्ष भइसक्यो तर आफ्नो मौलिक लोकगीत, संगीत, बाजा र नृत्यलाई संरक्षण गर्न पालिकाले कुनै भूमिका खेलेका छैनन् ।’