देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका २० खबर
१) ‘बालबालिका सबैका प्यारा, बालमैत्री नगर हाम्रो अभिभारा’ मूल नाराका साथ झापाको भद्रपुर नगरपालिका ७ पुसमा बालमैत्री नगर घोषणा हुने,बालमैत्री घोषणा हुने भद्रपुर प्रदेश १ को पहिलो स्थानीय तह ।
२) छाउपडी प्रथा अन्त्य गर्न सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियानपुनः सुरु, नौवटै जिल्लामा छाउगोठ खोज्न सादा पोसाकका प्रहरी परिचालन ।
३) हुम्लाको ताँजाकोट गाउँपालिकामा प्रसूति सेवा संचालन, विकट गाउँमा प्रसूति सेवाकालागि भवन स्थापना भएर स्वास्थ्यकर्मी खटिएपछि महिलालाई सहज ।
४) लक्षणसहितका कोरोना संक्रमितको उपचार गर्न मोरङको विराटनगरमा १०० शय्या क्षमताको नागरिक केयर सेन्टर अस्पताल स्थापना, प्रदेश सरकार, विराटनगर महानगर र निजी क्षेत्रको सामूहिक लगानी ।
५) भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नयाँ प्रशासकीय अधिकृत चूडामणि पन्थी हाजिर, पन्थीलाई जनप्रतिनिधि र कर्मचारीले गरे स्वागत।
६) चिसोबाट बच्न आगो ताप्ने क्रममा घाइते भएकी बाराको कलैया उपमहानगरपालिका- ३ की ७५ वर्षीया रामसवारी देवी कानुको मृत्यु, चिसो बढ्दा देशभरको जनजीवन प्रभावित ।
७) बाग्लुुङको बडिगाड गाउँपालिका-१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक वनमा लुकाई राखिएको १३ थान भरुवा बन्दुक बरामद, प्रहरीले थाल्यो अनुसन्धान ।
८) जुम्लाको तिलागाउँपालिका- ६ सुडीगाउँमा‘एक घर, एक धारा’ संचालनमा, धारामा पानी खसेपछि स्थानीय दंग ।
९) दाङको राप्तीगाउँपालिकाको पाँचौँ कार्यपालिका बैठक सम्पन्न, ११ विषयमा छलफल ।
१०) जंगलीजनावर नियन्त्रण गर्न माग राख्दै सुनसरीको कोसी गाउँपालिकाका स्थानीयवासी आन्दोलित, नौ सूत्रीय माग राख्दै आन्दोलनको कार्यक्रम सार्वजनिक ।
११) कैलालीको धनगढी उपमहानगरपालिकाले संचालन गरेको निःशुल्क स्वाव संकलन केन्द्रमा होपब्रिज संस्थाको सहयोगमा हातधुने धारा जडान, सेवाग्राहीलाई सहज ।
१२) सामाजिक सुरक्षाभत्ता बैंकमार्फत वितरण गर्न खोटाङको साकेला गाउँपालिका र नेपाल एसबीआई बैंकबीच सम्झौता, अब लाभग्राही भत्ता लिन बैंक पुग्नुपर्ने ।
१३) सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाद्वारा बाह्रबिसे नगरपालिकालाई दुईलाख रुपैयाँ सहयोग, एक कार्यक्रमकाबीच उपाध्यक्ष कमला श्रेष्ठले नगरप्रमुख निमफुन्जो शेर्पालाई सहयोग रकम हस्तान्तरण ।
१४) काठमाडौंको चुच्चेपाटीस्थित स्तुपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तल्लाबाट खसेर एक महिलाको मृत्यु, मृत्यु हुनेमा सिन्धुलीकी ३५ वर्षीया निरुता तामाङ।
१५) रौतहटको चन्द्रपुर नगरपालिका-२ रैयाटोलमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिमा विवाद, पठनपाठन प्रभावित ।
१६) बझाङको केदारस्यु गाउँपालिकाको बागथलाबाट बुङ्गल नगरपालिकाको विजगडाग जोड्ने सडक कालोपत्रे हुने, सडकको सुदूरपश्चिम प्रदेशका भौतिकपूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले गरे शिलान्यास ।
१७) बाजुराको बडिमालिका नगरपालिकाका चारजना विद्यार्थीमा कोरोना पुष्टि भएपछि नगरभरिका विद्यालय बन्द, विद्यार्थीको पठनपाठन थप प्रभावित ।
१८) प्रतिनिधिसभा विघटनको विरुद्धमा देशभर प्रदर्शन, स्थानीय तहका जनप्रतिनिधि नै निस्किए विरोधमा ।
१९) चिनी मिलबाट पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिँदासम्म आन्दोलनलाई निरन्तरता दिने उखु किसानको माग, काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन जारी ।
२०) टिकटक बनाउँदा झोलुङ्गे पुलबाट खसेर घाइते भएका दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु ।