close

चामल बिक्रीमा अनियमितता प्रकरण: छानबिनका लागि हुम्ला आउँदै काठमाडौंको टोली

चामल बिक्रीमा अनियमितता प्रकरण: छानबिनका लागि हुम्ला आउँदै काठमाडौंको टोली

Trulli
ADVERTISEMENT

हुम्ला- कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञामा हुम्लीलाई चामलमा सरकारले दिएको छुटमा खाद्यान्न खरिद गर्न नपाएको सेवाग्राहीबाट गुनासो आएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यथार्थ बुझ्न काठमाडौं केन्द्रीय कार्यालयबाट हुम्लामा टोली आउने भएको छ ।


निषेधाज्ञा अवधिमा सरकारले नागरिकलाई खाद्य सामग्रीमा २० प्रतिशत छुट दिएको थियो । तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखा कार्यालय प्रमुख निर्मल थापा र सुब्बा भरत अधिकारीले छुट दिएको नक्कली विवरण खडा गरी करिब १० लाख रुपैयाँ अनियमितता गरेको सार्वजनिक भएको छ । 

 

निषेधाज्ञा जारी रहेका बेला सरकारबाट २० प्रतिशत छुटमा खाद्यान्न बिक्री गर्दा सर्वसाधारणबाट उक्त छुट नपाएको गुनासो पाएपछि काठमाडौंबाट दुई सदस्यीय छानबिन टोली छुटको चामल नागरिकले पाए÷नपाएको यथार्थ अध्ययन र छानबिन गर्न आइतबार हुम्ला आउन लागेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

 

सरकारले दिएको छुटलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २० जेठमा शाखालाई कार्यान्वयन गर्न पत्राचार गरेको थियो । असार अन्तिम साता शाखाले खाद्यान्न बिक्री गरेको थियो । तर, सर्वसाधारणले २० प्रतिशत छुटमा खाद्यान्न नपाएको गुनासो गरेपछि प्रजिअ आचार्यले छानबिनका लागि केन्द्रसँग आग्रह गरेका थिए । सोहीअनुसार टोली हुम्ला आएर छानबिन गर्न लागेको उनले जानकारी दिए ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीले ३० केजीको अरुवा मोटा चामल १७ सय ४० रुपैयाँमा बिक्री गरे पनि रेकर्डमा भने १३ सय ९२ रुपैयाँ उल्लेख गरेको पाइएको छ । तर, प्रतिबोरा ३ सय ४८ रुपैयाँका दरमा ९ सय १७ क्विन्टल चामलबाट झन्डै साढे १० लाख रुपैयाँ अनियमिमता भएको छ ।


कागजमा सीमकोट गाउँपालिकाका ३ हजार ५८ घरधुरीलाई चामल प्रतिबोरा १३ सय सय ९२ रुपैयाँमा बिक्री गरिएको रेकर्ड राखिए पनि स्थानीयले १७ सय ४० रुपैयाँ नै तिरेको बताएका छन् ।

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाका बेला सर्वसाधारणलाई दिएको छुटका लागि शाखाले छुट पाएर खाद्यान्न खरिद गर्ने घरधुरीबाट पहिचान खुल्ने कागजात र सम्पर्क नम्बर लिन पत्राचार गरे पनि शाखाबाट त्यसो गरिएको छैन ।

 

यसरी छुटको खाद्यान्न पाउने शाखामा घरधुरी संख्या ३ हजार ५८ छ । शाखा प्रमुख निर्मल थापाले ९१६ दशमलव ४० क्विन्टल खाद्यान्न छुटको मूल्य लिएर बिक्री गरिएको बताए । वडा र गाउँपालिकाले नै सिफारिस गरेको घरधुरी शाखामा रहेका कारण त्यसैलाई आधार मानिएको उनको दाबी छ ।