close

हरिया भए अछामका डाँडाकाँडा: ६२ प्रतिशत पुग्यो वन क्षेत्र 

हरिया भए अछामका डाँडाकाँडा: ६२ प्रतिशत पुग्यो वन क्षेत्र 

Trulli
ADVERTISEMENT

अछाम- अछाममा वन क्षेत्र बढेको छ । डिभिजन वन कार्यालय अछामका अनुसार पछिल्लो केही वर्षयता अछामको वन क्षेत्र बढेको हो । 

 

२०७२ मा ५७ प्रतिशत रहेको वन क्षेत्र ५ वर्षमा ५ प्रतिशत बढेर ६२ प्रतिशत पुगेको वन डिभिजन कार्यालय अछामका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए । 

 

वन डढेलो नियन्त्रणसम्बन्धी कार्यक्रममा भट्टराईले अहिले नांगा रहेका डाँडासमेत वृक्षारोपका कारण हरियाली देखिन थालेको बताए । ‘वनको संरक्षण, संवद्र्धन र उपयोग गर्ने अधिकार अब स्थानीय सरकारको काँधमा आएको छ । अहिले वन डढेलो लाग्ने समय भएकाले स्थानीय सरकारले विशेष ध्यान दिन आवश्यक छ’, उनले भने ।

 

नागरिकलाई वन डढेलोसम्बन्धी जानकारी दिनसमेत सञ्चारकर्मीलाई भट्टराईले आग्रह गरे । 

 

वन ऐनअनुसार वनमा डढेलो लगाउने वा आगलागी गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार रुपैयाँ जरिमाना वा १ वर्ष वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार पालिकाको काम-कर्तव्य र अधिकारअन्तर्गत सामुदायिक वन, ग्रामीण तथा सहरी वन, धार्मिक वन, कबुलियती वन र साझेदारी वनको संरक्षण, संवर्द्धन, उपयोग, अनुगमन र नियमन तथा वन उपभोक्ता समूहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारलाई छ । 

 

वन डिभिजन कार्यालय अछामले जंगली जनावरबाट पीडित व्यक्तिलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ । कार्यालयले गत वर्ष मंसिरदेखि चालू वर्षको भदौसम्म जंगली जनावरबाट क्षति भएका ३२ जनालाई राहत उपलब्ध गराएको हो ।

 

२४ जनाको पशु, ३ जनाको तरकारी बाली नष्ट, ५ जनाको मानवीय क्षति भएकालाई राहत क्षतिपूर्ति उपलब्ध गराइएको वन कार्यालयले जनाएको छ ।