close

एउटा फरक कृति : सम्पूर्ण आकाश

एउटा फरक कृति : सम्पूर्ण आकाश

Trulli
ADVERTISEMENT

मिडिया हाउसहरू लेखक उत्पादन गर्छन् । पत्रकार बनाउँछन् । पत्रकार र लेखकलाई मञ्च उपलब्ध गराउँछन् अनि प्रत्येक दिन हजारौं-लाखौं प्रति समाचारमूलक पत्रिका प्रकाशन गर्छन् । प्रसारण गर्छन् । प्रत्यक्ष अगाडि नदेखिए पनि यस्ता सामग्री प्रकाशन-प्रसारणमा भने उनीहरूको योगदान अतुलनीय हुन्छ । 


तर, यस्ता प्रकाशनगृहका लगानीकर्ता तथा उपल्लो तहका प्रशासनिक पदाधिकारी आफैं भने लेखनमा संलग्न भएका घटना कमै मात्र पाइन्छन् । यही सन्दर्भमा नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक तथा शुक्रबार साप्ताहिक, परिवार मासिक (हाल लकडाउनका कारण प्रकाशनमा नरहेका) को प्रकाशक संस्था नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवाली कथासंग्रह ‘सम्पूर्ण आकाश’ लिएर नेपालीकथा साहित्यको क्षेत्रमा उदाएकी छिन् ।


दसैं र तिहारको उपहारस्वरूप घटस्थापनाका दिन सार्वजनिक गरिएको यो कृतिमा २५ वटा पूर्वप्रकाशित कथा छन् । नागरिक दैनिक र परिवार मासिकमा छापिएका कथाहरूको पुनर्सम्पादनसहित प्रकाशित यो कथा संग्रहले विशेषगरी नारीभित्र अवस्थित शक्तिलाई प्रयोग गर्नुपर्ने र चुप लागेर बस्न नहुने वकालत गरेको छ ।


मायाप्रीतिमा आधारित कथा लेखनको धारलाई पूरै छाड्न नसके पनि यो संग्रहमा प्रकाशित कथाहरूले माया र प्रेमको भाव, उद्देश्य र नतिजा प्रस्ट्याएको छ । अनि, प्रेम युवा जोडीको मात्र चासो विषय नभई श्रीमान्-श्रीमती, आमा-छोरी, दिदी-बहिनी, साथीसंगी सबैका लागि समान रूपमा लागू हुने प्रिय शब्द हो भन्ने पुष्टि गर्ने प्रयास भएको छ । 


विशेषगरी नारीलाई कमजोर ठानेर हेप्ने, उनीहरूको अस्तित्व स्वीकार नगर्ने, उनीहरू कसैका लागि सहयोगी बन्न मात्र जन्मिएका भ्रम पाल्नेजस्ता कुचलनविरुद्ध कथाका पात्रहरू सतिसालझैं उभिएका छन् । उनीहरूले यस्ता कुचलन हटाउनुपर्ने वकालत मात्र गरेका छैनन्, अब पनि यसमा सुधार आएन भने थप कदम चाल्न बाध्य हुनुपर्ने चेतावनीसमेत दिएका छन् । यस अर्थमा यो कथा संग्रह विद्रोहको शालीन रूप प्रदर्शन गर्न आइपुगेको लाग्छ । 


कतिपय अवस्थामा महिला आफैं पनि कर्मलाई, भाग्यलाई दोष दिएर पीडा सहिरहेका, प्रतिवादमा उत्रन आवश्यक नठानेका अनि प्रतिरोधलाई समाजविरोधी कार्यका रूपमा बुझेका छन् । तिनको यो मौनतालाई भंग गर्दै अब  पनि यसरी नै बस्ने हो भने महिलाहरू थप प्रताडनाका लागि तयार भए हुन्छ भन्ने सन्देशसमेत यो कृतिको देखिन्छ । सोझो अर्थमा भन्दा आफूमाथि अनावश्यक रूपमा लगाइने लाञ्छनाविरुद्ध जाइ लाग्न र महिला भएकै कारण कमजोर ठानी हिंसा गरिने प्रथाविरुद्ध चुप नलाग्न कथाका पात्रमार्फत लेखिका ज्ञवालीले उत्साहित गरेकी छिन् ।


