close

गोरखाको एकीकृत नमुना बस्तीका स्थानीयले पाए लालपुर्जा

गोरखाको एकीकृत नमुना बस्तीका स्थानीयले पाए लालपुर्जा

Trulli
ADVERTISEMENT

गोरखा– गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकस्थित गुस्पीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्तीका स्थानीयलाई घरको लालपुर्जा हस्तान्तरण गरिएको छ । 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमारपन्तसहितको टोलीले बिहीबार स्थानीयलाई औपचारिक रूपमा बस्ती हस्तान्तरण गरेका हुन् ।

 

स्थानीय डम्बरसिंह गुरुङलाई लालपुर्जा दिएसँगै औपचारिक रूपमा बस्ती हस्तान्तरण सुरु गरिएको प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ (जिमाली) गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए ।

 

‘बिहीबार १३० जनालाई लालपुर्जा वितरण ग¥यौँ । बाँकी लाभग्राहीको अनलाइन फोटो खिच्ने र विवरण संकलन भइरहेको छ । सबै काम सकेर एक साताभित्रै पुर्जा वितरण गर्नेछौँ’, उनले भने ।

 

६१ करोड ४० लाख २८ हजार रुपैयाँ लागतमा ५ सय ७३ घर निर्माण गरिएको एनआरएनले जनाएको छ । बस्ती निर्माणका लागि स्थानीय लाभग्राहीले प्रतिघर ४० बोरा गिटी र ८ ट्रयाक्टर ढुंगा श्रमदान गरेका थिए । प्रत्येक घर ३ आना ३ पैसा जग्गामा निर्माण भएका छन् ।


नमुना बस्तीमा आवश्यक भौतिक पूर्वाधार निर्माण भने प्राधिकरणले गर्ने आचार्य बताउँछन् । ‘बस्तीमा नाली, पर्खाल, गोरेटो बाटोलगायत भौतिक संरचना निर्माणका लागि २२ करोड रुपैयाँ विनियोजन भएको छ । यो बहुवर्षीय योजना हो । अहिले ठेक्का प्रक्रिया अघि बढिरहेको छ,’ उनले भने ।

 

१ घरधुरी बराबर ५ लाख रुपैयाँको दरले खर्च गर्ने गरी भौतिक संरचना निर्माण हुने र त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।


एनआरएनएले बस्ती निर्माण सुरु गरेको ६ वर्षपछि मात्र स्थानीयले नयाँ घर पाएका हुन् । एकीकृत बस्ती करिब १८.३ हेक्टर क्षेत्रफलमा पैmलिएको छ । 


बस्ती निर्माण गरिएका घर गोला प्रथाद्वारा यसअघि नै छनोट गरिसकेका छन् । २०७२ को भूकम्पले लाप्राकका पुराना गाउँ अति जोखिममा परेपछि गुप्सीपाखामा बस्ती निर्माणका लागि प्राधिकरण, सहरी विकास मन्त्रालय र एनआएनएबीच १२ वैशाख २०७३ मा त्रिपक्षीय सम्झौता भएको थियो ।


सम्झौताअनुसार २ वर्षमा बस्ती निर्माण सक्ने लक्ष्य लिइएको थियो । तर, बस्ती निर्माणमा ढिलाइ हुँदै आएको थियो ।