close

ताप्लेजुङमा हट्यो निषेधाज्ञा

ताप्लेजुङमा हट्यो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ–जिल्लाभर सक्रिय कोरोना संक्रमितको संख्या २ सयभन्दा कममा झरेको तथा दैनिक संक्रमित हुनेको दरमा कमी आउन थालेको आँकडाका आधारमा ताप्लेजुङ प्रशासनले बुधबारबाट लागू हुने गरी निषेधाज्ञा हटाएको छ ।

 

मंगलबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले संक्रमणमुक्त हुनेको दर बढेको तथा दैनिक संक्रमित दरमा कमी आएकाले तत्कालका लागि निषेधाज्ञा थप नगर्ने निर्णय भएको बताए ।

 

निषेधाज्ञा हटे पनि मास्क र स्यानिटाइजर प्रयोग, भौतिक दूरी कायमसहितका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भने अनिवार्य गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।

 

‘मास्क नलगाए र भौतिक दूरी कायम नगरिएको पाइए प्रारम्भिक रूपमा जनही १०० रुपैयाँका दरले जरिमाना र त्योभन्दा बढी भए संक्रामक रोग निवारण ऐनअनुसार कारबाही गर्नेछौँ,’ प्रजिअ पाण्डेले भने । मंगलबार अपराह्नसम्म ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १ सय ६७ मात्र छ । ताप्लेजुङमा गत २० वैशाखदेखि निषेधाज्ञा लागेको थियो ।

 

निषेधाज्ञा हटे पनि मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, एकै पटक बढीमा २५ भन्दा बढी भेला नहुन र बढीमा २५ जनाको संख्यामा भेला हुँदा पनि भौतिक दूरीसहितका स्वास्थ्य सुरक्षाका सबै उपायको अनिवार्य पालना गर्न प्रशासनले आग्रह गरेको छ । २५ भन्दा बढी उपस्थित हुने प्रकृतिका कुनै पनि गतिविधि तथा सभा–सम्मेलन गर्न तत्काल पाइने छैन ।

 

यसअघि साँझ ५ बजेपछि बन्द हुने फुङलिङका बजार पसल बुधबारबाट साविकझैं अनुकूल समयसम्म सञ्चालन हुन पाउनेछन् । होटल तथा रेस्टुराँ भने यसअघि नै बेलुकी ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने व्यवस्था थियो ।

 

बैठकले शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ अनुसारका मापदण्ड तथा प्रक्रिया पूरा गरी कुल कक्षा संख्या वा विद्यार्थीको एक तिहाइ संख्याको उपस्थितिमा आलोपालो वा सिफ्ट गराई कक्षा सञ्चालन गर्न सक्ने निर्णयसमेत गरेको छ । 

 

जोखिम मूल्यांकनका आधारमा कुनै पनि पालिकाले कुनै गाउँ÷टोल÷वडा वा पूरै पालिकाभर निषेधाज्ञा गर्नुपर्ने देखिए कार्यान्वयका लागि जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिसमक्ष सिफारिस गर्नुपर्नेछ ।


अन्तरआबद्धताको आधारमा छिमेकी जिल्लासँग समन्वय गरी स्मार्ट लकडाउन कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले गत असार मसान्तपछि कोभिड–१९ संक्रमण तथा व्यवस्थापनका लागि भएको एम्बुलेन्स भाडाबापतको २७ हजार, ब्लाङ्केटबापतको १९ हजार र काबेली हेल्थडेस्कमा खटिने जनशक्तिको खाना र खाजा खर्चबापतको ७४ हजार रुपैयाँलाई अनुमोदन गरेको छ । 

 

प्रजिअ पाण्डेका अनुसार कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिमा मिक्वाखोलाबाहेकका अरू ८ वटा स्थानीय तहबाट प्रतिपालिका २ लाखका दरले प्राप्त १६ लाख बजेटमध्ये १५ लाख ९६ हजार ४ सय ५ खर्च भई हाल कोषमा ३ हजार ५ सय ९५ रुपैयाँ मौज्दात छ ।