close

सरकारले तोक्यो मसान्तसम्म हातहतियार नवीकरणको म्याद

सरकारले तोक्यो मसान्तसम्म हातहतियार नवीकरणको म्याद

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले हातहतियार खरखजानाको इजाजतपत्र नवीकरण र नामसारीका लागि अन्तिम पटक आउँदो पुस मसान्तसम्मको समयसीमा दिएको छ ।हातहतियार खरखजाना नियमावली, २०२८ का केही प्रावधानलाई दसौँ संशोधन नियमावली, २०७८ मार्फत प्रतिस्थापन गरी राजपत्रमा सूचना प्रकाशित गरेर गृह मन्त्रालयले हातहतियार खरखजाना ऐन, २०२६ दिएको अधिकार प्रयोग गरेर इजाजतपत्रको नवीकरण र नामसारीका लागि समयावधि दिएको हो ।

 

संशोधित नियमावलीअनुसार हातहतियार खरखजाना इजाजतपत्रको नवीकरण गराउन नसकेका इजाजतपत्रवालाले नवीकरण हुन नसकेको मनासिव कारण खुलाई अन्तिम पटकका लागि पुस मसान्त २०७८ भित्र निवेदन दिए नवीकरण दस्तुरको अतिरिक्त प्रत्येक आर्थिक वर्षका लागि २ हजार ५ सय रुपैयाँ थप दस्तुर लिईं इजाजतपत्र नवीकरण हुनेछ ।

 

यस्तै, कुनै हातहतियार खरखजानाको नामसारी गराउन छुट भएको भए अन्तिम पटकका लागि पुस मसान्त २०७८ भित्र मनासिव कारण देखाई निवेदन दिए आर्थिक वर्षका लागि २ हजार ५ सय रुपैयाँ दस्तुर लिई नामसारी गरिनेछ ।

 

सरकारले राजपत्रमार्फत नै हातहतियार राख्ने इजाजतपत्र दस्तुर र नवीकरण दस्तुरसमेत बढाएको छ । अब पेस्तोल रिभल्वर वा मिनिएचर राइफलसहित अन्य राइफल प्रत्येकको नेपालभरको इजाजतपत्र दस्तुर ६ हजार र जिल्लाभरको ५ हजार रुपैयाँ कायम गरिएको छ । यो प्रकृतिका हातहतियार खरखजानाको नवीकरण दस्तुरबापत नेपालभरको भए ४ हजार र जिल्लाभरको भए ३ हजार रुपैयाँ लाग्नेछ ।

 

टोटावाला बन्दुक वा निमिएचर राइफल प्रत्येकको नेपालभरको इजाजतपत्र दस्तुर ५ हजार र जिल्लाभरको ४ हजार रुपैयाँ तथा नवीकरण दस्तुर नेपालभरको ३ हजार तथा जिल्लाभरको २ हजार कायम गरिएको छ । यस्तै, भरुवा बन्दुक प्रत्येकको नेपालभर तथा जिल्लाभरको इजाजतपत्र दस्तुर समान ३–३ हजार रुपैयाँ कायम गरिएको छ भने इजाजतपत्र नवीकरणका लागि नेपालभरको २ हजार र जिल्लाभरको १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

 

हावादारी बन्दुक प्रत्येकको नेपालभरको इजाजतपत्र दस्तुर २ हजार ५ सय र जिल्लाभरको २ हजार तथा इजाजतपत्र नवीकरण दस्तुर जिल्लाभरको १ हजार ५ सय र जिल्लाभरको १ हजार रुपैयाँ कायम गरिएको राजपत्रमा उल्लेख छ । हातहतियार खरखजाना उत्पादन गरी बिक्री गर्नेका लागि क्रमशः हतियारको इजाजतपत्र दस्तुर २५ हजार र नवीकरण दस्तुर १५ हजार तथा खरखजानाको इजाजतपत्र दस्तुर २० हजार र नवीकरण दस्तुर १५ हजार रुपैयाँ कायम गरिएको छ । हातहतियार र खरखजाना दुवैको इजाजतपत्र लिन ३५ हजार दस्तुर तिर्नुपर्नेछ भने नवीकरणका लागि बार्षिक २० हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।