close

कोरोना नियन्त्रणमा तानसेनलाई स्काउटको साथ (भिडियो खबर)

कोरोना नियन्त्रणमा तानसेनलाई स्काउटको साथ (भिडियो खबर)

ADVERTISEMENT

पाल्पा- नेपालमा स्काउट सन् १९५२ मा स्थापना भएको हो । यो हालसम्म निरन्तर रूपमा देशका ७७ वटै जिल्लामा क्रियाशील छ । अनुशासन, साहस एवं सहयोगलाई मूल मन्त्र मानेर अघि बढ्ने स्काउटले १४ वर्षदेखि माथिका मानिसलाई समेट्ने गरेको छ । स्काउटको मिसन अनुसार नेपालमा युवाहरूलाई जिम्मेवार नागरिक बनाउने अभियान चलाइएको छ ।

 

अहिले संघीय संरचनामा मुलुक गएसँगै स्काउटले पनि आफूलाई ७ सय ५३ स्थानीय तहमा रुपान्तरण गरेको छ । जसले यो महामारीमा स्थानीय सरकारलाई सहयोग गरिरहेका छन् । पाल्पाको तानसेन नगरपालिकामा हिजोआज निःशुल्क मास्क वितरण कुनै राजनीतिक दल, त्यसको भातृ संगठन वा अन्य कुनै संघसंस्थाले गरेका होइन । यो काम त पाल्पा स्काउटले गरेको हो  ।

 

पाल्पामा कुनै समय ‘एक विद्यालय,एक स्काउटर’ मार्फत सबै विद्यालयमा स्काउट गठन भएको थियो । पछिल्लो समय राजनीतिक अस्थिरतापछि निष्कृय रहेको स्काउट पुनः पाल्पामा सक्रिय भएको छ । अहिले बसपार्कमा तानसेन नगरपालिका र स्काउट लुम्बिनी प्रदेशको सहकार्यमा कोभिड हेल्प डेस्क स्थापना गरिएको छ ।

 

अझै पनि मास्क नलगाई हिँड्ने सेवाप्रदायक र उपभोक्तालाई मध्यनजर गरेर ज्वरो, श्वास प्रश्वास जाँच, कोभिड सचेतना सहित भिडभाड हुने ठाउँमा पुगेर निशुल्क मास्क, सेनिटाइजर लगायतको स्वास्थ्य सामग्री वितरण गर्ने गरिएको छ । प्रत्येक दिन बिहान ७ देखि ११ बजे सम्म सञ्चालन गरिने डेल्प डेस्कलाई बलियो बनाउन नगरपालिका, सेनाको गोरखदल गण, एनसिसि क्याडेट, सामुदायिक प्रहरी बसपार्क लगायतले साथ दिइरहेका छन् । 


मुलुक संघीय संरचनामा गएपछि स्काउट अहिले स्थानीय तहमा निकै सक्रिय भएको देखिन्छ । स्थानीय सरकारको बलियो सारथि बन्ने ध्येयका साथ तानसेन नगर सरकारको सहयोगमा तानसेनमा स्काउटले आफ्नो कार्यक्रमलाई थप चलायमान बनाएको छ । स्काउटले सुरु गरेको क्याम्पलाई उद्घाटन गर्दे तानसेन नगरका नगरप्रमुख अशोक कुमार शाहीले बालबालिका तथा युवा वर्गको क्षमता विकास, दैविक प्रकोप उद्दार तथा सहायता गर्न कार्यक्रम सहयोगी हुने दावी गरे । 


कोभिड नियन्त्रण गर्न पाल्पा स्काउटले सुरु गरेको अभियानप्रति नागरिक पनि दंग छन् । विद्यालयमा रहँदा पहिले स्काउट भएर आफ्नो भूमिका निर्वाह गरेका पुराना स्काउट आवद्ध व्यक्ति विशेषले स्काउटको यस गतिविधिप्रति हौसला प्रदान गरिरहेका छन् ।  पाल्पा स्काउटले सेनाको गोरखदल गण पाल्पाको सहयोगमा युवालाई कोभिड शव व्यवस्थापन तालिम, विपद् प्रतिकार्य तालिम, किशोरी लक्षित आत्मरक्षा तालिम लगायतका कार्यक्रम सञ्चालनको तयारी गरेको छ । 

 

देश संघीयतामा गएसँगै स्काउटले पनि आफ्नो संरचनालाई संघीयता अनुसार ढाल्ने प्रयास नगरेको होइन । तर, स्काउटको स्पष्ट कार्यविधि पूर्ण नहुँदा केही ढिलाई हुन गएको स्काउटले जनाएको छ । तर, अब स्थानीय सरकारसँग हातेमालो गर्दै अघि बढीरहँदा स्काउटले स्थानीय स्तरमा केही परिवर्तन गर्ने अपेक्षा गरिएको छ । आफ्नो अस्तित्व मात्र नभई स्काउटले देशभर नेतृत्वदायी भूमिका देखाउन भने चुनौती छ ।