close

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी 

सामूहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी 

Trulli
ADVERTISEMENT

जुम्ला– १८ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा चन्दननाथ नगरपालिका वडा नम्बर ९ तलिउमका २० वर्षीय विशाल सार्की र कमल सार्कीविरुद्ध पीडितले १० भदौमा जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका छन् ।


आरोेपितले बलात्कार गर्नुपूर्व पीडित किशोरीको मोबाइल खोसेको उजुरीमा उल्लेख छ । तातोपानी गाउँपालिका वडा नम्बर १ वाइराँका गाउँको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी किशोरीलाई ७ भदौमा सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख रहेको डिएसपी दानबहादुर थापाले बताए । 


४५ वर्षीया सुस्तमनस्थिति भएकी महिलालाई तिला गाउँपालिका वडा नम्बर ८ का २८ वर्षीय जीवन रावतविरुद्ध पनि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको डिएसपी थापाले जानकारी दिए ।


उनले भने, ‘भैँसीलाई घाँस हाल्न भनेर हिँडिरहेकी पीडित महिलालाई ८ भदौमा डरत्रास देखाएर बलात्कार गरेको खुल्न आएको छ । दुई बलात्कार घटनाका तीन आरोपितलाई प्रहरीले ९ भदौमा उनीहरूकै घरबाट पक्राउ गरी १० भदौमा जिल्ला अदालत जुम्लामा पाँच दिने म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पीडितको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १० भदौमा स्वास्थ्य परीक्षण गरिएको थियो ।