close

२३औँ भूकम्प सुरक्षा दिवस : काठमाडौंमा स्मृतिसभा र दमकल प्रदर्शनी 

२३औँ भूकम्प सुरक्षा दिवस : काठमाडौंमा स्मृतिसभा र दमकल प्रदर्शनी 

Trulli
ADVERTISEMENT

काठमाडौं- २ माघ १९९० मा र त्यसपछिको भूकम्पमा परेर दिवंगत भएकहरूको स्मृतिमा शुक्रबार भूगोल पार्कमा स्मृतिसभा आयोजना गरियो । विगतका भूकम्पहरूको क्षति सम्झना गर्दै आगामी दिनमा सम्भावित जोखिमबाट बच्न सचेतना सन्देश दिने उद्देश्यले सभा आयोजना गरिएको हो । 


गृहमन्त्री रामबहादुर थापाले आन्तरिक समन्वयले सम्भावित क्षति घटाउन सहयोग गर्ने बताए । ‘नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसै कारण कहिलेकाहीँ अप्रत्याशित जोखिम बेहोर्नुपर्ने अवस्था छ’, मन्त्री थापाले भने । 


मन्त्री थापाले भूकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोरोनाको संक्रमणबाट बच्न संयुक्त प्रयासको खाँचो रहेको बताए । 


काठमाडौंको दमकल सेवालाई विस्तार गर्ने क्रममा बौद्धमा आधुनिक भवनसहितको सेवा सुरु गरेको छ ।  महाराजगंजमा भवन निर्माणको चरणमा छ । ‘नयाँ सडकको भवन पुरानो छ । हामीले यसलाई पुननिर्माण गर्न चाहेका छौँ तर पुरातत्त्व विभागले सहमति दिएन ।

 

रातविरात उठेर सेवामा जानुपर्ने अग्नि नियन्त्रक आफैँ जोखिममा बसेका छन्’,  काठमाडौ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘यो भवन पुनर्निर्माण गर्न सहयोग आवश्यक छ ।’ 


उनले भूकम्पीय क्षति न्यूनीकरणका लागि महानगरले भवन निर्माण मापदण्ड जारी गरिसकेको र कोरोनाको महामारीबाट बच्न संघ र प्रदेश सरकारभन्दा अगावै कोष स्थापना गरेर प्रयास थालिएको बताए ।  


महानगरले विपद्पूर्व तयारीका लागि समुदाय स्तरमा काम गरिरहेको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा-२५ का अध्यक्ष नीलकाजी शाक्यको भनाइ थियो ।

 

स्मृतिसभामा सशस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रबहादुर साउद, नगर प्रहरी जवान मोहन चौधरी र नगर प्रहरी जवान विपीन घिमिरेलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । 


२८ मंसिर २०६८ बेलुका वीर अस्पताल अगाडि भएको आगलागी नियन्त्रणका क्रममा साउदको एउटा हात गुमेको छ । 


भूगोल पार्कको स्मृतिसभापछि गृहमन्त्री थापाले दमकल प्रदर्शनी र जुद्ध बारुण यन्त्र कार्यालय भवनको निरीक्षण अवलोकन गरेका थिए ।  २०७२ सालको भूकम्पको कम्पनले जीर्ण बनेको भवनमा अग्नि नियन्त्रकहरू बस्ने गरेका छन् । 


काठमाडौं बारुण यन्त्र कार्यालय (जुद्ध बारुण यन्त्र कार्यालय)का प्रमुख लीलाराज गाछाका अनुसार दकमल प्रदर्शनीमा ४ वटा चालु अवस्थाका नयाँ दमकल, १९९४, २००१ र २०१५ सालका ३ वटा पुराना दमकल, २ वटा ल्याडर, १ वटा मिनी दमकल, एउटा हलुका र एउटा हेभी रेस्क्यु ट्रक, एउटा पानी ट्याङ्की र एउटा लाइट पोर्टेबल पम्पलगायत आगलागी नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा साधन राखिएका छन् । प्रदर्शनी भोलिसम्म रहनेछ । 
 

२ माघ १९९० को विनाशकारी भूकम्पले पुर्‍याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति बेहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने गरिएको छ । यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जोडिएको छ । 


त्यस विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित वस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष २ माघमा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २३औँ दिवस हो ।