close

देशभरका ४० पालिकाले रुचाएनन् केन्द्रले जुराएको नाम

४ वर्षमा १०२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन 

देशभरका ४० पालिकाले रुचाएनन् केन्द्रले जुराएको नाम

४ वर्षमा १०२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन 

Trulli
ADVERTISEMENT

काठमाडौं– स्थानीय तह कार्यान्वयनमा आएको ४ वर्षको अवधिमा १९ वटा पालिकाले संघीय सरकारले तय गरिदिएको नाम परिवर्तन गरेका छन् । नाम र केन्द्र दुवै परिवर्तन गर्ने पालिकाको संख्या २१ छ । 


पालिकाको नाम र कार्यालय रहेको स्थान परिवर्तनका लागि सम्बन्धित पालिकाको सभाले पारित गरेर प्रदेश हुँदै केन्द्र सरकारमा पठाउनुपर्ने र केन्द्रले अनुमति दिएर राजपत्रमा प्रकाशन भएपछि नाम र केन्द्र औपचारिक रुपमा परिवर्तन हुने कानुनी व्यवस्था छ । 


संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म १९ स्थानीय तहको नाम परिवर्तन भएको छ भने ६२ वटा स्थानीय तहका केन्द्र परिवर्तन भएको छ । केन्द्र परिवर्तन भएको तथ्यांक भने वडाको केन्द्रसमेत हो । 

 

प्रदेश १ का सबैभन्दा बढी पालिकाले नाम परिवर्तन गरेका छन् भने प्रदेश २ का सबैभन्दा कमले परिवर्तनको पहल गरी निर्णय भएको छ ।  देश १ का ८ वटा पालिकाले नाम मात्र परिवर्तन गर्दा प्रदेश २ को एउटा मात्र पालिकाले नाम परिवर्तन गरेको छ । सुदूरपश्चिम प्रदेशका ३ पालिकाको नाम परिवर्तन भएको छ । 


गण्डकी प्रदेशले ६ वटाको नाम परिवर्तन गर्दा कर्णालीको एउटा मात्र पालिकाको नाम परिवर्तन भएको छ । 


नाम र केन्द्र दुवै परिवर्तन गर्नेमा भने प्रदेश १, लुम्बिनी र बागमती अग्रपंक्तिमा छन् । उनीहरूले चार/चार वटा पालिकाको नाम र केन्द्र दुवै परिवर्तन गर्दा गण्डकी र कर्णालीले तीन/तीन तथा सुदूरपश्चिमले दुई र प्रदेश दुईले एउटा पालिकाको नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् । 


क–कसले परिवर्तन गरे पालिकाको नाम 


कालीकोटको कालिका गाउँपालिका शुभकालिका गाउँपालिका भएको छ । सल्यानको ढोरचौर गाउँपालिका सिद्ध कुमाख गाउँपालिका भएको छ भने कुमाखमालिका गाउँपालिका कुमाख गाउँपालिका भएको छ । यी दुवै पालिकाले नाम र केन्द्र दुवै परिवर्तन गरेका हुन् । 


जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाले नलगाड नगरपालिका बनाएको छ भने केन्द्र पनि परिर्वतन गरेको छ ।  मुस्ताङको दोलामे गाउँपालिकाले नाम परिवर्तन गरेर लो–घेकर दामोदरकुण्ड गाउँपालिका बनाएको छ । 


मनाङको नारफु गाउँपालिकाले नार्पा भूमि गाउँपालिका नाम बनाउने क्रममा केन्द्रसमेत परिर्वतन गरेको छ । मनाङकै नासोङ र नेस्याङ गाउँपालिकाले पनि नाम परिवर्तन गरेर क्रमशः नासोँ र मनाङ ङिस्याङ गाउँपालिका बनाएका छन् । मनाङ ङिस्याङले केन्द्रसमेत परिवर्तन गरेको छ ।


कास्कीको पोखरा लेखनाथ महानगरपालिकाले पनि नाम परिवर्तन गरेर पोखरा महानगरपालिका बनाएको छ भने बर्दघाट सूस्तापूर्वको बुङदीकाली गाउँपालिकाले नाम फेरेर बौदीकाली गाउँपालिका बनाएको छ । 


