close

कुकुर पाल्नुभएको छ ? वडामा दर्ता गराइहाल्नुस् है !

कुकुर पाल्नुभएको छ ? वडामा दर्ता गराइहाल्नुस् है !

Trulli
ADVERTISEMENT

काठमाडौँ– काठमाडौँ महानगरभित्र कुकुर पाल्न चाहने घरधनीले अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गराउनुपर्ने भएको छ । सार्वजनिक स्थलमा जथाभावी कुकुर छाडेर फोहोर गरेसँगै दर्ता अभियान सुरु गरिएको महानगरले जनाएको छ ।

 

काठमाडाैं महानगरले पहिलो चरणमा सचेतना अभियान चलाउने र दोस्रो चरणमा कुकुरधनीलाई कारबाहीसमेत गर्ने भएको छ । काठमाडौँ महानगरले घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा शौच गराउने कुकुरधनीउपर निगरानी बढाएको छ ।

 

ओमबहाल, मैजुबहाल, जयबागेश्वरी, सिफल, कालोपुुललगायत क्षेत्रका बाटोमा कुकुरलाई शौच गराइरहेका कुकुरधनीलाई नियन्त्रणमा लिएर सम्झाउँदै आएको छ ।

 

महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार महानगरले पहिलो चरणमा सचेतना कार्यक्रम तीव्र बनाएको छ । सचेतनासँगै काठमाडौँ महानगरमा छाडा कुकुरको घाँटीमा हरियो रङको पेटी बाँध्न थालिएको छ ।


२२ हजार कुकुरको बन्ध्याकरण


महानगरको पशु व्यवस्थापन महाशाखाले महानगरमा रहेका २२ हजार यस्ता कुकुरको बन्ध्याकरण गरिसकेको छ । महाशाखाका अनुसार अब बाँकी करिब ५ हजार कुकुरको बन्ध्याकरण थालिएको छ ।


‘हालै वडा– ३१ मा बन्ध्याकरण कार्य सकिएको छ । अबको ६ महिनाभित्र सबै छाडा कुकुरको बन्ध्याकरण सक्ने र नियमित रेबिजविरुद्धको सुई दिने व्यवस्था महानगरपालिकाले गर्नेछ’, सापकोटाले भने । छाडा गाई, गोरु र बहरका सन्दर्भमा भने कान्जी हाउसको व्यवस्था र मलमूत्रको प्रांगारिक मल उपयोग गर्ने सोचिएको छ ।