close

उदाहरणीय बन्दै सिरिजंगाका टोल विकास संस्था

सम्झौता अनुसारको काम सम्पन्न भएपछि बचत भएको रकम पालिकालाई नै फिर्ता 

उदाहरणीय बन्दै सिरिजंगाका टोल विकास संस्था

सम्झौता अनुसारको काम सम्पन्न भएपछि बचत भएको रकम पालिकालाई नै फिर्ता 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंगा गाउँपालिकाका टोल विकास संस्थाहरु आर्थिक मामिलामा अनुशासित, मितव्ययी र इमान्दार देखिन थालेका छन् । उपभोक्ता समितिकै रुपमा काम गर्ने वैधानिक जिम्मेवारी पाएका टोल विकास संस्थाले सम्झौता अनुसारको काम सम्पन्न गरी बचत भएको रकम अनुदान लिएको निकायलाई नै फिर्तासमेत गरेर आफूलाई अनुशासित, मितव्ययी र इमान्दार पुष्टी गरेका हुन् ।


सिरिजंगा गाउँपालिका वडा नम्बर १ मा रहेको पाथीभरा टोल विकास संस्थाले सम्झौता अनुसारको कार्य सम्पन्न गरी बचत भएको १ लाख रुपैयाँ गाउँपालिकालाई फिर्ता गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार यो टोल विकास संस्थालाई बाँसको मुढा उत्पादन तालिम कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले २ लाख २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । सो अनुदान रकमबाट १५ जना स्थानीयले २० दिनसम्म मुढा उत्पादन तालिम लिएका थिए । 

 

सम्झौता अनुसारको तालिम सम्पन्न हुँदा १ लाख २५ हजार रुपैयाँ मात्र खर्च भएपछि बचत भएको १ लाख रुपैयाँ टोल विकास संस्थाले गाउँपालिकालाई नै फिर्ता गरेकाे प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए । टोल विकास संस्थाका अध्यक्ष हरि उप्रेतीले तालिम सञ्चालनको क्रममा सम्झौता अनुसारको पुरै रकम खर्च नभएकोले बचेको रकम आफूहरुले पालिकालाई नै फिर्ता गरेको जानकारी दिए । 


तालिमका क्रममा ३० थान मुढा उत्पादन भएको थियो । यहिँ उत्पादन मध्ये टोल विकास संस्थाले ५ थान मुढा उपहार स्वरुप पालिकालाई दिएको छ । 


अधिकांस क्षेत्रमा उपभोक्ता समितिले सम्झौता भएको रकम बराबर नै खर्च भएको वा कुनै स्थानमा रकम अपुग भएको आर्थिक विवरण अनुदान लिने निकायमा पेश गर्छन् । तर उपभोक्ता समितिकै रुपमा काम गरेको सिरिजंगा वडा नम्बर १ सिनामको पाथीभरा टोल विकास संस्थाले भने सम्झौता अनुसारको काम सम्पन्न गरी बचत भएको रकम अनुदान लिएको निकाय गाउँपालिकालाई नै फिर्ता गरेर उदाहरणीय बनेको छ ।