काली, देवी, द्रौपदी, मदर टेरेसाजस्ता विख्यात नारीहरूले आफ्नो शक्ति प्रदर्शन गरिसकेका सन्दर्भमा आफूभित्र निहित यस्तै शक्तिलाई प्रयोगमा ल्याउन लेखिकाले हरदम उत्प्रेरित गरिरहेको पाइन्छ । त्यसैगरी अहिलेसम्म महिला हेपिनुको मुख्य कारण पनियस्तै कार्यविरुद्धको मौनता हो भन्नेमा उनी सहमत छिन् । मध्यमवर्गीय महिलाले भोगिरहेका तर बाहिर खुलेआम आउन नसकेका प्रवृत्तिलाई कथाले मुख्य रूपमा जोड दिएको देखिन्छ, जुन स्वाभाविक पनि लाग्छ । 


कथाका पात्रहरूको आफूलाई हेप्नेविरुद्ध बदला लिने तरिका फरक छ, कृतिमा । उनीहरू गान्धीवादमा विश्वास गर्छन् । अर्थात्, कुटपिट र झैझगडामा उत्रनुभन्दा पीडकलाई परिवर्तन गर्न तम्सन्छन् । रोएर बस्ने र पीडा मनभित्रै पालेर गुम्सिरहनुको सट्टा आफूलाई सिर्जनात्मक बनाउन उद्यत हुन्छन् । अनि, केही गरेर देखाइदिने अठोट साथ अघि बढ्छन् । जसले अरूलाई अग्लो ठाउँबाट खसालेर हैन, आफू त्योभन्दा अग्लो ठाउँ पुगेर कृतिमान हासिल गर्न सकिने मान्यतालाई मलजल गरेको छ ।


कथा साहित्यमा भर्खर प्रवेश गरेको तथा आफ्ना कथाहरू कथाजस्तो नहुन पनि सक्छन् भन्ने लेखिकाको स्वीकारोक्ति शालीनताको संकेत हो । तर, कथाहरू पढ्दा भने न उनी भर्खरजसो लेख्न थालेको लाग्छ, न त यी कथा कमजोर नै लाग्छन् । वर्षौंदेखि लेख्दै आएकी कथाकारको थपकथा पढिरहेजस्तो लाग्छ पढ्दा । र, खोट देखाउने ठाउँहरू खोज्न पनि सिलाखोजेजस्तै गाह्रो हुन्छ ।


समग्रमा नेपाल रिपब्लिक मिडियाको उच्च पदमा रहेर पनि लेखन क्षेत्रमा देखाएको अभिरुचिप्रति कथाकार ज्ञवालीलाई धन्यवाद भन्नैपर्छ । २ सय ३२ पेजको यो कृति छपाइ, कागज, सम्पादन कुनै पनि दृष्टिले अनुपयुक्त लाग्दैन । कथैपिच्छे छापिएका रंगीन स्केचहरूले कथालाई सुन्दर बनाउन सघाएका छन् । निन्तरता पायो भने ज्ञवालीको कथा लेखनले पक्कै पनि आगामी दिनका पाठकलाई थप मोहित पार्नेमा शंका लाग्दैन ।


मञ्जरी प्रकाशनले छापेको यो कृति मुख्य पसलहरूका साथै अर्डर गरे होम डेलिभरीको सेवासमेत रहनु राम्रो पक्ष हो । त्यसैगरी अनलाइन पढ्न चाहनेलाई सस्तो मूल्यमा पाइने व्यवस्था यसको अर्को विशेषता हो ।