close

जिससको समीक्षा बैठकमा स्थानीय तहका प्रतिनिधि अनुपस्थित 

जिससको समीक्षा बैठकमा स्थानीय तहका प्रतिनिधि अनुपस्थित 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले स्थानीय तहहरूले जिल्ला समीक्षा बैठकलाई महत्त्व नदिएको बताएका छन् ।
बैठकमा जानैपर्दैन भन्ने मनसायले स्थानीय तहहरूले जिससको महत्त्व घटाएको गुनासो गरे ।


जिल्ला समन्वय समिति ताप्लेजुङले बिहीबारबाट सुरु गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा कार्यक्रममा अधिकांश स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्षको अनुपस्थिति देखेपछि समन्वय प्रमुख मादेनले वार्षिक समिक्षा बैठकको महत्त्वलाई कम नआँक्न स्थानीय तहलाई सुझाए ।

 

‘यो समीक्षा गर्ने साझा मञ्च भएकाले यही मञ्चबाट हामीले गत वर्षका कार्यक्रम र गतिविधिको समीक्षा र आगामी वर्षको कार्यक्रमका लागि मार्गदर्शन प्राप्त गर्नेछौँ,’ समन्वय समिति प्रमुख मादेनले भने ।


उनले कांग्रेसको जिल्ला अधिवेशनका कार्यक्रमका कारण पनि केही पालिकाका पदाधिकारी उपस्थित हुन कठिनाइ भए पनि उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली आउन सक्ने अवस्था रहेको बताए ।

 

‘केही कमजोरी हाम्रो पनि भयो, तर अधिवेशनको मितिमा भइरहने फेरबदलका कारण पनि यस्तो समस्या परेको हुन सक्छ,’ उनले भने । ताप्लेजुङमा १८ भदौमा कांग्रेसको वडागत अधिवेशन हुँदै छ । यहाँका ९ स्थानीय तहमध्ये सिरिजंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष क्रमशः टीकाराम गुरुङ र ज्ञानमाया चौहान, सिदिङ्वाका अध्यक्ष नरबहादुर कडरिया, आठराई त्रिवेणीका अध्यक्ष विश्वनाथ सिटौला र मेरिङ्देन गाउँपालिकामा अध्यक्षमा गणेशबहादुर लिम्बू कांग्रेसबाट निर्वाचित हुन् ।

 

यस्तै, मिक्वाखोला गाउँपालिका उपाध्यक्ष कांग्रेसकी रुद्रकुमारी साँवाले जितेकी थिइन् । वार्षिक समीक्षा बैठकको पहिलो दिन एमालेबाट जितेका सबै प्रमुख, अध्यक्ष, उपाध्यक्षसमेत बैठकमा देखिएनन् । 

 

अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको पाथीभरा याङ्बरक, फक्ताङ्लुङ र मैवाखोला गाउँपालिकामध्ये पाथीभरा याङ्बरकका पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ र आठराई त्रिवेणीका उपाध्यक्ष मञ्जु पौडेल भट्टराई मात्र सहभागी छन् ।

 

पाथीभरा याङ्बरक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी आफैं उपस्थित भएका छन् भने अरू पालिकाले प्रतिनिधि पठाएका छन् ।

 

समीक्षा बैठकमा फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ, उपाध्यक्ष फूलमाया लिम्बू, मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङ र उपाध्यक्ष कौशिला थत्लुङ, मिक्वाखोलाका अध्यक्ष रामकुमार सुब्बा र मेरिङ्देनका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे पनि सहभागी भएनन् । 

 

फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई समीक्षा बैठकमा सहभागी भए भने सिदिङ्वाका उपाध्यक्ष जीवन ताम्लिङ वार्षिक समीक्षा बैठकको पहिलो दिन देखिएनन् ।

 

भट्टराई र ताम्लिङ माओवादी केन्द्रबाट निर्वाचित हुन् । ताप्लेजुङमा बुधबारबाट अविरल वर्षा भइरहेको र कच्ची सडक आवागमनमा भइरहेकोे कठिनाइका कारण पनि समीक्षा बैठकमा सहभागी अपेक्षाकृत उपस्थित हुन कठिनाइ भएको हो ।


 
नागरिकको जीवनस्तर उठाउन कुनै सम्झौता  हुँदैन

 

प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले सरकार परिवर्तन संसदीय प्रणालीमा सामान्य कुरा भएको बताउँदै नागरिकको जीवनस्तर उठाउन कुनै सम्झौता नहुने बताएका छन् । 

 

जिल्ला समन्वय समितिले आयाजना गरेको वार्षिक समीक्षा बैठकलाई प्रमुख अथितिको रूपमा सम्बोधन गर्दै उनले भ्रष्टाचार गर्ने र भ्रष्टाचारीको संरक्षण गर्ने देश नेपाल भनेर आउने गरेको प्रतिवेदनले गिज्याउने गरेको सुनाए ।

 

‘अहिले अधिकांश मान्छेको मानसिकतामा कर्मचारी र जनप्रतिनिधिले आर्थिक अनुशासन कायम राख्न नसकेको आरोप लाग्ने गरेको छ,’ उनले भने, ‘यो आरोप हामीले आर्थिक अनुशासन, मितव्ययीता र सदाचारपूर्ण कामबाट खण्डन गर्नुपर्छ’ ।

 

वार्षिक समीक्षाले विगतका समस्या समाधान र आगामी यात्राको मार्गनिर्देश गर्ने भएकाले सकारात्मक कार्यको रूपमा लिनुपर्ने उनले बताए । कार्यक्रममा प्रदेशसभा सदस्य होमकुमारी साँवा, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलगायतले समीक्षा बैठक सफलताको शुभकामना दिए । जिल्ला समन्वय अधिकारी आत्मराम सत्यालका अनुसार वार्षिक समीक्षा बैठक शुक्रबारसम्म चल्नेछ ।