close

सालको रूखले छेक्यो रंगशाला 

सालको रूखले छेक्यो रंगशाला 

Trulli
ADVERTISEMENT

 

सुर्खेत–सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन फुटबल खेल मैदानको काम ३ महिनादेखि अन्योलमा परेको छ । 

 

राष्ट्रिय खेलकुद परिषद्को १३ लाख, अर्थ मन्त्रालयको २५ लाख, प्रदेश सामाजिक विकास मन्त्रालयको २५ लाख र वीरेन्द्रनगर नगरपालिकाको ५ लाख रुपैयाँमा बन्न लागेको सिर्जनशील फुटबल मैदान सालको रूखले अवरोध गरेपछि अन्योलमा परेको हो । 

 

सिर्जनशील युवा क्लबद्वारा निर्माण भइरहेको फुटबल खेल मैदान सालको रूखले अवरोध गरेपछि निर्माणमा ढिलाइ भएको हो । 


‘जिल्ला वन कार्यालयले रूख काट्न दिएको छैन । २–३ चोटि निवेदन दिइसके पनि लागत कट्टा आएको छैन’, स्थानीय राजेन्द्र शाहीले भने, ‘भित्तामा रहेका सालका केही रूखले गर्दा खेल मैदानको काममा अवरोध गरेकाले ३ महिनादेखि अन्योलमा छ ।’ 

 

आर्थिक वर्ष २०७७/७८ बाट निर्माण भइरहेको फुटबल खेल मैदानको काममा सालका रूखले गर्दा बाधा पु¥याएकाले आउने बजेट पनि रोकिएको एन्फा कर्णाली प्रदेशका अध्यक्ष प्रमोद हमालले बताए ।

 

‘सालका रूखले गर्दा खेल मैदानको काममा बाधा पुर्‍याएको छ’, अध्यक्ष हमालले भने, ‘डिभिजन वन कार्यालयमा धेरै पटक गइसक्यौँ तर कार्यालयले हाम्रो कुरा सुनुवाइ नगर्दा आउने बजेट पनि रोकिएको छ ।’ 

 

राम जानकी उपभोक्ता समितिले सबै वडाका जनप्रतिनिधि र सरोकारवाला राखेर खेल मैदानलाई अवरोध गर्ने रूख काट्नुपर्ने भेलाले निर्णय गरेको थियो । तर, डिभिजन वन कार्यालयको अवरोधले काम अगाडि बढ्न नसकेको हमाल बताउँछन् ।

 

फुटबल मैदानको काम सालको रूखले रोकिएको वन उपभोक्ता समितिले डिभिजन वनलाई निवेदन दिँदा जनप्रतिनिधि र स्थानीयको सहमति ल्याउन भनिएअनुसार जाँदा पनि अनुमति दिन मिल्दैन भन्ने जवाफ आएको हमालले जानकारी दिए ।

 

जानकी वन उपभोक्ता समितिले ५० वर्षका लागि क्लबलाई लिजमा दिएपछि रूख कटान गर्न पाउनुपर्ने भए पनि वन कार्यालयले काम गर्न नदिएको क्लबले बताएको छ ।


आर्थिक वर्ष २०७७/७८ को गत जेठमा सरकारले रूख काट्न नमिल्ने निर्णय गरेकाले अनुमति दिन नमिल्ने डिभिजन वन कार्यालयका अधिकृत गोविन्दप्रसाद दाहाल बताउँछन् । 

 

‘सालको रूख नेपाल सरकारबाहेक अन्य निकायले काट्न मिल्दैन । वातावरणीय परीक्षण (आईई) गरेर माथि पठाएर प्रदेश सरकारले अनुमति दिए मात्र रूख काट्न पाइन्छ’, अधिकृत दाहालले भने, ‘प्रक्रिया पूरा नगर्दासम्म हामीले निर्णय दिन मिल्दैन ।’