गोरखाको भीमसेन गाउँपालिकाले भिमसेन थापा गाउँपालिका बनाउँदा मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाले नाम फेरेर वारागुङ मुक्तिक्षेत्र गाउँपालिका बनाएको छ ।  गोरखाको सुलिकोट गाउँपालिकाले नाम फेरेर वारपार सुलिकोट बनाउँदा धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाले सहिदभूमि गाउँपालिका नामकरण गरेको छ । 


भोजपुरको ट्याक्केमैयुमले नाम फेरेर टेम्केमैयुम गाउँपालिका बनाएको छ भने खोटाङको दिप्रुङ गाउँपालिकाले दिप्रुङ चुइचुम्चा नामकरण गरेको छ ।  सोलुखुम्बुको दूधकोशी गाउँपालिकाले नाम फेरेर माप्य दूधकोशी गाउँपालिका बनाउँदा सोलुखुम्बुकै दूधकौशिका गाउँपालिकाले थुलुङ दूधकोशी गाउँपालिका नामकरण गरेको छ । 

 

सुनसरीको बराह नगरपालिकाले बराहक्षेत्र नगरपालिकामा नाम परिवर्तन गरेको छ भने सुनसरीकै भोक्राहा गाउँपालिकाले भोक्राहा नरसिंह गाउँपालिका नाम जुराएको छ । 


ताप्लेजुङको याङबरक गाउँपालिकाले पाथिभरा याङबरक नाम जुराउँदा खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेल रुपाकोट मझुवागढी नाम राखेको हो । खोटाङकै लामिडाँडा गाउँपालिकाले पनि नाम फेरेर रावाबेँसी गाउँपालिका बनाएको छ । 


उदयपुरको सुनकोशी गाउँपालिकाले नाम फेरेर लिम्चुङबुङ गाउँपालिका बनाउँदा सुनसरीको अर्को पालिका हरिनगरा गाउँपालिकाले हरिनगर नाम राखेको छ । यसैगरी प्रदेश २ को सदरमुकामसमेत रहेको धनुषाको जनकपुर उपमहानगरपालिकाले जनकपुरधाम उपमहानगरपालिका नाम जुराएको छ । 


उता, सप्तरीको बेल्ही चपेना गाउँपालिकाले राजगढ गाउँपालिका नामकरण गरेको छ भने धादिङको नेत्रावती गाउँपालिकाले नेत्रावती डवजोङ गाउँपालिकाका रुपमा आफूलाई रुपान्तरण गरेको छ । 
रसुवाको पार्वतीकुण्ड गाउँपालिकाले पनि नाम फेरेर आमाछोदिङमो गाउँपालिका बनाएको छ भने नुवाकोटको मेघाङ गाउँपालिकाले म्यगङ गाउँपालिकाका रुपमा आफूलाई चिनाएको छ । 


रामेछापको लिखु गाउँपालिकाले नाम फेरेर लिखु तामाकोशी गाउँपालिका बनाउँदा रोल्पाको दुईखोली गाउँपालिकाले परिवर्तन गाउँपालिका नामकरण गरेको छ ।  प्रदेश ५ को गुल्मीमा रहेको रुरु गाउँपालिकाले रुरुक्षेत्र गाउँपालिका नाम तय गर्दा रोल्पाकै सुवर्णावती गाउँपालिकाले सुनिल स्मृति गाउँपालिका नाम जुराएको छ । 


बझाङको काँडा गाउँपालिकाले साइपाल नामकरण गरेपछि बाजुराको छेडेदह गाउँपालिकाले पनि खप्तड छेडेदह गाउँपालिकाका रुपमा आफूलाई चिनाउन थालेको छ ।  बाजुराकै अर्को गाउँपालिका पाण्डवगुफाले नाम फेरेर जगन्नाथ गाउँपालिका बनाएको छ भने डोटीको बोगाटन गाउँपालिकाले बोगाटन फुङसिल गाउँपालिका नाम जुराएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकाले स्वामीकार्तिक खापर गाउँपालिका बनाएको छ । 


ङको गजबको संयोग 


नेपाली बोलीचालीको भाषामा सामान्यतया ङ अक्षरको उच्चारण कम गरिन्छ । तर, स्थानीय तहहरूको नाममा भने अस्वाभाविक रुपमा ङ शब्दको प्रयोग भएको पाइन्छ । कम्तीमा ५० स्थानीय तहको नामकरणमा ङ अक्षर प्रयोग भएको छ ।