close

सैनामैनामा नेपालकै पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

सैनामैनामा नेपालकै पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको सैनामैनालाई पर्यटकीय एवं धार्मिक क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाको वडा नम्बर ३ मुर्गियामा रहेको दुर्गा मन्दिरमा नेपालमै पहिलो शैलपुत्री शक्तिपीठ मन्दिर निर्माण गरिने भएको छ । 

 

नगरपालिकाले २३ करोड ५० लाख रुपैयाँको लागतमा सो परियोजनाको डिपिआर प्रस्तुत गरेको हो । सैनामैनाको वडा नम्बर ३ मुर्गियामा रहेको नवदुर्गा मन्दिरलाई बृहत् धार्मिक स्थलको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । 

 

देशको दोस्रो पशुपतिनाथको नामले चिनिले सैनामैनालाई थप धार्मिक एवं पर्यटकीय गतव्यको स्थलको रूपमा विकास गर्न शैलपुत्री शक्तिपीठले महत्त्वपूर्ण भूमिका खेल्ने सैनामैना नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

 

उनले यस योजनालाई सम्पन्न गर्न स्रोत व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसँग समवन्य गरी अगाडि बढ्ने जानकारी दिए । सैनामैना नगर क्षेत्रभित्रका सार्वजनिक क्षेत्रको समुचित उपयोगबाट समृद्धिका बाटा खोलिने उनको दाबी छ । 

 

शक्तिपीठलाई बोलबम धाम, लामिरह, लुम्बिनीलगायत क्षेत्रसँग जोडेर बृहत् रूपमा विकास गर्न सके यस क्षेत्रको कायापलट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । 

 

निर्माणाधीन शक्तिपीठको डिपिआर तयार गरिएको र धार्मिक पर्यटनका लागि आवश्यक सबै पूर्वाधार समेटिएको सैनामैना नगरपालिकाका योजना प्रमुख ई. सुरज न्यौपानेले जानकारी दिए । 


दुर्गा माताको ९ वटा रूपमध्येको पहिलो स्वरूप शैलपुत्री नाम रहेको र उनको नामबाट यस प्रकारका शक्तिपीठ नभएको हँुदा सैनामैनामा बन्ने शक्तिपीठ नेपालकै पहिलो हुने आचार्य पण्डित विष्णुप्रसाद ज्ञवालीको दाबी छ । 

 

यहाँ रहेका भौतिक संरचनालाई व्यवस्थित तवरले समेट्दै नमुना शक्तिपीठ बनाइने दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर बानियाँले बताए । 

 

योजना सम्पन्न गर्न साढे २३ करोड रुपैयाँ लाग्ने इन्जिनियर कोमलबहादुर पुनको भनाइ छ । वास्तु सिद्धान्तलाई अंगीकार गरी डिपिआर निर्माण गरिएको उनले बताए । २ बिघा क्षेत्रफलमा रहने शक्तिपीठमा मुख्य मन्दिर ८ सय ६५ स्क्वायर मिटरको हुनेछ ।