close

पीसीआर जाँच्न हिडेका जनता होल्डिङ सेन्टरमा, नेतालाई जताततै गाडी कुदाउन छुट 

पीसीआर जाँच्न हिडेका जनता होल्डिङ सेन्टरमा, नेतालाई जताततै गाडी कुदाउन छुट 

Trulli
ADVERTISEMENT

काठमाडौं- आइतबार दिउँसो १ बजेतिर स्वास्थ्यमा समस्या देखिएपछि लुभुका गजेन्द्र महर्जन बीएन्डबी अस्पतालमा कोरोना परीक्षणका लागि स्वाब दिन घरबाट हिँडे ।  मोटरसाइकलमा हिँडेका उनलाई ग्वार्को चोकका प्रहरीले ३ घन्टा बढी होल्डिङ सेन्टरमा राखेर घर फर्काइदियो । 

 
सोही दिन बैंकमा चेक साट्न हिँडेका पेप्सीकोलाका एक किशोर पनि कोटेश्वर चोकमा लामो समय होल्डिङ सेन्टरमा बस्नुपर्‍यो । उनलाई पनि बैंकसम्म जान दिइएन । 

 
तर, जब सडकमा नेता र लोगोवाला सांसद निस्किन्छन्, प्रहरीले स्यालुट गर्दै गन्तव्यतिर जान सहयोग गरिरहेको छ । मानौँ, नेताहरूलाई कोरोना महामारीको निषेधाज्ञामा छुट छ । सर्वसाधारणलाई भने बन्देज । 

 

होल्डिङ सेन्टरमा बसेर स्वाब संकलनसमेत गर्न नपाएका महर्जन प्रश्न गर्छन्, बन्दाबन्दीका नाममा सर्वसाधारण जरुरी काममासमेत निस्कन पाउँदैनन् तर नेतालाई भने गाडी चढेरै जता जान पनि छुट छ । के सर्वसाधारणलाई मात्र हो कोरोना लाग्ने ?’

 
पहुँचवाला सडकमा निस्फिक्री गुड्ने तर सर्वसाधारण भने अत्यावश्यक काममा समेत जान नपाउने भएपछि जनस्तरबाट निषेधाज्ञा मापदण्डको चर्को विरोध हुन थालेको छ । 

 
प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन संक्रमित सांसद सम्मेलन केन्द्रसम्मै पुग्न छुट हुँदा घरखर्च जोहोका लागि सर्वसाधारणले बंैकसम्म जाने पहुँचसमेत पाइरहेका छैनन् ।


स्वास्थ्य मन्त्रालयका अधिकारीहरू निषेधाज्ञा सबैलाई समान भएको बताइरहेका छन् । तर, राजनीतिक दलका नेताहरू भने गाडीमा मनलाग्दी ठाउँ पुगिरहेका छन् । 

 
यतिसम्म कि बागमती प्रदेशका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, सरकारले ६ जेठमा राष्टिय सभाको निर्वाचन गर्दै छ । प्रदेशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष र प्रदेश सांसदलाई हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थितिका लागि दलहरूले ह्विप नै जारी गरेका छन् । 
 

‘नेता भोट हाल्न दोलखाबाट हेटांैडा जान हुने तर बिरामी आफन्त भेट्न काठमाडौंबाट म्याग्दी जान नपाउने अवस्था छ’, सरकारी रबैयाप्रति गुनासो गर्दै म्याग्दी स्थायी घर भएका राजेश उपाध्यायले पालिकाखबरसँग भने । 

 

उनका अनुसार काठमाडौंमा रहेका परिवारका सदस्यको मृत्यु हुँदासमेत सुरक्षा निकायले गाउँबाट आउन दिएको छैन । तर, नेताहरू भने सामान्य काममा पनि बिनाअवरोध एक जिल्लाबाट अर्को जिल्ला फेरो मारिरहेका छन् । 

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम निषेधाज्ञा सबैलाई समान रूपमा लागू हुने र कसैले उल्लंघन गरे कारबाही गरिने बताउँछन् । तर, नेता र सुरक्षा निकायमा पहुँच भएकाहरू भने बिनाअवरोध एक जिल्लाबाट अर्को जिल्ला गरिरहेका छन् । 

 

नेता तथा पहुँचवालाकै कारण कोरोना नियन्त्रणमा सकस भइरहेको भन्दै सडक गस्तीमा बसेका सुरक्षाकर्मी भने चिन्तासँगै आक्रोशमा छन् ।