close

मालिकार्जुनकाे वडा कार्यालयमा लागेकाे ताला अझै खुलेन : सेवाग्रही मारमा

मालिकार्जुनकाे वडा कार्यालयमा लागेकाे ताला अझै खुलेन : सेवाग्रही मारमा

Trulli
ADVERTISEMENT

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ मा लगाइएको ताला अझै खुलेको छैन । गत ११ माघदेखि लगाइएको ताला नखुल्दा सेवाग्रही मारमा परेका छन् । 


गाउँपालिकाको वडा कार्यालय भवन बनाउने विषयमा विरोध भएपछि वडा कार्यालयमा तालाबन्दी भएको हो । स्थानीय मानसिंह खत्रीले १० माघ २०७५ मा वडा कार्यालयलाई ५ रोपनी जमिन दान दिएको ठाउँमा गत २२ माघमा गाउँकार्यपालिका बैठकले वडा कार्यालय भवन बनाउने निर्णय गरेको थियो ।

 

गाउँ कार्यपालिका बैठकको भवन बनाउने निर्णयलगत्तै वडा कार्यालय भवन सबै बस्तीको केन्द्रमा हुनुपर्ने मागसहित ८ माघदेखि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।


पहिलो चरणमा लगाइएको ताला खुलाउन १० माघमा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी नेतृत्वको टोलीले बजेट रकमान्तर गर्ने र सरकारको निर्णयअनुसार सबैको पायक पर्ने ठाउँमा भवन बनाउनुपर्ने सहमति जुटेपछि ताला खुलेको थियो ।


कार्यपालिका बैठकको निर्णयलाई पुनः उल्ट्याएर अर्को ठाउँमा भवन बनाउने निर्णय गरेको थियो । जग्गाधनी खत्रीलगायत जौलजीविका स्थानीयले जग्गादान दिएकै ठाउँमा वडा भवन बनाउनुपर्ने माग गर्दै अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

 

तालाबन्दीका कारण वडा कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको वडा सचिव जयदत्त ओझाले बताए । तालाबन्दीका कारण वडाका कर्मचारीले समेत हाजिरी लगाउन पाएका छैनन् । ‘हामीले दुई वर्षअघि नै जमिन दान दिइसकेका छौँ’, खत्रीले भने, ‘अहिले आएर भवन बनाउने विषयमा आलटाल भइरहेको छ ।’

 

हाल वडा कार्यालय भवन बनाउने निर्णय भएको जमिन जौलजीवी मञ्च नजिक रहेकाले यही ठाउँमा बनाउनुपर्ने अडान उनीहरूको रहेको वडाध्यक्ष लोकेन्द्रसिंह धामीले बताए । 

 

‘गाउँ कार्यपालिका बैठकले पनि सोही ठाउँमा भवन बनाउने सहमति दिएसँगै पछिल्लो समय विवाद भएपछि तालाबन्दी थप गरिएको छ । अहिलेसम्म तालाबन्दी खुलाउने विषयमा छलफल हुन सकेको छैन’, अध्यक्ष धामीले भने ।