close

कोरोना संक्रमितलाई वालिङकाे निःशुल्क खाना

चापाकोटमा स्वास्थ्यबाहेकका सबै सेवा बन्द

कोरोना संक्रमितलाई वालिङकाे निःशुल्क खाना

चापाकोटमा स्वास्थ्यबाहेकका सबै सेवा बन्द

Trulli
ADVERTISEMENT

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिकाले बिरामीलाई निःशुल्क भोजन व्यवस्था गरेको छ । नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमितलाई निःशुल्क भोजन व्यवस्था मिलाएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए ।

 

‘महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड-१९ संक्रमण दर वालिङमा पनि उच्च छ’, उनले भने, ‘संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी भएको छ । यसले गर्दा होटल तथा पसल नखुल्दा खानाका लागि समस्या नहोस् भनेर अस्पतालकै क्यान्टिनमा निःशुल्क खानाको व्यवस्था मिलाएका हौँ ।’ नगरपालिकाको सहयोगमा अस्पतालकै क्यान्टिनबाट निःशुल्क खाना उपलब्ध गराइएको उनको भनाइ छ ।

 

‘नजिकै घर भएकालाई समस्या नहोला । घर टाढा भएका र यहाँ आफन्तजन पनि नभएकाहरूका लागि खाजा तथा खाना व्यवस्थापनमा समस्या हुने देखेर सहजताका लागि खाना उपलब्ध गराइएको हो,’ खाँणले भने ।

 

नगरपालिकाले तयार पारेको अक्सिजनसहितको ३५ शय्याको सुविधासम्पन्न आइसोलेसनमा उपचाररत सबै बिरामीलाई दैनिक खाना खुवाउने गरिएको अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिए । नगरपालिकाको सहयोगमा दैनिक ४ पटक अस्पतालको क्यान्टिनबाट स्वस्थकर खाजा तथा खानाको व्यवस्थापन गरिएको छ ।

 

‘अस्पतालको आइसोलेसन कक्षमा भर्ना भई बसेका कोरोना संक्रमितलाई बिहान ८ बजेभित्र खाजा, ११ बजेभित्र खाना, दिउँसो ३ बजेभित्र खाजा र बेलुकी ८ बजेभित्र खाना उपलब्ध गराउँछौँ’, सूचना अधिकारी भट्टराईले भने, 


‘अस्पतालबाटै निःशुल्क खाना उपलब्ध गराउँदा बिरामी तथा आफन्तलाई सहज भएको छ । सबैले एकै समय खाना खाएपछि सबैलाई समयमै औषधी खुवाउन सहज भएको छ ।’ नगरपालिकाले आइसोलेसनका लागि सहयोग गर्न इच्छुकलाई आह्वानसहित बेहोराको सूचना जारी गरेसँगै विभिन्न दाता, संघ– संस्था तथा व्यक्तिबाट सहयोग जुटिरहेको छ ।

 

दाताहरूबाट अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, शय्याहरू, आर्थिक सहयोग, औषधी खरिद तथा उपचारका लागि प्रयोग हुने उपकरण सहयोग प्राप्त भइरहेको छ । त्यसैगरी अस्पतालमा उपचाररत बिरामी तथा कुरुवाका लागि भोजन व्यवस्थापन गर्न पनि दाताहरूले नगरपालिकामार्फत सहयोग गर्ने क्रम बढ्दो छ ।

 

चापाकोटमा स्वास्थ्यबाहेकका सेवा बन्द

 

स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शनिबारदेखि स्वास्थ्यबाहेकका सबै सेवा ५ दिनका लागि बन्द गरिएको छ ।

 

चापाकोट नगरपालिका प्रमुख शिवकुमार गिरीले जारी गरेको विज्ञप्तिमा नगरभित्रका सबै वडाहरूमा संक्रमणको उच्च जोखिम देखिएकाले नगरपालिका कार्यालयअन्तर्गतका वडा कार्यालयलगायत सम्पूर्ण बंैक तथा वित्तीय संस्था, सरकारी, गैरसरकारी, संस्थाहरू, शिक्षण संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण सेवा बन्द गर्न निर्णय गरिएको बताइएको छ ।

 

कोरोना संक्रमणबाट चापाकोट नगरपालिका वडा नम्बर २ का ६० वर्षीय पुरुषको मृत्यु भएको र संक्रमितको संख्या पनि बढ्दै गएपछि शनिबार बसेको नगर कार्यपालिकाको कार्यालय चापाकोटको स्थानीय विपद् व्यवस्थापन समिति बैठकले स्वास्थ्यबाहेकका सबै सेवा ११ जेठसम्म बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकामा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२० पुगेको छ ।