close

काठमाडौँ महानगरलाई ल्हासा नगरको कम्प्रेस्ड ट्रक उपहार

काठमाडौँ महानगरलाई ल्हासा नगरको कम्प्रेस्ड ट्रक उपहार

Trulli
ADVERTISEMENT

काठमाडौँ - चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौँ महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छन् । भगिनी सम्बन्ध रहेको नगरले काठमाडौँको सरसफाइ गर्न कम्प्रेस्ड गारवेज ट्रक उपहार दिएको हो । 

 

१ असोजमा ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ, ‘नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछाैँ । हामी काठमाडौँको वातावरण सफा र स्वच्छ होस् भन्ने चाहन्छौँ । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौँ ।’

 

२०७६ को इन्द्रजात्रा अवलोकन गर्न कामपाले दिएको निमन्त्रणा स्वीकारेर ल्हासा नगरका मेयर गुहेओ काठमाडौँ आएका थिए । ल्हासा नगरका नगरप्रमुख गुहेओले त्यसबेलाको भेटमा काठमाडौँको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताएका थिए । 

 

यी ट्रकको मूल्य १० लाख ६० हजार युआन (करिब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रक १४ मंसिर बेलुकी खासा मितेरी पुल ल्याइपुर्‍याइएको थियो ।

 

१५ मंसिरमा ल्हासा नगरको अन्तर्राष्ट्रिय मामिलाका अधिकारीहरूले काठमाडौँ महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए ।

 

त्यस अवसरमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन विभागका नगर प्रहरी नायब उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव थिए । ती ट्रक १६ मंसिरमा काठमाडौं ल्याइएकाे हाे 


आइतबार महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरे । १ सय ९० हर्षपावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २ सय ५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो ।

 

संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैँ आवाज दिन थाल्छ ।