खोटाङ - खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा लाग्ने हरिबोधनी एकादशी मेला यो वर्ष रोकिएको छ ।बराहगोखरी गाउँपालिका -१ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीमा हरेक हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेला यसपल्ट कोभिड-१९ महामारीका कारण रोकिएको हो ।
मेलामा हुने भीडभाडका कारण संक्रमण फैलने त्रास देखिएकाले मंगलबार र बुधबार लाग्ने मेलामा रोक लगाइएको वडा कार्यालय बराहपोखरीले जनाएको छ ।
वडाध्यक्ष टंककुमार मगरले सूचना जारी गर्दै हरिबोधनी एकादशी मेला नलगाउने निर्णय गरिएको बताए । बराहपोखरी गाउँपालिकाको २५ कात्तिकको बैठकले बराहपोखरीमा हरिबोधनी एकादशी मेला नलगाउने निर्णय गरेको थियो ।
नेपाल सरकारको सय गन्तव्य सूचीमा समावेश बराहपोखरीमा हरिबोधनी एकादशीको अघिल्लो दिनदेखि भव्य मेला लाग्ने गरेको छ । बराहपोखरीमा मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्लाभित्र तथा बाहिरबाट हजारौं दर्शनार्थी आउने गरेका छन् ।
तीन सय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइको पोखरीको पानीले स्नान गर्दा रोगव्याधि निको हुने तथा आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यताअनुसार बराहपोखरीमा दर्शनार्थी तथा धामीझाँक्रीको भीड लाग्दै आएको छ ।
बराहपोखरीमा लागेको मेलामा ढोल-ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी-झाँक्रीको टोली आउने गरेको छ । चिताएको पुग्ने विश्वासमा बराहपोखरी आएका दर्शनार्थीले हरिबोधनी एकादशीका दिन दुई हजार बढी जोडी परेवा उडाउने गरेका छन् । बराहपोखरीमा मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।
४.४६ हेक्टरमा फैलिएको ‘अर्धचन्द्राकार’ पोखरीमा पाइने दुर्लभ रातो माछाले समेत पर्यटकको मन लोभ्याउने गरेको छ । सधैँ स्वच्छ पानी रहने नीलो पोखरीको पश्चिम किनारामा रहेको शंखेश्वर महादेव मन्दिरको वरिपरि आफ्ना पितृको सम्झनामा भजनकीर्तन र रुद्रीपाठ गर्न पैदल हिँडेरै दर्शनार्थी बराहपोखरी आउने गरेका छन् ।
खोटाङबाहेक उदयपुर र भोजपुरबाट दर्शनार्थी आउने मेला अवधिभर बालन र संगिनी नाच्ने प्रचलन छ । स्थानीयका अनुसार विशेषगरी हरिबोधनी एकादशीको दिन मेला लाग्ने गरे पनि त्यसको अघिल्लो दिनदेखि नै रमझम सुरु हुन्छ ।
बराहताल चारैतिर पहाडले घेरिएको उपत्यकाको बीच भागमा रहेका कारण माथिका डाँडाबाट झनै मनमोहक देखिन्छ ।
मुहान नदेखिने बराहपोखरीको सुरुङबाट पानी निकास हुने गरेको बताइन्छ । पर्यटनको सम्भावना भए पनि ओझेल रहेको बराहपोखरी सदरमुकाम दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको छ ।
बराहपोखरीमा हरेक रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, माघे संक्रान्तिका दिन सतबीज छर्ने चलन छ ।