close

बजेट र विधयेक पारित गर्न सिदिङ्वाले बोलायो गाउँसभा

बजेट र विधयेक पारित गर्न सिदिङ्वाले बोलायो गाउँसभा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- २६ साउनमा प्रस्तुत गाउँपालिकाको नीति, कार्यक्रम र बजेट पारित गर्न ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले २ भदौमा गाउँसभा बैठक आह्वान गरेको छ ।  प्रमुख प्रशासकीय अधिकृत सुनम लिङ्देन लिम्बूले बुधबार २ भदौ बिहान १० बजेका लागि बैठक आह्वान भएको जानकारी दिए ।


गाउँसभा बैठकले चालू आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत नीति, कार्यक्रम र बजेट तथा विभिन्न कानुनका विधयेक पारित गर्ने कार्यसूची तय गरिएको छ । 


संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हरेक वर्षको १० असारभित्र आगामी आवका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने हुन्छ । पालिका अध्यक्ष नरबहादुर कडरियालाई कोरोना संक्रमण भएपछि १० असारमा बजेट ल्याउन नसकेको सिदिङ्वाले ३० असारमा बजेट ल्याउने गरी गाउँसभाको सातौँ अधिवेशन आह्वान गरेको थियो ।


त्यसको केही दिनपछि नै गाउँपालिकाका प्रत्येक वडामा कोरोना संक्रमित थपिएपछि पालिकाले सो बेलाको सभा पनि स्थगित गरी २५ साउनका लागि आह्वान गरेको थियो । ५ साउन अपराह्न २ बजेका लागि आह्वान भएको बजेट अधिवेशनसहितको गाउँसभाअघि पालिकाको प्रशासनिक भवन बनाउने र बजेट विनियोजन गर्ने विषयमा विवाद भएपछि बजेट २६ साउनमा प्रस्तुत भएको थियो ।


ताप्लेजुङका ९ स्थानीय तहमध्ये सिरिजंगाले ३ असारमा, मेरिङ्देनले ९ असारमा र फुङ्लिङ नगरपालिकासहित फक्ताङ्लुङ, मिक्वाखोला, आठराई त्रिवेणी, पाथीभरा याङ्बरक र मैवाखोला गाउँपालिकाले १० असारमै चालू आवका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन् ।