close

ताप्लेजुङ कारागारमा कैदी बन्दीको कोचाकोच

ताप्लेजुङ कारागारमा कैदी बन्दीको कोचाकोच

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- विसं. १९९२ मा ताप्लेजुङ कारागार निर्माण गर्दा उतिबेलाको प्रशासनलाई यो कारागारमा २५ बढी कैदी बन्दी नहुने अनुमान थियो । करिब शताब्दीअघिको सोच र सोही आधारमा बनाइएका संरचना २०७८सम्म आइपुग्दा धेरै साँघुरा र कमजोर बने पनि अर्को विकल्प नहुँदा यहाँका कैदी बन्दीलाई कोचाकोच गरेर राख्नुपर्ने अवस्था छ । 


अहिले कारागारमा १ सय ४९ कैदी बन्दी छन् । कारागार शाखाका प्रमुख कुलेन्द्र खवासका अनुसार कारागारमा १ सय ७ कैदी र ४२ थुनुवा गरी १ सय ४९ जना छन् ।  यो क्षमताभन्दा करिब ६ गुणा बढी हो । ३ रोपनी क्षेत्रफलमा फैलिएको कारागारभित्र सानाठूला गरी ८ वटा घर छन् । कोठाको अवस्था हेरी एउटामा ३५ जना सम्मलाई राखिएको खवासले जानकारी दिए ।


सबैभन्दा सानो कोठामा पनि कम्तीमा १५ जनासम्म राखिएको छ । जग्गाको कुल क्षेत्रफलभरिमा खेल मैदान, शौचालय, आवास कक्ष, भोजनालयदेखि कैदी बन्दीले चलाउने ढाकातानसहितका सबै संरचना अटाउनुपरेको छ ।


कारागार सुरक्षा प्रशासन बस्ने कक्षसमेत यहीँ क्षेत्रफलभित्रको संरचना हो । कारागार शाखाका प्रमुख खवास अर्को विकल्प नहुँदा पुरानो र जीर्ण बनेको शताब्दी पुरानो संरचनालाई टालटुल र मर्मतसम्भारसहित सञ्चालन गरिरहेको बताउँछन् ।


कैदी बन्दीका लागि छुट्याएका ८ वटा कोठामा भित्र ४ र बाहिर ३ गरी ७ वटा शौचालय छन् । बजारको बीच भागमा रहेको कारागारमा संख्या अत्यधिक बढी भएकाले सेफ्टी ट्यांकी र ढल निकासको अर्को जोखिम आइलाग्न थालेको खवासले बताए । 

 

बीच बजारमा रहेको कारागारको सेफ्टी ट्यांकी सफाइ गर्नसमेत नमिल्ने अवस्थाको रहेको उनले सुनाए । कैदी बन्दी घट्नेभन्दा थपिने बढी भएपछि पुरानो संरचनामा थपथाप गर्दै कैदी बन्दीलाई व्यवस्थापन गर्नु कारागार प्रशासनको नियति बन्दै छ ।

 

‘जे छ त्यसलाई सकेसम्म सुधार गरेर आवश्यकता टार्नुबाहेक अर्को विकल्पै छैन’, कारागार शाखा प्रमुख खवासले भने । कारागारमा अहिले ७३ वर्षसम्मका वृद्ध पनि छन् ।


सिरिजंगा गाउँपालिकाका उनी केही समयअघि मात्र पुर्पक्षका लागि कारागार चलान भएका हुन् । संख्या धेरै भएको र प्रत्येक दिन कैदी बन्दीमा विभिन्न स्वास्थ्य समस्या आइरहने गरेकाले व्यवस्थापनमा समेत कारागार प्रशासनलाई समस्या आइरहन्छ । 


बस्ने क्षेत्र साँघुरो भएकाले कैदी बन्दीको बसाइ कोचाकोच अवस्थाकै रहेको खवासले जानकारी दिए । एकाध पूर्वाधार थपिनुबाहेक भित्रको संरचना पुरानै रहेको अवस्थामा मर्मतसम्भार गरेर झन्डै शताब्दी पुरानो कारागारले धानिरहेको छ । 


अवस्था हेर्दा यो भवनले कहिलेसम्म साथ दिन्छ ? त्यो पनि भन्न सकिने अवस्था छैन । जिल्ला कारागारका नाममा फुङ्लिङ नगरपालिका वडा नम्बर ४ (शिक्षा विकास तथा समन्वय इकाइ आसपास) मा ७ रोपनी जग्गा छ । तर, भवन बन्ने निश्चित छैन । 


प्रायः नेपालका कारागारभित्र क्षमताभन्दा बढी कैदी बन्दी हुनु सामान्य भए पनि जीर्ण र पुरानो भवन, साँघुरो क्षेत्र र क्षमताका आधारमा ज्यादै कम क्षमताको संरचनाले ताप्लेजुङका कैदी बन्दीले सास्ती खेप्नु परिरहेको छ ।