close

प्रदेश १ का ५० प्रतिशत सहकारीले बुझाएनन् वार्षिक प्रतिवेदन 

प्रदेश १ का ५० प्रतिशत सहकारीले बुझाएनन् वार्षिक प्रतिवेदन 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रदेश १ को सहकारी रजिस्ट्रार कार्यालयले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षणसहितको वार्षिक प्रतिवेदन नबुझाएका सहकारी संस्थाको नाम सार्वजनिक गरेको छ ।

 

नियमन क्षेत्राधिकारमा रहेकामध्ये करिब ४८ प्रतिशतले अझै आव २०७६/७७ कै लेखा परीक्षणसहितको वार्षिक प्रतिवेदन नबुझाएको सहकारी रजिस्ट्रार कार्यालयले बताएको छ ।

प्रदेश सहकारी रजिस्ट्रार बलराम निरौलाका अनुसार कार्यालयको नियमन क्षेत्राधिकारमा १ हजार ४४ वटा सहकारी संस्था छन् । तीमध्ये ५ सय ४३ वटाले मात्र आव २०७६/७७ को लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन बुझाएका छन् । 

पटक–पटक ताकेता गर्दा पनि सहकारी संस्थाले लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन बुझाउन आनकानी गरेपछि कार्यालयले सहकारी संस्थाको नामसहितको विवरण सार्वजनिक गरिएको निरौलाले जानकारी दिए ।

 

उनका अनुसार नियमन क्षेत्रमा रहेका ताप्लेजुङका २२ सहकारी संस्थामध्ये ११ वटाले मात्र लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन बुझाएका छन् भने ११ वटाको बाँकी छ । 

यस्तै, पाँचथरका ४४ मध्ये २५, इलामका ६७ मध्ये ४३, झापाका ३३९ मध्ये १७१, संखुवासभामा २२ मध्ये १२, भोजपुरका २२ मध्ये १९ र तेह्रथुमका ३४ मध्ये २७ वटा सहकारी संस्थाले आव २०७६÷७७ को लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन बुझाएका छैनन् ।

 

धनकुटामा २९ मध्ये १६, सुनसरीका १ सय २७ मध्ये ३९, मोरङका २४९ मध्ये ७६, सोलुखुम्बुका १४ मध्ये १२, ओखलढुंगाका २४ मध्ये १७, खोटाङका १९ मध्ये १५ र उदयपुरका ३२ मध्ये १८ सहकारी संस्थाले पनि आव २०७६/७७ को लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन बुझाउन बाँकी रहेको प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीले जनाएको छ ।