close

सेनाले बनायो पालिकाको खानेपानी आयोजना 

सेनाले बनायो पालिकाको खानेपानी आयोजना 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- नेपाली सेनाले मानेभन्ज्याङ गाउँपालिकाको खानेपानी आयोजना निर्माण गरेर हस्तान्तरण गरेको छ । मानेभन्ज्याङ गाउँपालिका केन्द्रमा वितरण गरिने खानेपानी आयोजनाको मुहान मर्मत तथा ट्यांकी निर्माण गरेर सदमुकाम ओखलढुंगास्थित अरिदमन गणले मुहान व्यवस्थापन गरेको हो । 


मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ४ परंगासमा रहेको मुहान व्यवस्थापन र ट्यांकी निर्माण गरी गत शुक्रबार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो । 


सेनाले मानेभन्ज्याङमा विभिन्न समय तालिम सञ्चालन गर्ने क्रममा पिउने पानी अभाव भोगेको थियो । सोही समस्याको समाधानका लागि अरिदमन गणले सेनाको जंगी अड्डामा पत्राचार गरेको थियो । 


सेनाको जनहित कार्यक्रमअन्तर्गत गाउँपालिकासँगको समन्वय अरिदमन गणले दुई महिना अवधि लगाएर ट्यांकीसँगै मुहान व्यवस्थापनको काम सम्पन्न गरेको अरिदमन गणका प्रमुख सेनानी विशाल सिंहले जानकारी दिए ।


उनका अनुसार गणले मानेभन्ज्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामजी राईलाई काम सम्पन्नपछि औपचारिक रूपमा हस्तान्तरण गरेको छ । 


मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष मोतीराज राईले अरिदमन गणको सहयोगको प्रशंसा गरे । मानेभन्ज्याङमा भएको पानी अभावलाई सेनाले आफ्नै समस्या सम्झेर गरेको सहयोग अतुलनीय रहेको उनको भनाइ छ ।


गाउँपालिकाले अरिदमन गणलाई कदर–पत्रसमेत प्रदान गरेको छ । मुहानभन्दा तलको भागमा पानी चुहावट भएको अनुमान छ । पानीको चुहावट रोकेर मर्मत गर्न सके हालको अभावलाई केही टेवा पुग्ने आशा गरिएको छ ।


२०५४ देखि सञ्चालित परंगासको रातोपानी मुहानमार्फत मानेभन्ज्याङका २ सय ८० घरधुरीले पानी पिउँदै आएका थिए ।


मानेभन्ज्याङको अधिकांश भेग पिउने पानीको मुहान अभाव कारण गाउँपालिकाले मोलुङ खोलाको पानी लिफ्टिङ गरी वितरण गर्न ठेक्का लगाए पनि काम हुन सकेको छैन ।