३१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता जनाएका छन् ।
जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्यापति पुरस्कार अर्पण कार्यक्रममा मन्त्री श्रेष्ठले सीमान्त समुदायको भाषा, साहित्य र कला संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न समयानुकुल साँस्कृतिक नीति छिट्टै तर्जुमा गरिने बताए ।
भाषिक र सांस्कृतिक विविधता सहितको हाम्रो मुलुकले विविधताभित्र एकताको सन्देश दिन सक्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । नेपाल विद्यापति पुरस्कार २०७८ बाट पाँच जना स्रष्टा पुरस्कृत भएका छन् ।
नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट रमेशरञ्जन झा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कारबाट निर्मला झा र अशोककुमार दत्त, नेपाल विद्यापति अनुसन्धान पुरस्कारबाट सुर्यप्रसाद यादव र अर्जुनप्रसाद गुप्ता पुरस्कृत भएका हुन् ।