close

लहान विस्फोटको अन्तर्यः प्रहरी सुस्ताउँदा गोइतको निसाना 

लहान विस्फोटको अन्तर्यः प्रहरी सुस्ताउँदा गोइतको निसाना 

Trulli
ADVERTISEMENT

काठमाडाैं- आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भयो । विस्फोटमा परि ७ जना घाइते भए । मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो । जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ । नायब सुव्बा यादव सिरहाको विष्णुपुर गाउँपालिका–३ का हुन् ।


को को भए घाइते 


१) शिव कुमार यादव, नायब सुब्बा (बिष्णपुर गाउँपालिका, सिरहा)
२) भोला बहादुर मगर, लेखापढी व्यवसायी
३) लक्ष्मी राना (३५), गोलबजार नगरपालिका ६ सिरहा
४) बेचनी मगर, गोलबजार नगरपालिका ६ सिरहा
५) लाल बहादुर बिश्वकर्मा (५२), सिरहा नगरपालिका १६
६) फूलकुमारी ठाकुर (३८), गोलबजार, सिरहा
७) बद्रिनारायण यादव (५४), भगवानपुर गाउँपालिका, सिरहा
८) दिनेश भण्डारी (३५), धनगडीमाई नगरपालिका ४ सिरहा

 

कसरी भयो विस्फोट  ?


मालपोत कार्यालय सधैँको झैँ आइतबार पनि निकै चापमा थियो । शनिवार बिदा भएसँगै आइतबार सेवाग्राहीको उपस्थिति बाक्लिने स्वभाविक नै थियो । सोही अनुसार मालपोतमा कर्मचारी पनि नियमित काम गरिरहेका थिए । मालपोतमा कर्मचारी भएको स्थानसम्म सेवाग्राही पुग्ने गरेका छन् । 

 

सधैँ झै सेवा दिइरहादा एक व्यक्ति मालपोत छिरे । कार्यालयको मुख्य कागजात राखिएको स्थानमा पुगेर ति अपरिचित व्यक्तिले आफ्नो झोला राखे । झोला राखेको स्थानमा कुर्सी थियो । उनले राखेको झोला कुर्सी मुनि हुँदा र अन्य सेवाग्राही पनि झोला बोकेर आउने र त्यसरी नै कतै राखेर काम गर्ने हुँदा कसैले पनि त्यसलाई अनौठो सोचेनन् । त्यसपछि झोला राखेर ती व्यक्ति कार्यालय बाहिर गए । बाहिर जाने वित्तिकै विस्फोट भयो । र, सेवग्राहीसहित ८ जना घाइते भए । २ जना गम्भीर रहेकाले उपचारका लागि काठमाडौं ल्याइएको छ । 

 

प्रहरीको उपस्थिति


बम विस्फोट भएलगत्तै केही समय सिरहाको लहान युद्धभूमि जस्तो बन्न पुग्यो । कार्यालयभरि घाइते भएकाको रगतले लतपतिएको भुइँका दृष्य सामाजिक सञ्जालमा भाइरल हुन थाले । प्रहरी घटनास्थल पुग्यो । घटनास्थलमा अनुसन्धानका लागि खटेको प्रहरीले एउटा पर्चा भेट्टायो । त्यसपछि प्रहरीले पर्चाको आधारमा केही प्रहरीलाई अनुसन्धानका लागि अन्य निकायको समन्वयमा विभिन्न स्थानमा सर्च अपरेशन गर्न पठायो । 

 

के थियो पर्चामा ?

 
प्रहरीले फेला पारेको पर्चामा ‘गोइत’ समूहको पर्चा भेट्टियो । सोही पर्चाको आधारमा प्रहरीले अन्य टोलीलाई समूहका सदस्य र नाइके खोज्न विभिन्न स्थानमा पठाएको छ । पर्चा धुजाधुजा भएकाले पर्चामा के लेखिएको छ भन्ने कुरा खुल्न बाँकी छ । बम कसले र कतिबेला ल्याएर राखेको कुरा पत्ता लगाउन प्रहरीले अहिले सीसी क्यामेराको फुटेज हेरिरहेका छन् ।


के हो ‘गोइत’ समूह ?


प्रहरीले घटनास्थलमा भेट्टाएको पर्चा खासमा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा हो ।  भूमिगत समूह गोहितले किन आक्रमण ग¥यो भन्ने खुलेको छैन ? आइतबार बिहानमात्र गोइत समूहका नेता रामविलाश यादवले आत्मसमर्पण गरेका थिए । यादव गोइत समूहका ‘सेकेन्ड म्यान’ समेत थिए । यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेका थिए । यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले विस्फोट गराएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


गोइत समूहको आपराधिक घटनाक्रम


–२०७७ चैत १ मा सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, ७ जना घाइते ।


–२०७५ साउन २७ मा विराटनगर महानगरपालिकामा बम विस्फोट,२१ दिनपछि प्रहरीद्वारा समूहका तीनजना पक्राउ गरेर सार्वजनिक । 

 

–२०७४ मंसिर २८ मा सिरहाको लहानको लोकतन्त्र चोक छेउमा बम विस्फोट, साइकलको सिटमुनी फिट गरेको सकेट बम विस्फोट, सप्तरीका खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ बर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ बर्षीय धनराज चौधरी घाइते ।


–२०७३ मंसिर २३ मा सिरहाको मिर्चैयामा प्रेसर कुकर बम विस्फोट, घटनाको जिम्मा लिने गोइत समूह ।


–२०७३  मंसिर १२ मा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम फेला, घटनाको जिम्मा लिने गोइत समूह ।


–यसअघि सप्तरीको झुट्की प्रहरी चौकीको असईको हत्या ।


–राजविराजस्थित सांसद सुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बम विस्फोट, घटनाको जिम्मा ।

 

प्रदेश २ मा आतंक मच्चाउँदै ‘गोइत समूह’


विशेषगरी विस्फोटक पदार्थसँग जोडिएका धेरैजसो घटनाको जिम्मा लिँदै आएको गोइत समूहको ‘बम आतङ्क’को कारण प्रहरी हैरान हुने गरेको छ । यस्तै, उद्योगी व्यवसायीसँग चन्दा माग्ने उसको श्रृङ्खला अझै रोकिएको छैन ।

 

युद्धकालमा गोइतलाई हटाएर तत्कालीन माओवादीले मात्रिका यादवलाई मधेस राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएपछि माओवादी छाडेका गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेका थिए । 


त्यतिबेलादेखि नै पटक–पटक मधेसमा धावा बोल्दै आएका गोइतले अझै पनि मधेसमा आतङ्क सिर्जना गरिरहेका छन् ।  लामो समयदेखि भारत बस्दै आएका गोइतलाई पक्राउ गर्न प्रहरीको विशेष ब्युरोले गरेको पटक–पटकको प्रयत्न सफल हुन सकेको छैन ।